काठमाडौंमा आज जनचेतनामूलक कार्यक्रमदेखि एमसीसी विरुद्ध मोटरसाइकल र्यालीसम्म

काठमाडौंमा आज जनचेतनामूलक कार्यक्रमदेखि एमसीसी विरुद्ध मोटरसाइकल र्यालीसम्म

आज राजधानीमा विभिन्न कार्यक्रम हुँदैछन् । राजनीतिक दल र समूहका विरोध कार्यक्रमदेखि जनचेतनामूलक कार्यक्रम गर्न लागिएको हो ।

त्यहि क्रममा नेपाल तरुण दल काठमाडांैले कोभिड–१९ बाट बच्न काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा मास्क अभियान थालेको छ । बिहान बालाजु माछापोखरीबाट सुरु भएको उक्त अभियान सवा १२ बजे कीर्तिपुर पाँगा चोकमा राखिएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा भइरहेको धर्ना कार्यक्रम आज पनि बिहान ९ बजेबाट सुरु भएको छ ।

नेवाः एकता नागरिक समाजले एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै बिहान ९ बजे बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको छ ।

बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिभिल इन्जिनियरिङ शाखामा त्यहाँका श्रमिकहरूले घेराउ गरेका छन् । उनीहरूले ज्याला वृद्धिको माग राखेर घेराउ गरेका हुन् ।

नेपाल टेलिकम वर्कर्स युनियन, नेपाल टेलिकम कर्मचारी युनियन र एनटिइएएनले २०६१ नयाँ विनियमावलीको विरुद्धमा टेलिकमको केन्द्रीय कार्यालयमा आज बिहान १० बजेदेखि धर्ना दिँदैछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणमा त्यहाँका विभिन्न कर्मचारी संगठनहरूले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय हित प्रतिकूल र उड्डयन सुरक्षामा गम्भीर प्रश्न उठ्ने भन्दै लगाइएको तालाबन्दीलाई आज पनि जारी राख्ने भएका छन् ।

उता नेपाल वायुसेवा निगममा भइरहेको धर्ना कार्यक्रम आज पनि साढे १० बजेदेखि साढे १२ बजेसम्म हुने बताइएको छ ।

यता, अनेरास्ववियू (क्रान्तिकारी) ले बिहान ११ बजे युनियनको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

उता संसदको अर्थ समिति, विधायन व्यवस्थापन र विकास तथा प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा हुने भएको छ ।

त्यसैगरी अधिकार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक साढे ११ बजे र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

जय महांकाल युवा समूहले बंगलादेशमा मुस्लिमहरूले हिन्दू मठमन्दिर तोडफोड गरेको बिरोधमा आज काठमाडौंको वसुन्धरास्थित बंगलादेशी दूतावासमा ज्ञापन पत्र बुझाउने जनाएको छ ।

ललितपुरको क्याथफोर्ड कलेजमा विद्यार्थीहरूले साउन २४ गतेदेखि लगाएको तालाबन्दी आज पनि नखोल्ने जनाएका छन् ।

टिप्पणीहरू