गणतन्त्र खतरामा जोगी कि ढोंगी ? « Jana Aastha News Online
Logo
१४ आश्विन २०७९, शुक्रबार
|  Fri Sep 30 2022
Logo
१४ आश्विन २०७९, शुक्रबार
|  Fri Sep 30 2022

गणतन्त्र खतरामा जोगी कि ढोंगी ?

प्रकाशित मिति :  ३१ चैत्र २०७३, बिहीबार ०९:४१


  • सुशील पन्त

फेरि पात्रो फेर्ने बेला आएको छ । विक्रम संवत््को नयाँ वर्र्ष भोलि शुरु हँुदै छ । केही तीतामीठा घटनाक्रमसहित ०७३ नेपालीबाट बिदा भएको छ । केही नयाँ आशाका किरणसहित नयाँ वर्र्ष झुल्किँदै छ । पश्चिमा संस्कृतिको प्रभावले होला, मौलिक संवत्प्रति आमनेपालीको रुचि घट्दै गएको छ । अहिलेको नयाँ पुस्ता इस्वी संवतको ‘ह्पाप्पी न्युइयर’ भन्न रुचाउँछ, नयाँ वर्र्षको शुभकामना भन्दा आफूलाई पाखे ठान्छ । यसपटक नेपाली मौलिक संवत्, नयाँ वर्र्षको पूर्वसन्ध्यामा त्यति धेरै उत्साह देखिएको छैन । ३० दिनपछिका लागि तोकिएको निर्वाचनको जुन उमंग हुनुपर्ने हो, त्यो पनि देखिँदैन । उल्टै राजनीतिक सन्नाटा व्याप्त छ ।

०७३ नेपाली जनताका लागि त्यति धेरै उत्साहप्रद रहेन । अधिकारप्राप्तिका लागि वर्र्षभरि नै विभिन्न खाले आन्दोलन र संघर्ष भए । तराई र पहाडलाई अलग्याउने गरी सरकारले संविधान संशोधनको विधेयक संसद्मा दर्ता गराएपछि पश्चिमका जिल्लामा हप्तांै आन्दोलन चले । तराईलाई पहाडबाट अलग्याउने कोसिस भएको भन्दै प्रतिपक्षीले सडक आन्दोलन गरे । अघिल्लो वर्र्षको भूकम्प र नाकाबन्दीले शिथिल भएको अर्थतन्त्र अझै तङ्रिन सकेन । भूकम्प पीडित पुनःस्थापनाको नारा र आश्वासन राजनीतिक दलका लागि ठगी खाने भाँडोजस्तै बने । अमानवीय भारतीय नाकाबन्दीका दूरगामी असर बाँकी नै छन् । आमनेपाली जनतामा नाकाबन्दीको मनोविज्ञान कायमै छ ।

मधेसी मोर्चाले आन्दोलनको घोषणा गर्दा गृहिणीहरू रित्ता सिलिण्डर लिएर ग्यास पसलमा जान बाध्य छन् । रोजगारी अभावमा युवा पलायनले गाउँबस्ती उजाड र वृद्धाश्रमजस्तै बन्दै गएका छन् । कैयौं निराशाका बाबजुद कुलमान घिसिङको ‘चमत्कार’ले काठमाडौं, पोखरा, प्रधानमन्त्री प्रचण्डको गृहजिल्ला र सम्भावित निर्वाचन क्षेत्र लोडसेडिङमुक्त भएको छ । भारतबाट महँगोमा किनेर ल्याएको बिजुली भए पनि आमजनताको टाउको दुखाइको विषय बनेको ‘लोडसेडिङ’ अन्त्य भएको छ । सानो कुराले पनि नेपालीलाई कति खुशी दिन सक्छ भन्ने उदाहरण नै हो लोडसेडिङको अन्त्य ।
वर्र्षको अन्त्यतिर भएका अस्वाभाविकजस्ता लाग्ने केही घटनाक्रमले आमनेपालीमा एउटा कौतुहलता जन्माइदिएको छ ।

जननेता मदन भण्डारी–राष्ट्रपति विद्या भण्डारीकी छोरीको बिहेमा पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थिति र कुनैवेला ‘वेबी किङ’को रूपमा चर्चा गरिएका हृदयेन्द्रको ब्रतबन्धमा गणतन्त्र नेपालकी राष्ट्रपतिको उपस्थिति एउटा आश्चर्यको विषय बनेको छ । परस्परविरोधी दुई कित्ताको नेतृत्व गर्ने प्रमुखहरूको ‘निम्तो कूटनीति’ बडो अचम्मलाग्दो छ । देशमा राजतन्त्रको छत्रछाया रहँदासमेत राजालाई ठाडो चुनौती दिने मदन भण्डारीकी छोरीको बिहेमा पूर्वराजा सहभागी हुनु एउटा गजवको घटना हो । शीतलनिवासमा ज्ञानेन्द्रको उपस्थिति र हृदयेन्द्रको ब्रतबन्धमा राष्ट्रपति भण्डारीको सहभागितालाई लिएर सामाजिक सञ्जाल रंगिए । कसैलाई अस्वाभाविक र कसैलाई राजनीतिक संस्कारजस्तो लाग्ने दुई भोजको गहिरो अर्थ छ । कतिपयले शीतल निवासमा गएको पैंचो तिर्न निर्मल निवासले हृदयेन्द्रको ब्रतबन्ध गराएको समेत टिप्पणी गर्न बाँकी राखेनन् । त्यो पनि जनआन्दोलन दिवस चैत २४ को मिति पारेर आयोजना गरिएको भोज ।

भण्डारी गणतन्त्र नेपालको अन्तिम राष्ट्रपति बन्ने ज्ञानेन्द्र ‘सेरेमोनियल किङ’ बन्ने खालका टिप्पणी पनि भए । भारतको उत्तर प्रदेशमा भाजपाका उग्र हिन्दुवादी नेता योगी आदित्यनाथ मुख्यमन्त्री बनेको विषयलाई लिएर नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गराउन र राजतन्त्र फर्काउन बल पुग्छ भनी कतिपय प्रतिगामी तत्व सक्रिय बन्न खोजे । कुनै न कुनै किसिमको राजतन्त्र पुनःस्थापित नगरेसम्म नेपालमा राजनीतिक अस्थिरता कायम गराउने भारतीय योजना रहेको विश्वास गर्नेहरूको कमी छैन । काठमाडौं वनकालीमा आएर ज्ञानेन्द्रसँगै एउटै मञ्चमा बसी नेपालमा हिन्दुराष्ट्र र राजतन्त्र फर्काउने भाषण गर्ने आदित्यनाथ भारतको सबभन्दा धेरै जनसंख्या भएको प्रान्तको मुख्यमन्त्री बनेपछि यहाँ परिवर्तन उल्टाउन चाहने तत्वको आत्मबल नबढ्ने कुरै भएन ।

राज्यसञ्चालनमा अहिलेका नेताको अदूरदर्शिता, गैरजिम्मेवारीपन, नातावाद, कृपावादका कारण आमजनतामा एकप्रकारको निराशा छाएको छ । त्यसैले लोकतन्त्र र गणतन्त्र दिवसका दिन होइन, घोडेजात्राको दिन मात्र टुँडिखेलमा सर्वसाधारणको भीड लाग्ने गर्छ । ‘कागजी’ गणतन्त्र र लोकतन्त्रले जनतालाई सन्तुष्ट पारेको भए बाग्लुङकी गरिब आमाले वीरु अस्पतालको झ्यालमा झुन्डिएर वा हामफालेर मर्नुपर्ने थिएन । गणतन्त्र स्थापना भएको दशक पुग्न लाग्दासमेत आमजनताले गणतन्त्रको स्वाद चाख्नै पाएका छैनन् । पाउन् पनि कसरी गणतन्त्रको आन्दोलन दबाउन गोली ठोक्नेहरू नै सत्ताको हालीमुहालीमा छन् । गणतन्त्रका अदूरदर्शी शासक र ‘टाकुरे राजा’हरूको कुशासनबाट दिक्क भएका सर्वसाधारण बरु ‘राजतन्त्र नै ठीक’ भन्न थालेका छन् । सत्तासञ्चालकको अक्षमता पाइला–पाइलामा प्रकट भएको छ, उनीहरूलाई सर्वसाधारण जनताको पीर, मर्का र दुःख–कष्टले छुँदैन ।

वैशाख मसान्तका लागि घोषणा गरिए पनि निर्धारित समयमै निर्वाचन हुनेमा आशंका सकिएका छैनन् । सत्तारूढ दलले नै निर्वाचनमा जान खुट्टा कमाएका छन् । दुई दशकदेखि विभिन्न बहानामा रोकिएको स्थानीय चुनावबाट यसपटक भने दलहरू भाग्न सक्ने अवस्था देखिएको छैन । संवत्को पछिल्लो ४ अंकले निर्वाचन हुने वर्र्षको संकेत गर्छ, ०५४, ०६४ मा निर्वाचन भएको थियो, ०७४ मा पनि चुनाव हुन्छ, जनताको खबरदारीका कारण । जनदबाबका कारण मात्र दल चुनावबाट भाग्न सकेका छैनन् । स्थानीय चुनाव नगर्ने र संसदको कार्यकाल थपेर अलोकतान्त्रिक ढंगले शासन सत्ता लम्ब्याउने उनीहरूको दाउ छ । विगतमा चुनाव गर्न नसकेर ‘अक्षम’ ठहर गरिएका शेरबहादुर देउवा संसदीय निर्वाचन गराउन भन्दै प्रधानमन्त्रीको कुर्सीमा बस्न आतुर देखिएका छन् । विगतमा चुनाव गर्न नसकेको आरोप खेपेका देउवाले तोकिएको समयमा चुनाव गराएर संविधानलाई ट्र्याकमा ल्याउलान् कि फेरि संवैधानिक संकटलाई निम्तो देलान् धेरैका लागि उत्सुकताको विषय बनेको छ ।

तोकिएको समयमा संसद्को निर्वाचन नभए नयाँ संविधान, गणतन्त्र, संघीयताजस्ता विषय धरापमा पर्छन् भनेर दलका नेताले दिनमा तीनचोटि भाषण गर्छन् । उसो त उनीहरूबाटै देशमा कहिले ‘जंगबहादुर’ त कहिले ‘बेनेभोलेन्ट डिक्टेटरसीप’ जन्मिने भविष्यवाणी हुन्छ । जंगबहादुर जन्माउन भन्दै ज्युँदा सांसदको श्राद्ध गर्ने राकेश शर्माले सडकपेटीमा पूजा गर्दै हिँडेका छन् । नेता फेल हुन सक्छ, व्यवस्था फेल हुँदैन । समकालीन नेता असफल भए पनि गणतन्त्र असफल हुँदैन, नेपाली जनताको राजनीतिक चेतनाका कारण । बुझ्नुपर्ने कुरा, सीमापारिका योगी र जोगीका कारण होइन, देशभित्रका ढोंगी र रोगीका कारण गणतन्त्र खतरामा छ । आशा गरौं, नयाँ संवत्ले नेपालीको मुहारमा पक्कै खुशी ल्याउनेछ ।


प्रतिक्रिया दिनुहोस !