माइतीघरमा जय महांकाल उत्रियो

माइतीघरमा जय महांकाल उत्रियो

रौतहटको चर्चित पुजारी हत्याकाण्डका दोषीलाई कारवाहीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ । हत्याकाण्डका मुख्य योजनाकार मानिएका एक जना धरौटीमा रिहा भएपछि जय महांकाल युवा समूह विरोध प्रदर्शनमा उत्रिएको हो ।

हत्याकाण्डबारे सरकारको ध्यानाकर्षण गराउन आज दिउँसो ४ बजे जय महांकालले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा समूहका अध्यक्ष लिलानाथ भण्डारी (अर्जुन), महासचिव मनिष विक, बरिष्ठ सल्लाहकार अमित पौडेल, अभियान्ता श्याम श्रेष्ठलगायत सहभागी थिए ।

प्रदर्शनकारीले ‘मुख्यमन्त्रीज्यू! पुजारीज्यूले न्याय कहिले पाउने ?’, ‘हुनुमान मन्दिरको पुजारीलाई न्याय कहिले सरकार ?, ‘युवा उठौ न्यायको लागि जुटौ’, ‘पैसाको भरमा न्याय मर्दैन हामी छौ पुजारी संघ’, ‘धर्म गुरु हत्यारालाई फासी दे’, ‘धर्मगुरु हत्याको मुख्य योजनाकार डेढ घण्टामा रिहा, न हिरासत न छानबिन किन?’, ‘हिन्दु सनातन धर्म जोगाउने गुरुलाई मार्न पाइदैन, रौतहट प्रसाशन किन मौन ?’ जस्ता नारावाजी गरेका थिए ।

हनुमान मन्दिरका ६५ वर्षीय पूजारी श्रीराम साहको गोली हानी हत्या भएको र हत्याका आरोपी डेढ घण्टामै धरौटीमा छुटेको भन्दै लगातार विरोध प्रदर्शन भैरहेको छ ।

अघिल्लो वर्ष भदौ ३ गते माधवनारायण नगरपालिका–२, खेसरहिया टोलस्थित हनुमान मन्दिरका पूजारी साहको हत्या भएको थियो । घटनाका मुख्य योजनाकार मानिएका देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष समेत रहेका शेख नरुल्लाहलाई २ लाख रुपैयाँ धरौटीमा छुट्न हालै जिल्ला अदालत गौरले आदेश दिएको थियो । नरुल्लाहलाई जिल्ला अदालतले हाजिर भएकै दिन बयान लिएर पुर्पक्षको लागि २ लाख धरौटी लिएर छाड्न आदेश गरेको हो ।

उनी घटनालगतै फरार रहेका थिए । हत्याकाण्डमा प्रहरीले सात जनालाई प्रतिवादी बनाएकोमा चार जना अझै फरार छन् ।

टिप्पणीहरू