यी सारा कुराको देशलाई थाहा चाहियो « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

यी सारा कुराको देशलाई थाहा चाहियो

प्रकाशित मिति :  ३० श्रावण २०७८, शनिबार २१:००


०४३ सालताका राजाको नेतृत्वमा पञ्चहरूको सुधारिएको पञ्चायती निरंकुश शासन थियो । सबै दल प्रतिबन्धित थिए । नेकपा माले देशको सबभन्दा संगठित र लोकप्रिय कम्युनिष्ट पार्टी थियो । यसले जनपक्षीय अभियानअन्तर्गत पञ्चायती चुनाव उपयोगको नीति लिएर आफूलाई जनताबाट अनुमोदित गराउने योजना अघि सा¥यो र यसैअन्तर्गत ०४२ ४३ सालको राष्ट्रिय पञ्चायत र स्थानीय निकायको चुनावमा सहभागी भयो ।

पञ्चहरूको एकलौटी शासनमा अरूले सहभागी हुनु त्यति सजिलो थिएन । उनीहरूमा विरोधीहरूलाई सहन गर्ने क्षमता थिएन । यस्तै भयो, ०४३ सालमा निजगढको स्थानीय चुनाव । म पार्टीको तर्फबाट जनपक्षीय प्रधानपञ्च उठेको थिएँ । निष्पक्ष चुनाव हुँदा हामीले जित्ने निश्चित थियो । पञ्चले जबर्जस्ती बुथ कब्जा गरेर बक्सा भर्ने काम गरे । यो षड्यन्त्र हाम्रा क्रान्तिकारी युवालाई सैह्य भएन । निजगढ –५ का राजु चौलागाईंको नेतृत्वमा राजु न्यौपानेसहितका कमरेडहरूले धाँधली गरेर भरिएको बक्सा फोरिदिए । त्यसबापत किशोर झण्डै मारिएका थिए । सयौँ कार्यकर्ता कुटिए । कैयाैँ गिरफ्तार भए ।

०४४ सालमा निजगढको आन्दोलन चोकमा दैनिक साना ठूला कार्यक्रम हुने गर्थे । एकदिन बजारको कार्यक्रम सकेर कमरेड थलप्रसाद गौतमसहितका साथीहरू वागदेव फर्कंदै हुनुहुन्थ्यो । मण्डलेहरूले बाटोमा एक्कासि आक्रमण गरे । औतारटोलमा भएको हिंस्रक आक्रमणमा तत्कालीन शिक्षक कमरेड थलप्रसाद गौतमलाई कुटीकुटी हात भाँचिदिए । वागदेवका कमरेड टंक बस्नेत, तारानाथ चौलागाईं र भवनाथ तिमल्सिनासहित थुप्रै साथीलाई घाइते बनाए । यस्ता घटना गाउँगाउँमा भए । तर कार्यकर्ता फेरि पनि उच्च मनोबलसहित लागिरहे ।

के कुनै पनि आन्दोलनमा शक्ति आर्जन र एकताको च्याप्टर क्लोज गरिन्छ ?  के नेकपा एमाले अब पूरै परिपूर्ण भइसकेको हो ? होइन भने यति धेरै अहंकार पाल्नुको के अर्थ हुन्छ ?

यादव घिमिरे निजगढ –६ का सामान्य गाउँले । गाउँमा विद्यालय खोल्न चाहन्थे । आफैँले जग्गा दिएर विद्यालय खोल्न पहल गरेँ । मैले पुरापूर सहयोग गरेँ । सारा गाउँले मिलेर भवन बनाए । विद्यालय उद्घाटन गर्ने दिन पनि तय भयो । दुर्भाग्य उद्घाटनको एक दिनअगाडि मण्डलेहरूले आक्रमण गरेर यादव घिमिरेको हातखुट्टा भाँचिदिए । विद्यालय भवन भत्काइदिए । गाउँमा विद्यालय खोलेर शिक्षा दिन पाइँदैन भन्दै आन्दोलन चलाए । त्यो गाउँमा कहिल्यै विद्यालय खुलेन । यी सबै घटनाले पञ्चायती सत्ताको संकटलाई प्रदर्शन गरिरहेको थियो । आज पनि कुनै न कुनै रूपमा यस्ता घटना भइरहेका छन् । तर, समाज परिवर्तनमा लाग्ने क्रम पनि रोकिएको छैन ।

श्रीपुर बाराका कमरेड पलट चौधरी असी हाराहारीमा पुग्नुभएको छ । उहाँका सहयोगी सीताराम चौधरी पनि साठी नाघिसक्नुभयो । सत्तरी नाघेका वासु चौधरी अहिलेका कम्युनिष्टहरू लोभमा डुबेको देखेर छक्क पर्नुहुन्छ । पार्टीको मिटिङ चलिरहेका बेला गाउँमा आएका दुई जना पुलिससँग लड्दै उनीहरूको हतियारसमेत खोसेर ज्यान खतरामा पु¥याएकोमा पीडा महसुस गरिरहनुभएको छ । जब योद्धाहरू पार्टी र क्रान्तिका लागि खतरा मोलेकोमा पीडा पोख्न थाल्छन्, यसले पार्टीलाई निश्चित रूपमा कमजोर बनाइरहेको हुन्छ ।

जमिनमा जोडिएका हजारौँ कार्यकर्ताको श्रम, संघर्ष र लगानीको परिणाम आजको एमाले हो । अहिले यिनै कार्यकर्ताले माथि पु¥याएका नेता पार्टीमा जिम्दारी चलाइरहेका छन् । पार्टीलाई एकीकृत रूपमा लिएर हिँड्नुको साटो विभाजनतिर मोडिरहेका छन् । अझ आफूलाई पार्टीको प्रमुख नेता दाबी गर्ने महामहिमहरू नै एकताको च्याप्टर क्लोज भएको कुरा गर्दै छन् । के कुनै पनि आन्दोलनमा शक्ति आर्जन र एकताको च्याप्टर क्लोज गरिन्छ ? कम्युनिष्ट पार्टीको नीति नै एकता संघर्ष र एकता हुन्छ । तर, के नेकपा एमाले अब पूरै परिपूर्ण भइसकेको हो ? होइन भने यति धेरै अहंकार पाल्नुको के अर्थ हुन्छ ? यसरी मनोगत आधारमा चलेको नेतृत्वले भोलिका दिनमा कसरी देश हाँक्न सक्ला ?

हिजो झापा जिल्ला कमिटीबाट शुरु भएको आन्दोलन कोअर्डिनेशन केन्द्र हुँदै नेकपा माले र ०४७ सालमा नेकपा माक्र्सवादीसँग एकता भएर एमाले बनेको हो । यसबीच धेरै नेतृत्व फेरिए । पुरानाको ठाउँ नयाँ नेतृत्वले लियो । नेपाली कम्युनिष्ट आन्दोलन कसैको एकल नेतृत्व कायम गर्न अथवा कसैलाई नेतृत्वमा पु¥याउन मात्र एकीकृत हुँदै आएको होइन । यसले पलट चौधरी, राजु चौलागाई र थलप्रसादजस्ता योध्दाहरूको प्रतिनिधित्व गरेको थियो । आज यसलाई गलत दिशा दिने प्रयास किन गरिँदै छ ? पार्टी एकतालाई बेवास्ता गर्दै किन स्वार्थ र वर्चस्वलाई प्रमुखता दिइँदै छ ?

हिजोका बूढापाका भन्ने गर्नुहुन्थ्यो – मान्छे कमजोर भएपछि हातमुख छोड्न थाल्छ । झगडामा रूमल्लिन थाल्छ । नेतृत्व कमजोर भएपछि अहंकार बढ्छ र दिन बित्दै गएपछि अँधेरी रात आउन थाल्छ । वास्तवमा आजको एमाले र यसको नेतृत्वका गतिविधिले यसलाई पुष्टि गरिरहेको छ । हाम्रो नेतृत्व आफैँ गाली गलौजमा उत्रन थालेको छ । आफँै ओरालोतिर हिँडेर अहंकार प्रदर्शन मात्र गरिरहेको छ । त्यति मात्र होइन हिंस्रक प्रकृतिका संगठन बनाएर लोकतन्त्र र शान्तिको समेत खिल्ली उडाइरहेको छ । यसले नेता र नेतृत्वको कमजोरीलाई झन् प्रमाणित गरिरहेको छ । एमाले नेतृत्वले तत्काल सुधार गर्नुपर्ने विषय हो यो ।

भनिन्छ, राजनीति कमजोर भएपछि विचारलाई थन्क्याएर हिंसाको बाटो समात्न थाल्छ । राज्य र सरकार कमजोर भएपछि निरंकुशता र दमनको बाटो लिन थाल्छन् । जनतामा आतंक सिर्जना हुन थाल्छ । विपक्षी र आलोचकहरूमाथि दमन चक्र चलाउन र निरंकुश चरित्र प्रदर्शन गर्न शुरु गर्छ । रियलमा हाम्रोजस्तो शान्ति र निर्माणतर्फ उन्मुख मुलुकमा समेत नागरिक पटक–पटक सशंकित र आन्दोलित हुनुपर्ने अवस्था आइरहेको छ । यो बहुतै गम्भीर विषय हो । यसको एक मात्र कारण नेतृत्वको असफलता हो । देशमा सत्ता बदलियो तर सत्ताको चरित्र बदलिएन । सत्ताका पात्र बदलिए तर तिनको प्रवृत्ति बदलिएन । जनताको नाममा सत्तामा गएर जनतालाई सुन्न र बुझ्न सकेनन् । यो नेतृत्वको असफलता मात्र हो । यसमा परिवर्तन ल्याउन देशले जनतालाई सुन्न र बुझ्न सक्ने नेतृत्व खोजिरहेको छ । के नयाँ पुस्ताले देशका लागि जनतालाई सुन्न र बुझ्न सक्ने नेतृत्व दिन सक्छ ? देशलाई थाहा चाहियो ।


प्रतिक्रिया दिनुहोस !