दाइजाेकाे निहुँमा हत्याकाे आरोप, प्रहरी भन्छ, अधिकारकर्मीले भड्काए

दाइजाेकाे निहुँमा हत्याकाे आरोप, प्रहरी भन्छ, अधिकारकर्मीले भड्काए

बाँकेको जानकी गाउँपालिका-२ बेलभारस्थित नेवाजी गाउँकी नन्कुन्नी धोबीको साउन ६ गते बिहान झुन्डीएर रहस्यमय मृत्यु भयो । नन्कुन्नीको मृत्युलाई प्रहरीले आत्महत्या भनेपनि माइतीपक्षले भने दाइजोको निहुमा हत्या गरिएको दाबी गरेको छ । मृतकका श्रीमान राजकुमार धोबी, जेठाजु ईतबारी धोबीलगायतकाले दाइजोको निहुमा नन्कुन्नीलाई हत्या गरेको र प्रहरीले घटनाप्रति बेवास्ता गरेको आरोप लगाएका छन् ।

मृत्युअघि यातना खेपी रहेकी नन्कुन्नीलाई श्रीमान र जेठाजुसहितले पटक-पटक दाइजोका लागि दबाब दिएको र आत्महत्या गर्न दबाब बाध्य पारेको महिला अधिकारकर्मी मंचको आशंका छ । घटनाबारे चासो राख्दै मंचले सार्वजनिक गरेको विज्ञप्तिमा नन्कुन्नीलाई धोबी परिवारले हत्या गरेको दाबी गरिएको छ । सल्फासको ट्याब्लेट दिएर ‘यो खाएर मरिहाल, फासी लगाएर मरिहाल नत्र म आफै तलाई ज्यानबाट मारी दिन्छु’ भनी परिवारले शारीरिक तथा मनसिक यातना दिने गरेको भन्दै नन्कुन्नीले असार ७ गते लिखित निवेदन दिएको मंचको विज्ञप्तिमा उल्लेख छ ।

त्यसलगत्तै धोबी नन्कुन्नीमाथि भईरहेको यातनाबारे बेलभार प्रहरी चौकीका प्रमुख तथा जोगागाउँ प्रहरी चौकीलाई जानकारी गराएको तर प्रहरीले धोवीको घरमा गएर श्रीमानलगायतलाई राखेर मेलमिलाप गराएको मञ्चको भनाइ छ । जे गरेपनि आफूमाथि हिंसा नरोकिएको भन्दै नकुन्नीले साउन ५ गते महिला अधिकार मञ्चको कार्यालयमा पुन: जानकारी दिएको र साउन ६ गते बकर इदको सार्वजनिक बिदाका कारण साउन ७ गते सोही कार्यालयमा आउन भनिएको विज्ञप्तिमा जनाइएको छ ।

तर, साउन ६ गते बिहान नन्कुन्नीका भाइ माताप्रसाद धोबीले मञ्चमा फोन गरेर नन्कुनीलाई उनको श्रीमान र जेठाजुलगायतले फाँसी लगाएर मारिदिएको खबर गरेका थिए । माइतीपक्षले श्रीमान् र जेठाजुविरुद्ध किटानी जाहेरी दिंदा पनि प्रहरीले आरोपितलाई बिना अनुसन्धान छोडेको आरोप लागेको छ । प्रहरी प्रमुखले मुद्दा दर्तासमेत नगरेको र प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी तथा प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले अधिकारकर्मीलाई थर्काएको आरोप लगाउदै मृतकको माईतीपक्ष र मञ्चले साउन १३ गते राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।

घटनाबारे बुझ्न साउन १४ गते जिल्ला प्रहरी कार्यालय बाँके जाँदा प्रहरी उपरीक्षक अधिकारीले आफूमाथि उजुरी गरेकोले आईन्दा कार्यालयमा नआउनु भन्दै धम्कीपूर्ण व्यवहार गरि महिला प्रहरी लगाएर कार्यलयबाट निकालेको अधिकारकर्मी महिलाहरुले बताएका छन् । यस्तै प्रहरी उपरीक्षक अधिकारीले झुठ्ठा मुदा लगाएर फसाईदिने धम्कीसमेत दिएको उनीहरुको आरोप छ ।

यता, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भने घटनाको बारेमा जानकारी पाउनेबितिक्कै घटनास्थलमा पुगेर पीडितपक्षको सबै कुरा सुनेको दाबी गरेका छन् । शवको अवस्था हेर्दा शंकाश्पद नदेखिएकोले आफूहरुले पोस्टमार्टम रिपोर्ट कुरेको र रिपोर्टमा आत्माहत्या भनेर खुलेको उनले बताए ।

प्रहरीले कानूनअनुसार नै घटनाको अनुसन्धान गरिरहेको बताउँदै न्यौपानेले जाहेरी नलिएको भन्ने कुरा गलत भएको बताए । केही व्यक्ति र संस्थाहरुले अनुचित लाभ लिने उद्देश्यका साथ पीडितहरुलाई भड्काउने र उक्साउने गरेको उनको आरोप छ ।

टिप्पणीहरू