गाडीमा पनि मर्यादाक्रमको गड्बडी

बाँदरको हातमा नरिवल भनेझैं नेपालीको दुःख देखेर विदेशीले उपहारस्वरूप लौ न त गरिखाऊ भनी दिएको चिज यताउति हँुदा परराष्ट्रका अधिकारीलाई टाउको दुख्न थालेको छ । मर्यादाक्रमको विवाद गाडी प्रयोगमा समेत देखिएको छ ।

गत वर्ष सम्पन्न १८ औं सार्क शिखर सम्मेलन विशिष्ट पाहुनालाई सजिलो होस् भनेर कतार सरकारले सहयोगस्वरूप नौ वटा बुलेट प्रुफ कार उपलब्ध गराएको थियो । आठ वटा मर्सिडिज बेञ्ज र एउटा जिएल जिप । त्यसमध्ये चार वटा मन्त्रीले प्रयोग गरिरहेका छन् । बाँकी पाँच वटाको हालत हेरिनसक्नु छ ।

तिनको उचित व्यवस्थापन र नियमित मर्मत सम्भार गर्न नसक्दा गाडी धुलाम्मे भएर हेरिनसक्नु अवस्थामा छ । तत्कालीन राजदूत अहमद जसेम मोहम्मद अली अल हमरले ती गाडीको साँचो ओली सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई हस्तान्तरण गरेका थिए । अघिल्लो वर्ष चैतको पहिलो साता काठमाडौं आइपुगेका गाडीमध्ये एउटा प्रधानमन्त्री कार्यालय, दुई उपप्रधानमन्त्री, एउटा परराष्ट्रमन्त्रीले प्रयोग गर्दै आएका छन् । बाँकी पाँच वटाको अवस्था बेहाल छ । झण्डै डेढ करोड बढी मूल्य पर्ने उक्त गाडी प्रचण्ड नेतृत्वको सरकार बनेलगत्तै गृहमन्त्री विमलेन्द्र निधिलाई परराष्ट्र मन्त्रालयले उपलव्ध गराएको हो । नयाँ उपप्रधानमन्त्री कमल थापा पनि के कम, उनलाई तिनै गाडीमध्येबाट हालै अर्काे गाडी परराष्ट्र मन्त्रालयले पठाएको छ । परराष्ट्रमन्त्री बनेदेखि नै प्रकाशशरण महतले बुलेट पु्रफ कार चढ्दै आएका छन् ।

बुलेट प्रुफ कार सामान्य चालकले चलाउन नजान्ने मन्त्रालयका अधिकारीको भनाइ छ । यी गाडी विदेशबाट विशिष्ट पाहुना आएको खण्डमा मन्त्रीसँग फिर्ता मागिनेछ ।

अमेरिकी सेनाका प्यासिफिक कमाण्डर ह्यारी बिन्क्ले ह्यारिस चैत पहिलो साता नेपाल आउँदा उनलाई सोहीमध्येको एक मर्सिडिज कारमा सवार गराइएको थियो । गत पुसमा विश्व प्रहरी संगठन इन्टरपोलका अध्यक्ष हङबई आउँदा पनि नेपाल भ्रमणमा आउँदा यो कार प्रयोगमा आएको थियो । दामी गाडी राख्न गतिलो पार्किङ छैन, नियमित मर्मत सम्भार नहुँदा धुलाम्मे भएका छन् । पाँच गाडीलाई सिंहदरबारभित्रै हप्ताको दुई दिन तीव्र गतिमा गुडाइरहनुपर्छ । नत्र बिग्रने खतरा बढी हुन्छ । परराष्ट्रका कर्मचारीलाई यति धेरै टाउको दुखेको छ कि गाडी आएको वर्ष दिनपछाडि बल्ल टहरा निर्माण शुरु भएको छ । सो टहरा बनाउन २५ लाख लाग्ने अनुमान छ ।

टिप्पणीहरू