झण्डै आठ लाखलाई नि:शुल्क मास्क

झण्डै आठ लाखलाई नि:शुल्क मास्क

‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले एकैदिन झण्डै ५० हजारलाई निःशुल्क मास्क वितरण गरेको छ । कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले सञ्चालन गरेको उक्त कार्यक्रमका दौरान गत २४ घण्टामा ४९ हजार १७१ जनालाई निःशुल्क मास्क वितरण गरिएको हो ।

गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ७ लाख ९८ हजार ६१९ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण बढ्दै जान थालेपछि प्रहरीले यस्तो अभियान थालेको हो । संक्रमण रोक्न तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्डलाई कार्यान्वयन गराउन प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

त्यस्तै, २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १८० जनालाई १८ हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको २५३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४६ हजार ८१९ जनालाई सचेत गराइएको पनि प्रहरीको भनाइ छ ।

टिप्पणीहरू