अध्यक्ष ओलीमाथि मिति सकिएको आरोप

अध्यक्ष ओलीमाथि मिति सकिएको आरोप

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई ‘डेट एक्सपायर’ अध्यक्षको संज्ञा दिनुभएको छ । आज बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रमलाइ सम्बोधन गर्न पुग्नुभएका नेपालले ओली २०७६ असारसम्मका लागि मात्रै अध्यक्ष निर्वाचित भएकाले अहिले डेट एक्सपायर भैसकेको बताउनुभएको हो ।

ओलीको दम्भ र अहंकारले पार्टी विभाजनको अवस्थामा पुगेको भन्दै उहाँले ओली अहिले पनि एकलौटी रुपमा अघि बढेको बताउनुभयो । आफ्नो पक्षबाट पार्टी एकताका लागि इमान्दार प्रयास भएपनि ओली एकलौटी ढंगले अघि बढेपछि पार्टी विभाजनको स्थितिमा पुगेको उहाँको भनाइ छ ।

‘उहाँ अमर्यादित तर्क,भ्रम र अहमताबाट पछि हट्नु भएको छैन । आफैँ सर्वेसर्वा बन्नुभएको छ । विधानविपरित काम गरि नै रहनु भएको छ । उहाँको नियत नै खराब छ’,नेता नेपालले भन्नुभयो।

‘के अध्यक्ष भन्ने बित्तिकै मनलाग्दी गर्न मिल्छ ? जे पनि भन्न मिल्छ ?’, उहाँले भन्नुभयो, ‘हामीले कमिटी बनाउँदा, पिपुल्स भोलेन्टियर बनाउँदा, युवा संघ बनाउँदा उहाँको सातो गएको छ, नडराउनुस् कमरेड,यो नेकपा एमालेको सम्पत्ति हो ।’

नेपालले आफूले पार्टीलाई विधि, विधान र पद्धतिमा चलाउन खोजे पनि ओलीले दुई नेताको झगडाका रुपमा प्रचार गरेको बताउनुभयो । ओली सच्चिएको भनी नि:शर्त एकताको पक्षमा लागेका स्थायी कमिटी सदस्यहरुलाई प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘सदस्यता नवीकरण गर्ने,विधान अधिवेशन आह्वान गर्ने अनि के हामी लुरुक्क परेर जाने ? टाङ मुनि छिर्ने ?’

नेता नेपालले अन्तिमसम्म एकताको प्रयास गर्ने तर ओलीसामु लम्पसार भने नपर्ने पनि प्रष्ट पार्नुभयो । ओलीले दुई-दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेर संविधान मिचेको र सर्वोच्च अदालतको फैसलालाई चुनौती दिएको भन्दै उहाँले ओली झन् दम्भी र अहंकारी बन्दै गएको आरोप लगाउनुभयो ।

माओवादीसँगको पार्टी एकतालाई ओलीले सत्तामा पुग्ने भर्याङ्ग बनाएको नेता नेपालको दाबी छ । ‘माओवादीसँग एकता प्रस्ताव गर्ने उहाँ नै होइन ? उहाँको नियत भनेको माओवादीलाई भर्याङ्ग बनाउने, दुई तिहाई बहुमत ल्याउने अनि दम्भको डण्डा दण्डा चलाउने रहेछ ।’ ओलीले आफैंले गरेका सहमति कार्यान्वयन नगरेका कारण समस्या उत्पन भएको नेपालको भनाइ छ ।

उहाँले सग्लो पार्टी टुक्राटुक्रा पारेर ओलीले महन्थ ठाकुरहरुसँग घाँटी जोड्दा समस्या उत्पन्न भएको पनि बताउनुभयो ।

ओलीले माधव नेपाल जस्तालाई पार्टीमा ठाउँ छैन भनेको भन्दै नेता नेपालले डराएर आफ्नो सांगठनिक गतिविधि नरोक्ने पनि प्रष्ट पार्नुभएको छ । ‘के अध्यक्ष भन्ने बित्तिकै मनलाग्दी गर्न मिल्छ ? जे पनि भन्न मिल्छ ?’, उहाँले भन्नुभयो, ‘हामीले कमिटी बनाउँदा, पिपुल्स भोलेन्टियर बनाउँदा, युवा संघ बनाउँदा उहाँको सातो गएको छ, नडराउनुस् कमरेड,यो नेकपा एमालेको सम्पत्ति हो ।’

कार्यक्रममा बागमती प्रदेश सम्पर्क संगठन कमिटीका अध्यक्ष रामप्रसाद रिमाल,उपाध्यक्ष नवराज पौडेल,सचिव खेमलाल केसी, उपसचिव राजेन्द्र थापा, सदस्य धनबहादुर कार्की, पार्टीका केन्द्रीय सदस्य विजय गुरुङ, निर्वाचन परिचालन समितिका प्रमुख डेकेन्द्र सुवेदी लगायतको उपस्थिति थियो ।

टिप्पणीहरू