कमरेडको किल्लामा हल्लार बिल्ला

नेपालको पानी जनताको लगानी नारा उठाएर उज्यालो नेपाल बनाउन अग्रसर ऊर्जामन्त्री जनार्दन शर्मा अहिले सर्वत्र स्याबासीको पात्र छन् । उनैलाई अगाडि सार्दै गृहजिल्ला रुकुममा उज्यालो अभियानको नारा बोकेर स्थानीय निकायको चुनाव प्रचारमा माओवादी केन्द्र जुटेको छ । तर, मन्त्रीकै निकटतम पार्टीका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यलाई बुर्जुवाको संज्ञा दिँदै माओवादी कार्यकर्ताले गाउँपालिका अध्यक्षको उम्मेदवारी नदिन जोडबल गरेका छन् । माओवादी नेता कृष्ण रेग्मीले गरेका कर्तुत सुन्दा मन्त्री स्वयं पड्किने गरेका छन् ।

सरकारी नोकरीमा स्थायी अहेब रहेका रेग्मीले ०५३ सालमा होलटाइमर कार्यकर्ता भएर जागिर छाडे, शान्तिप्रक्रियापछि पुनर्बहाली पाएर भक्तपुरको एक स्वास्थ्य केन्द्रमा कार्यरत छन् । युद्धताका स्वाथ्यकर्मी भएकै कारण जनमुक्ति सेनाको स्वास्थ्य विभाग प्रमुख बने । एक पूर्वब्रिगेड कमाण्डरले दिएको जानकारीअनुसार जनमुक्ति सेनाको सैन्य हेडक्वार्टरमा रहँदा औषधि तथा सामान खरिदका नाममा लाखौंको किर्ते बिल भरपाई बनाउँदै खाने गरेका थिए । मन्त्री शर्मा उनकै पावरमा भएका र कृष्ण रेग्मी शर्माका नजिक भएकाले कसैले विरोध गर्न सक्दैनथे । युद्धताका ससुरा बलजित बोहरालाई पार्टीले जनकारबाहीको निर्णय गर्दा पार्टी छाड्ने धम्कीसमेत दिने गरेका थिए । हाल स्थानीय निकायको प्रमुख बन्न मरिहत्ते गरी लागेका रेग्मीलाई पार्टीले टिकट दिए २० लाखसम्म व्यक्तिगत रूपमा खर्च गर्छु भनी ससुराले भनसुन चलाइरहेका छन् ।

माओवादी शान्तिप्रक्रियामा आएसँगै सात वटा डिभिजनका लडाकुको नाममा दिइएको रकममध्ये प्रतिडिभिजन ५० लाखका दरले लगानी रहेकोे जनमैत्री अस्पतालमा उनै कृष्ण रेग्मी प्रशासन प्रमुख भएर मासिक ७० हजार तलब बुझ्थे, कृष्ण खनालको नामबाट । उता, अहेबको सरकारी तलब, यता प्रशासन प्रमुखको आम्दानी, कृष्णलाई पार्टीको नाममा कमाउन सहज भयो । जनार्दन शर्मा डेपुटी कमान्डर हुँदा उनकै पहलमा जनमैत्रीमा लगानी गरिएको थियो । पूर्वलडाकुले शर्मा ऊर्जामन्त्री हुनेबित्तिकै अस्पतालमा तालाबन्दी गरेका छन्, जनमुक्ति सेनाको लगानी फिर्ता र हिसाब–किताब पारदर्शिताको माग राखेर । स्रोतका अनुसार जनमैत्री अस्पतालको विद्युत्को बिल करिब ९७ लाख भुक्तानी गर्नसमेत बाँकी छ ।

कार्यकर्ताको नजरमा अवसरवादीको आरोप लगाइएका रेग्मीले केपी ओली सरकारको पालामा आपूर्तिमन्त्री रहेका गणेशमान पुनको दोस्रो वरीयताक्रमको स्वकीय सचिव भएर पनि दोहोरो सुविधा लिएको पाइएको छ । त्यति मात्रै नभई प्रचण्ड नेतृत्वको वर्तमान सरकारका ऊर्जामन्त्रीको सचिवालयमा नासुसरहको पदमा जल्दाबल्दा कार्यकर्ताका रूपमा कार्यरत छन् । नामको पछाडि थर बदलेर वास्तविकता लुकाई सुविधाभोग गर्न माहिर रेग्मीले मनोज क्षत्रीको नाममा फेसबुक अकाउन्ट खोलेका छन् ।

स्थानीय निकायको चुनाव आएका बेला रुकुमको सिस्ने गाउँ पालिकाको अध्यक्ष पदमा कस्सिएका उनले भदौमा अहेबबाट कागजी रूपमा राजीनामा दिएका छन् । माओवादी स्रोतका अनुसार पेन्सन प्राप्त गर्न १ वर्ष बाँकी रहेकाले पावर लगाएर राजीनामा स्वीकृतिको प्रक्रियामा लानबाट रोकेका छन् । कार्यकर्ताबाट चर्को विरोध आएपछि ऊर्जामन्त्री शर्माले उनलाई आफूसँगको भेटघाटबाट वञ्चित गराएका छन् । उनले दाबेदारी गरेको सिस्ने गाउँपालिकामा आफूले टिकट नपाए ससुरा बलजित बोहरालाई स्वतन्त्रबाट उम्मेदवार बनाई माओवादीलाई हराउँछु भन्दै धम्क्याउने गरेको पार्टी स्रोतले बतायो । पार्टीले उक्त गाउँपालिकाबाट प्रमुखमा नेत्रकुमारी बराल र गोबद्र्धन बुढालाई अगाडि सार्ने तयारी छ ।

माओवादी स्रोतले बताएअनुसार रुकुमको भुम्या गाउँपालिकामा रामसुर बुढा र मञ्जु विष्ट, पुथा गाउँपालिकामा पुनिराज घर्ती र भीमकुमारी पुन, सानीभेरी गाउँपालिकामा नरबहादुर पुन र इन्दिरा ओली, त्रिवेणी गाउँ पालिकामा झक्कु घर्ती र निर्मला विष्ट तथा बाँफिकोट गाउँपालिकामा धर्मबहादुर तथा चन्द्रबहादुर केसी र इन्दिरा बुढाको प्रमुख र उपप्रमुखमा करिब टुंगो लागेको छ । त्यसैगरी मुसिकोट नगरपालिकामा देवीलाल गौतम र प्रेमकुमारी सुनार, चौरजहारी नगरपालिकामा विशाल शर्मा वा राजकुमार पुन र राधा ओली वा पार्वता पुन अनि आठबिसकोट नगरपालिकामा राते कामी र बिहानी पुन उम्मेदवार हुने टुंगो लागेको बताइन्छ ।

टिप्पणीहरू