बेचिएको युद्धको नबेचिएको संवेदना

बेचिएको युद्धको नबेचिएको संवेदना

आजभोलिको दैनिकी जीवन बाँच्नुको सार्थकता खोज्दै बित्छ । हिजो हेर्‍यो, आज हेर्‍यो र भोलिहेर्‍यो गरेर समय बित्छ । हरेक दिन विगततिर एक झमट रमाउँदा अर्कै आनन्द लाग्छ । वर्तमानको उकुसमुकुसभित्र चिच्याउनुको, कराउनुको खास अर्थ हुँदैन भन्ने थाहा छ । अनि रक्तपातपूर्ण विगतभित्र आफैँलाई मुछेर रक्तमुछेल भइन्छ । यता चिथोर्‍यो, उकुच पल्टिएका घाउको पाप्रा कोट्यायो फेरि त्यही घाउहरूलाई उकुज बनायो र सुम्सुम्यायो । अशान्त मुुद्रामा चुपचाप बस्यो कुनै कसुरविना बन्दी बनाइएको कैदी जस्तै । समय यसरी बित्दोरहेछ ।

न हातमा संसार छ न हत्कडी । जिते सिंगो संसार, हारे हातमा हत्कडी भन्ने कार्ल माक्र्सको भनाइ याद आउँछ । त्यो संसार कस्तो हुँदो हो भनेर केजाति युद्धमा लागियो । कहरले होइन रहरले । अनेक रहरका वर्णन यहाँ गरिसाध्य छैन । त्यही रहरले रगत, बन्दुक, लडाइँ, युद्धमा होम्यो । होम्यो होइन होमिएँ । आकाश, तारा, जून, सूर्यभन्दा शक्तिशाली सपना पोल्टाभरि पोको पारेर उत्साहपूर्वक युद्धको साक्षी भइयो, सहभागी पनि भइयो । हतियार बोकेर युद्धमा सहभागी नहुञ्जेल युद्ध के हो थाहा थिएन । युद्धको परिणामबारे पनि खास जानकारी थिएन । विद्यालयका पुस्तकमा पढेका कुरा र प्रत्यक्ष युद्ध मोर्चामा सहभागी भएपछि भोगाइमा खासै तादात्म्यता पनि देखिनँ । पढ्नु ज्ञान हासिल गर्नु रहेछ । भोग्नु अनुभव सँगाल्नु रहेछ । किताबमा मैैले विभिन्न कालखण्डमा भएका विद्रोहका इतिहास पढेको हुँ तर म जब जनयुद्धको मोर्चामा सहभागी भएँ त्यो बेलादेखि युद्धलाई नजिकबाट नियालेको हो ।

युद्ध सुनौलो सपना बोकेर आउँछ र भयंकर चित्कार छाडेर जान्छ भनेरचाहिँ युद्धबाट कोशौं पर आएपछि थाहा भयो । चाहे त्यो जुनसुकै नाममा गरिने युद्ध होस्, युद्धका अनेक रूप र अर्थभित्र रुमल्लिँदा पनि नयाँ रोमाञ्च पैदा हुने रहेछ । नेपालमा दश वर्ष चलेको जनयुद्धको घोषित योद्धा हुनुको नाताले युद्धको सेरोफेरोमा भएका केही घटना अहिले पनि सम्झनामा आउँछ । ती घटनामा म सहभागी भए पनि नभए पनि, देखेको वा सुनेको भए पनि, भोगेको वा कहानी मात्रले पनि विचारमा, धारणामा नयाँ अर्थ खोज्न दबाव दिन्छ । कहीँ आफ्नै आँगनमा, कहीँ आफैं हिँडेको खेतका गह्रामा, कहीँ आफैंले पढेको विद्यालयको चौरमा, कहीँ आफैं उफ्रिपाफ्री गर्ने घट्ट अघिल्तिर भएका अनेक घटनामा टोलाएर बस्न मन लाग्छ । ती घटना सही र गलतको फैसला गर्न होइन, सही र गलत नियाल्न फुर्मासको समय उपयोग गर्न मन लाग्ने रहेछ ।

राज्यविरुद्ध लडिरहेको अवस्थामा जो मारिन्छन्, ती शहीद हुने रहेछन् । ऊ बेला शहीद हुनु पनि मोह हुन्थ्यो । शहीद हुन पाए के के हुन्छ भन्ने । शहीदका पक्षमा लेखिएका स्मृति वा साहित्यमा मन भक्कानिएर आउँदा पनि अब शहीद हुने पालो मेरो होस् भन्ने कामना हुन्थ्यो । शहीदको लहरमा उभिएर शहीद हुन पाऊँ भनी कामना नगर्ने योद्धा कहाँ हुन्छ ? कसले, किन, कसरी, कुन उद्देश्यले भन्ने प्रश्न नै थिएन, सँगैका साथी शहीद भएपछि आफूलाई पनि शहीदको लहरमा राख्न पाए कति गर्व हुँदो हो भन्ने भावना हुने रहेछ ।

भावनाका बीचमा संवेदनाको के अर्थ ?

भावना र संवेदना अलग्गै जिनिस रहेछन् । आज पनि समाजमा निरपराध मान्छे मारिन्छन् । तर संवेदना जाग्दैन । हरेक दिन गर्भमा छोरी भएको आशंकामा भ्रुण हत्या भइरहेका खबर छ्याप्छ्याप्ती आउँछन् । संवेदना जाग्दैन । हरेक दिन सीमामा नागरिक मारिन्छन् । संवेदनाले छुँदैन । तल्लो र उपल्लो जातको पर्खालभित्र विपन्न वर्गका मान्छे मारिन्छन् । तैपनि संवेदना जाग्दैन । जुनबेला युद्धमा थिएँ त्यो बेला माथिका सबै विषयमा दाह्रा किट्ने मानिस अहिले न बोल्छ न चल्छ । युद्धले जगाएको संवेदना मरिसकेको रहेछ । वा युद्धबाट बाहेक भएपछि खासखास प्रकृतिका संवेदना मर्ने रहेछ । त्यो बेला विचार र भावना गौण हुने रहेछ । घृणा नहुने, आक्रोश पनि नपलाउने हुँदो रहेछ ।

किनकि, युद्धभित्रको संवेदनाले पक्षधरता लिँदोरहेछ । युद्धमा सहभागी हामी युद्धको समयमा कैयौँपटक रुँदारुँदै हाँस्यौं र हाँस्दाहाँस्दै रोयौँ । माओवादीका प्राधिकार प्रचण्डले यो वाक्य हामीजस्ता आम लडाकूलाई कन्भिन्स गर्न त्यो बेला पर्याप्त थियो । एउटा मर्छ रोयो, अर्को मर्छ हाँस्यो । यसरी युद्धले संवेदनाको निर्माण गर्ने रहेछ । सिन्धुली जिल्लाको जरायोटारमा मारिएका समुद्र टेकनामका साथी पहिला माओवादी पार्टीको पूर्णकालीन कार्यकर्ता थिए । संकटकालमा सिन्धुली ब्यारेकमा गएर आत्मसमर्पण गरे । पछि माओवादीको नेतृत्वदेखि सर्वसाधारण जनतालाई मार्ने सुराकी गर्न लागे । नुवाकोटमा सागर र सुवाष तामाङजस्तै । अफसोच, सान्दाने भिडन्तको दिन समुद्र सुराकी गर्दै गर्दाको अवस्थामा भेटिए र त्यही दिन ०६१ वैशाख २९ गते उनलाई जनमुक्ति सेनाको फोर्सले भाग्दै गरेको अवस्थामा सफाया गरिदियो ।

युद्धको मैदानमा समुद्रप्रति मभित्र कुनै संवेदना जागेन । उल्टो आफूले चिनेका गाउँका र जिल्लाका त्यस्ता सुराकी त्यसैगरी सफाया भएको खबर सुन्न पाए भाग्यमानी भइन्छ भन्ने लाग्थ्यो । मानसिक सन्तुलन गुमाएका हल्देकालिकाका मानबहादुर गिरीलाई बाटोमा समातेर फलाटे बजारस्थित शाही सेनाको जिम्मा लगाइयो, पछि उनी शाही सेनाद्वारा दोहोरो भिडन्तमा मारिएको प्रचार भयो ।

म माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ता भएकै कारण उनी मेरो घरमा गएर मट्टीतेल छर्की आगो लगाउन उद्यत भए तर मलाई त्यो बेला पनि संवेदना जागेन । (नियति सुध्रेपछि अहिले त तिनै मान्छे प्रचण्ड माओवादीको जिल्लाकै खुंखार नेता भएको खबर पनि छ । माया, प्रेम, करुणा, संवेदना, भावना, मानवीयताले युद्धको विपरीत अर्थ बुझाउँछ । तर, युद्धलाई फरक आँखाले हेर्नेहरूको लागि युद्धले शान्ति, न्याय, समानता, मुक्ति, स्वतन्त्रताको अर्थ देखाउने रहेछ । त्यसैले एकातिर युद्धको सौन्दर्यमूलक संवेदना हुने गर्छ त अर्कोतिर संघर्षप्रधान सौन्दर्य हुने रहेछ । त्यसैले समाजमा युद्ध संवेदना सधैँ वृत्ताकार भएर घुमिरहेको हुन्छ ।

वृत्ताकार । अर्थात् हिजो अर्कै, आज अर्कै । आज अर्कै र भोलि अर्कै । भर्खर एसएलआर नामको राइफल काँधमा हाल्दै गर्दा जनयुद्धको दिमागी मानव ठानिएका नेताको भाषण हामीलाई सुनाइन्थ्यो । ती नेता थिए बाबुराम भट्टराई । उनको भाषणको एउटा अंश अहिले पनि चर्चामा यदाकदा आउँछ । भन्छन्, नेतृत्वलाई विश्वास गरेर मर्न मार्न तयार हुने मान्छे हामीलाई चाहिएको हो । १६÷१७ वर्षको मान्छेलाई माक्र्सवादी के थाहा ? ती सबैलाई पढाएर के साध्य ? हामीलाई नेतृत्वप्रति विश्वास गरेर मर्न र मार्न तयार युवा चाहिएको हो ।
हो रहेछ । हाम्रो पार्टीको नेतृत्वलाई मृत्यु र हिंसाको नदीमा अन्धभक्त बनेर हामफाल्ने भेडा सिपाही चाहिएको रहेछ । उक्त भाषणले यही कुरा प्रमाणित गर्छ ।

०५९ चैतको कुरा । माझी मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन सर्लाहीमा भएको थियो । सम्मेलनमा प्रचण्डको अनुहार देखेपछि अब मरिएछ भने पनि स्वर्गमा पुगिन्छ भन्नेमध्ये थिए जीवनसाथी आनन्दकुमार थापा । आनन्द प्रचण्डलाई देखेपछि भएको सबै सीमा पार गरेर स्वर्गको मोहको तलाउमा पौडन थालेका थिए । र, त्यही तलाउमा उनको अन्त्य भयो । शत्रुको बन्दुकले जितेपछि आनन्दले हारे र शहीद भए । प्रचण्डलाई देखेको केही महिनामै उनी स्वर्गको पाहुना भए । यस्तो बेलामा पनि मभित्र संवेदना जागेन । युद्धले संवेदना होइन, घृणा र आक्रोश जगाउने रहेछ ।

प्रतिबद्ध योद्धामा संवेदना नजाग्ने रहेछ । मभित्र पनि जागेन । यस्ता हजारौं कार्यकर्ताको विश्वास र बलिदानको उपलब्धि पनि हो गणतन्त्र । मलाई युद्धको सामान्य चरित्र मात्र लाग्यो । न भाव पैदा भयो न उत्तेजना । पछि थाहा भयो, युद्धमा प्रेमको परिभाषा अलग हुने रहेछ । बलिदानको परिभाषा अलग हुने रहेछ । त्यागको परिभाषा अलग हुने रहेछ । दया, माया करुणाको पनि भिन्दाभिन्दै परिभाषा लगाउन सकिने रहेछ । युद्ध मैदान यस्तो ठाउँ हो, जहाँ उभिरहँदा सारा संसार नै अलग लाग्ने रहेछ । युद्धमा जबर्जस्ती भर्ना गरिएका र पंक्तिबद्ध उभ्याएर मृत्युको कारखानामा भुटिन तयार धेरै अनुहार सम्झँदा त्यो बेला छेकेको संवेदनाले अहिले पनि पोल्छ । जुँगाको रेखी नबसेका किशोर र छातीमा गाँठा नपलाएका किशोरी मार्न र मर्न तयार भएर मोर्चाबद्ध हुँदा नपलाएको संवेदनाले अहिले पोल्नुको खास अर्थ त छैन । तर, अनुभवको अर्थ हुने रहेछ ।

मानव हृदयको सबैभन्दा पुरानो कहानी संवेदना हो जस्तो ऊबेला कहिल्यै लागेन । रगत बगेको मैदानमा संवेदना जाग्नुको बदला घृणा र आक्रोश उत्पन्न हुन्छ । लासको खातमाथि खात हेरेर भाषण सुन्दा मैले संवेदनाको अनुमान कहिल्यै गरिनँ । ०६१ वैशाख १ गते माओवादीका होनहार कार्यकर्ता खानीगाउँका बद्री ढकाल, मुकुन्द अधिकारी मारिए । ३१ गते गाउँकै नवराज ढकाल र विष्णुप्रसाद अधिकारीको हत्याको खबर आयो । अहिलेको सूर्यगढी गाउँपालिका चोकदे बजारबाट जम्मा एक किमि दूरीमा भएको त्यो हत्याकाण्डले संवेदनाको तह त छोयो तर अर्थहीन । जसको घरमा खाना खाइएको थियो तिनी मारिए, जसका आँगनमा नाचिएको थियो तिनी पनि मारिए । युद्धले सबै भोग्न सिकाउने रहेछ । क्रूर हुन सिकाउने रहेछ ।

युद्धबाट सिकेका क्रूरताका पाठमा संवेदनाको कुनै शीर्षक नहुने रहेछ । संवेदना छातीको दाहिने वा देब्रे कुनोमा छामेर प्राप्त हुने होइन रहेछ । गिदीमा संवेदना नभएपछि विचार र भावनाले संवेदना उत्पादन गर्ने होइन रहेछ । गाडिएका लास छेउमा उभिएर बदलाको प्रतिरोधको रूपमा लिँदा कहिल्यै संवेदना थाहा भएन । प्रेम र हिंसाबीचको पर्खालमा उभिएर हेर्दा ठ्याकै विपरीत तस्बिर आउने रहेछ । नक्शा निकालेर युद्ध मोर्चामा जाँदै गर्दा र यता सम्झौताका बुँदा बुझिएको खबर पाउँदा पलाएको भावना अनेक हुँदोरहेछ । त्यसपछि मान्छेले संवेदना र भावनाको अर्थ खोज्दोरहेछ । युद्ध रोकियो । भावना रोकिएन । युद्ध रोकियो र संवेदनाको खेती शुरु भयो । अचम्मको विरोधाभाष रहेछ अनुभव । कसैले युद्ध बेचे । कसैले योद्धा बेचे । म बेचिएको युद्धको नबेचिएको संवेदनाभित्र आफूलाई खोज्न प्रयास जो गर्दै छु ।

टिप्पणीहरू