कर्मचारीमा खोट देखे बिप्लव कमरेडले « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

कर्मचारीमा खोट देखे बिप्लव कमरेडले

प्रकाशित मिति :  ३१ श्रावण २०७८, आईतवार २१:३०


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कर्मचारीतन्त्रका कारण नेपालमा भ्रष्टाचार मौलाएको दाबी गर्नुभएको छ । नेताहरुको दैलो चाहार्ने र उनीहरुलाई कन्भिन्स गरेर देश बेच्नसमेत पछि नपर्ने प्रशासकहरुका कारण भ्रष्टाचार बढेको उहाँको ठहर छ ।

जनयुध्दका बेला माओवादी जनअदालतले भ्रष्टाचारीहरुलाई कारवाही गरेको स्मरण गर्दै विप्लवले त्यतिबेलाको फैसला किन कार्यान्वयन भएन भनी प्रश्न पनि गर्नुभयो । १२ बुँदे सहमतिको मूल मर्म माओवादीसहितको नयाँ राज्य बनाउने भए पनि कांग्रेस र एमाले सहमतिबाट पछि हटेका कारण अहिलेको अवस्था आएको विप्लवको भनाइ छ ।

कांग्रेस र एमालेभित्रका एकथरी नेताहरुले विदेशीको उक्साहटमा माओवादीका नेताहरुलाई किन्ने, सुविधामा फसाउने र वैभवको जीवनमा धकेलेर जनताका एजेण्डालाई किचेर हिँडेको विप्लवको आरोप छ । माओवादीले सम्पत्ति र सुविधाको लागि क्रान्ति नगरेको प्रष्ट पार्दै उहाँले नेपाली जनतालाई मुक्त बनाउने आफूहरुको सुन्दर सपनामाथि कुठाराघात भएको पनि बताउनुभयो।

जनयुध्दका बेला मुलुकमा दुई वटा सत्ता भएको तत्कालीन काँग्रेस र एमालेले पनि स्वीकार गरेको तर अहिले ठूलो दल र सानो दलको नाममा सहमतिबाट पछि हटेको पनि उहाँले बताउनुभयो । ‘नेपालको ८० प्रतिशत भूभागमा माओवादीको प्रभाव थियो भन्नेहरु आज किन बोल्दैनन् ? थानकोट भन्दा अलिकति उता जाँदा जनसत्ता थियो,साँगा काटेर काभ्रे पुग्दा जनसत्ता थियो । आज त्यो कुरा किन भुलियो ?’, विप्लवको प्रश्न छ ।

नेपालको ८० प्रतिशत भूभागमा माओवादीको प्रभाव थियो भन्नेहरु आज किन बोल्दैनन् ? थानकोट भन्दा अलिकति उता जाँदा जनसत्ता थियो,साँगा काटेर काभ्रे पुग्दा जनसत्ता थियो । आज त्यो कुरा किन भुलियो ?’,

माओवादी नेताहरुलाई घेराबन्दी गर्ने,फुटाउने र १२ बुँदेबाट पछि हटेर जनयुध्द अपराधिक घटना थियो भन्ने ठाउँमा काँग्रेस र एमाले पुगेको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

विप्लवले १२ बुँदे सहमति दिल्लीमा भएको भन्ने प्रचारको पनि खण्डन गर्नुभयो । कांग्रेस र एमालेका नेताहरुसँग रोल्पामै सहमति भएको उल्लेख गर्दै उहाँले भन्नुभयो,’पहिला रोल्पामा कांग्रेस र एमालेका नेतासँग वार्ता भएको हो । उनीहरुले माओवादीका एजेण्डालाई मान्ने,राज्यलाई नयाँ बनाउने अनि माओवादीले चैं राजतन्त्रका विरुध्द दलहरुसँग सहकार्य गर्ने भनेर शान्ति प्रक्रियामा जाने सहमति रोल्पामै भएको हो ।’

विप्लवले माओवादीहरु शान्ति प्रक्रियाप्रति इमान्दार भएपनि काँग्रेस-एमालेले विश्वासघात गरेको बताउनुभयो । ‘हामी शान्ति प्रक्रियामा इमान्दारिताका साथ आयौँ,हामीलाई विश्वास पनि थियो । हामी राजतन्त्रसंग मिल्न पनि सक्थ्यौ,तर प्रगतिशील शक्ति भनेको दलहरु नै हो भनेर आएका हौँ’,उहाँले भन्नुभयो ।

विप्लवले माओवादी आन्दोलन विभाजित हुँदा उत्पीडित वर्ग पराजित हुनुपरेको पनि बताउनुभयो । मुलुकलाई परिवर्तन गर्न सकिन्छ भन्ने विश्वासका साथ युध्दमा होमिएको शक्ति असफल हुँदा मजदुर,किसान, उत्पीडित वर्गले हार व्यहोर्नु परेको उहाँको भनाइ छ । जनताको सामूहिक आकांक्षालाई पार्टीका नाममा विभाजित गरिँदा उत्पीडित वर्ग कमजोर भएको विप्लवको ठम्याइ छ ।

नेपालमा उत्पीडित जनताले आफ्नो सत्ता आफैं बनाएको एउटै उदाहरण १० वर्षको जनयुध्द भएको पनि विप्लवको दाबी छ ।

देशमा फेरि युद्ध भयो भने के होला ? मुलुक कता जाला ? भन्ने आफूहरुलाई चिन्ता लागेको पनि उहाँले बताउनुभयो । ‘देश शान्ति, प्रगति, सम्बृध्दितर्फ जाँदैन कि भन्ने सामूहिक चिन्ता छ । जनतामा माओवादी आन्दोलन विभाजित हुँदाको पीर छ । माओवादी आन्दोलनमा जनताको रगत,आँसु,पसिना,बलिदान, जीवन मिसिएको छ । त्यो पार्टी किन फुट्यो ? भन्ने जनताको प्रश्न छ’ विप्लवको प्रश्न छ ।

उहाँले सबै मिलेर देशलाई निकाश दिनुको साटो माओवादीहरु आफैँ टुक्रिंदा उत्पीडित जनताले हार व्यहोर्नु परेको भन्दै माओवादीले आफूलाई करेक्सन गर्नुपर्नेमा जोड दिनुभयो । देशको ६५ प्रतिशत कम्युनिष्ट मतलाई केन्द्रित गरेको भए हुन्थ्यो भने जनताको चासोको सम्बोधन हुनुपर्नेमा जोड दिँदै उहाँले बलिदानअनुसारको परिणाम नपाउँदा प्रश्न उब्जिएको बताउनुभयो ।

(विप्लव नेतृत्वको नेकपा प्रतिवन्धित छँदै सो पार्टी निकट भातृ संगठनले गरेको एउटा कार्यक्रमलाई गरेको सम्बोधनमा आधारित)

 


प्रतिक्रिया दिनुहोस !