केपी ओलीलाई किन एमालेमा माधव खेमा चाहिएको छैन ?

केपी ओलीलाई किन एमालेमा माधव खेमा चाहिएको छैन ?

झण्डै दुई तिहाई जनमतसहित संघ र चार वटा प्रदेश सरकारको नेतृत्व गरेको नेकपा एमाले साढे तीन वर्ष नपुग्दै धमाधम प्रतिपक्षी बेञ्चमा पुग्न थालेको छ । अस्ति मात्रै लुम्बिनी सरकारको नेतृत्वबाट बाहिरिएको एमालेले यसअघि नै गण्डकी र संघीय सरकार गुमाएको थियो । अब प्रदेश १ र बाग्मती प्रदेश सरकार जोगाउन पनि माधव नेपालको भर पर्नुपर्ने अवस्थामा एमाले पुगेको छ ।

एमालेले एकपछि अर्को सरकारको नेतृत्व गुमाउनुमा तत्कालीन नेकपामा आएको विभाजन र एमालेभित्रको अन्तरकलहलाई मुख्य कारण मानिए पनि अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई पनि उत्तिकै जिम्मेवार ठानिन्छ । नेकपाको विभाजनपछि पनि माओवादी नेतृत्वका कर्णाली र सुदूरपश्चिम सरकार थप बलियो हुँदा एमाले नेतृत्वको सरकार भने धमाधम ढल्नुले पनि ओलीमाथि प्रश्न उब्जिएको हो । झण्डै दुई तिहाई मतसहित आफैँ नेतृत्वको संघीय सरकार र एकपछि अर्को प्रदेश सरकाको नेतृत्व गुमाउँदा पनि ‘रियलाइजेसन’ नगरेको ओलीमाथि आरोप पनि छ ।

“आफ्नै कारणले अघिल्लो चुनावमा बहुमत आएकाले आगामी निर्वाचनमा पनि असाधारण बहुमत ल्याएर सिंहदरबार छिर्ने उहाँले घोषणा नै गरिसक्नुभएको छ । “

एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले ओलीकै कारण पार्टी एकता कठिन मोडमा पुगेको दाबी गरिरहँदा ओली भने बार्दलीदेखि संसदको रोष्टमसम्म उभिएर उग्र टिप्पणीमा रमाइरहनु भएको देखिन्छ । पार्टीले पाएको त्यत्रो लोकप्रिय मत संरक्षण गर्न नसक्दा वीचमै सरकार छोड्नुपरे पनि ओलीका अभिव्यक्तिहरुमा ‘रियलाइजेशन’ भन्दा पनि बदलाको भाव बढी देखिन्छ ।

आफ्नै कारणले अघिल्लो चुनावमा बहुमत आएकाले आगामी निर्वाचनमा पनि असाधारण बहुमत ल्याएर सिंहदरबार छिर्ने उहाँले घोषणा नै गरिसक्नुभएको छ । तर,वस्तुगत अवस्थाले भने ओलीले घोषणा गरेजस्तो एमालेले एक्लै असाधारण बहुमत ल्याउने अवस्था छैन ।

घटनाक्रमले आगामी चुनावमा न वाम गठवन्धन बन्ने अवस्था देखिन्छ,न सग्लो एमाले चुनावी मैदानमा उत्रने सम्भावना छ

गत निर्वाचनमा वाम गठवन्धन बनाएर चुनावी प्रतिस्पर्धा गर्दासमेत कांग्रेससँग दह्रो टक्कर परेको थियो । समानुपातिक निर्वाचनतर्फ त काँग्रेसले एमालेले भन्दा केही हजार मत मात्रै थोरै ल्याएको हो । घटनाक्रमले आगामी चुनावमा न वाम गठवन्धन बन्ने अवस्था देखिन्छ,न सग्लो एमाले चुनावी मैदानमा उत्रने सम्भावना छ ।

झण्डै ४० महिना सरकारमा रहँदा अनेकन काण्डका कारण ओलीप्रतिको अलोकप्रियताको ग्राफ आकासिएको छ । वस्तुगत अवस्था यति प्रतिकूल हुँदाहुँदै पनि ओली भने पार्टी मिलाउनेतर्फ खासै अग्रसर देखिनुभएको छैन । अर्को पक्षले ओलीकै कारण एकता प्रक्रिया अवरुद्ध भएको आरोप लगाइरहेको छ ।

“अर्को कार्यकाल अध्यक्ष निर्वाचित हुन माधव समूह बाहिरै रहनुलाई ओलीले अनुकूल मानेको हुनसक्छ ।”

पार्टीलाई एकतावद्ध बनाएर आगामी निर्वाचनमा जान ओलीलाई के ले अप्ठेरो पार्यो होला ? यसका पछाडि मुख्यत: चार वटा कारणले भूमिका खेलिरहेको बताइन्छ । माधव नेपाल समूहलाई पार्टीमा ल्याए नेतृत्वमा चुनौति आउन सक्ने अनुमान गरेर ओली एकताप्रति अनुदार बनेको केहीको विश्लेषण छ । नेपाल खेमालाई बाहिरै राखेर ‘कम्फर्टेबल’ पार्टी चलाउने ओलीको आकांक्षाले पार्टी विभाजनलाई प्रेरित गरिरहेको सो पक्षका नेताहरुको दाबी छ ।

आफ्नो आलोचना वा अरुका सुझाव सुन्नै नचाहने स्वभावका कारण ओली त्यस्तै पार्टी बनाएर एकछत्र नेतृत्व गर्ने तयारीका साथ विधान महाधिवेशन लगायतका सांगठनिक गतिविधिमा अघि बढिसकेको नेपालतर्फका नेताहरु बताउँछन् । एमाले विवादमा अध्यक्ष ओलीको भूमिकाका बारेमा भैरहेका विभिन्न टिकाटिप्पणीहरु केलाउँदा मूलत: चार वटा कारणले उहाँ एकताप्रति अनुदार बनेको अनुमान गर्न सकिन्छ ।

पहिलो कारण : ओली र उहाँ निकट नेताहरुका सार्वजनिक अभिव्यक्ति सुन्दा आगामी कार्यकाल पनि एमालेको अध्यक्षमा ओली नै दोहोरिने निश्चितजस्तै छ । त्यसका लागि पार्टीमा अनुकूल परिस्थिति बनाउनु आवश्यक हुन्छ, त्यसमा ओलीले माधव समूहलाई चुनौतीका रुपमा लिनुभएको हुनसक्छ । अर्थात् अर्को कार्यकाल अध्यक्ष निर्वाचित हुन माधव समूह बाहिरै रहनुलाई ओलीले अनुकूल मानेको हुनसक्छ ।

“उमेरहद फेर्ने विधान संशोधनमा माधव समूहको उपस्थितिलाई ओलीले प्रतिकूल ठानेका कारण एकता प्रक्रिया अवरुद्ध भएको विश्लेषण गर्नेहरु धेरै छन् । “

एमालेको मौजुदा विधानमा पार्टीको कार्यकारी भूमिकामा रहन ७० वर्षे उमेर हद तोकिएको छ । विद्यमान विधानको व्यवस्था कायमै रहँदा ओलीलाई आगामी नेतृत्वमा पुग्न सम्भव छैन । त्यसका लागि अहिले विधान संशोधनको प्रस्ताव गरिएको छ ।

अहिलेको संशोधन प्रस्तावको मस्यौदामा उमेर हदको विषय नराखिएको भए पनि भदौमा हुने विधान महाधिवेशनमा एकैचोटी हलमा यसले प्रवेश पाउनसक्ने सम्भावना छ । किनभने अहिले नै ७० वर्ष पुगिसक्नु भएका ओलीलाई अर्को कार्यकाल अध्यक्ष बन्न विधान संशोधनको विकल्प छैन । विधान संशोधनमा माधव समूहको उपस्थितिलाई ओलीले प्रतिकूल ठानेका कारण एकता प्रक्रिया अवरुद्ध भएको विश्लेषण गर्नेहरु धेरै छन् ।

दोस्रो कारण : ओलीले माधव समूह पार्टीमा हुँदा अदालतलाई पनि सम्भावित चुनौती देखेको बताइन्छ । प्रतिनिधिसभाको पहिलो विघटनसम्म अदालतलाई विश्वासमा लिएरै आफ्ना कदम चाल्नुभएका ओली पछिल्लो समय न्यायालयप्रति सन्तुष्ट देखिनुभएको छैन । खासगरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिने अदालतको निर्णयको उहाँले संसद्मै उभिएर विरोध गरिसक्नुभएको छ ।

“नेपाल समूह नहुँदा ओलीलाई चुनौती दिने अर्को नेता एमालेमा हुँदैन । यस्तो अवस्थामा उहाँलाई अनुकूल समयमा महाधिवेशन गर्न छुट हुन्छ ।”

दुई-दुई पकटसम्म प्रधानमन्त्री भैसकेको व्यक्ति र मुलुककै ठूलो राजनीतिक दलको अध्यक्षको अदालतप्रतिको टिप्पणीलाई सामान्य रुपमा लिनु हुँदैन । यसलाई ओलीको अदालतसँगको असन्तुष्टि र आशंका दुबैका रुपमा बुझ्नुपर्छ । ‘साउनमा आँखा फुटेको गोरुले संधै हरियो देख्छ’ भने झैँ विधानको ७० वर्षे उमेर हदको प्रावधानलाई लिएर माधव समूह अदालत जाने र आफू नेतृत्वबाट विस्थापित हुनसक्ने डरले ओलीलाई माधव नेपालहरु नआइदिए हुन्थ्यो भन्ने लागेको हुनसक्छ ।

तेस्रो कारण : ओलीले माधव समूहलाई ठाउँ दिँदा आगामी महाधिवेशनमा आफूले नेतृत्व गुमाउनु पर्ने खतरा देखेको पनि हुनसक्छ । नेपाल समूह नहुँदा ओलीलाई चुनौती दिने अर्को नेता एमालेमा हुँदैन । यस्तो अवस्थामा उहाँलाई अनुकूल समयमा महाधिवेशन गर्न छुट हुन्छ ।

महाधिवेशनको मिति सारेर केही समय अध्यक्ष बनिरहने सुविधा पनि उहाँले प्रयोग गर्नसक्नुहुन्छ । तर नेपाल समूह पार्टीमा हुँदा महाधिवेशन छिटै गर्न दबाब बढ्न सक्छ । अहिले काँग्रेसमा जस्तै महाधिवेशनबारे लफडा बढे अदालतसम्म पुग्न सक्छ । अदालतमाथि एक सूत्रीय रुपमा खनिइरहनु भएका ओलीले त्यो जोखिम अहिले नै देखेको हुनसक्छ ।

चौथो कारण : माधव समूहमाथि ओली आक्रामक बन्नुमा सम्भावित सांगठनिक स्थितिको पूर्वानुमानलाई पनि कारण मान्न सकिन्छ । आफ्नै समूहका ८ सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिएको घटनाले ओलीलाई कुनै पनि बेला अल्पमतमा पर्न सक्ने त्रास बढेको हुनसक्छ ।  पार्टीमा झण्डै बराबरको स्थितिमा रहेको माधव समूहलेआफूतिरका केही नेतालाई तानेर अल्पमतमा पार्दिने खतरा देखेका कारण उहाँले दुई खेमाको मिलनलाई प्राथमिकतामा नपारेको हुनसक्छ ।

तत्कालीन नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल मिल्दा आफू अल्पमतमा पर्नुपरेको भन्दै ओलीले पटक-पटक आइन्दा त्यस्तो गल्ति नगर्ने बताउनुले पनि उहाँले माधव समूहलाई बाहिरै राख्न चाहेको अनुमान गर्न सकिन्छ ।

टिप्पणीहरू