कुलमानका नयाँ कुरा

कुलमान घिसिङले चाइनाबाट लिड इनर्जी बल्ब र ऊर्जा बचत गर्ने खालको पंखा खरिद गर्न भन्दै अर्थ मन्त्रालयसँग ऋण मागेका छन् । उनले प्राधिकरणमार्फत बल्ब र पंखाको व्यापार गर्ने सोचअनुसार २ अर्ब कर्जा सापटी र आयातित वस्तुमा भन्सार छुटको प्रस्ताव चुनावको मुखमा अर्थतिर अघि बढाएता पनि पैसा पाउने सम्भावना भने न्यून रहेको बताइन्छ ।

त्यसै पनि विद्युत् प्राधिकरण एउटा संस्थान हो, त्यसैले गरेको रहरलाई अर्थले सघाउने स्थिति देखिँदैन । पञ्चायतकालमा राज्यनियन्त्रित नीति लागू गरेका बेलासमेत यसरी सबै संस्थानमार्फत व्यापार नगरेर साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङमार्फत प्रतिस्पर्धात्मक व्यापार गर्ने प्रचलन थियो । खुला बजारनीति लिएको सरकारले प्राधिकरणको सामान ल्याउँदै बेच्दै गर्ने सोचलाई सहयोग गर्ला/नगर्ला योचाहिँ हेर्न बाँकी नै छ ।

हुन त कुलमानले भनेजस्तो गर्दा विद्युत् बचत होला । चुहावट र अनावश्यक खपत पनि घट्ला तर निजी क्षेत्रले गर्ने हो त्यस्तो काम प्रतिस्पर्धात्मक रूपले । राम्रो ल्याउने र सस्तोमा बेच्ने काम व्यापारीको हो, कुलमानले विद्युत् व्यवस्थापन, उत्पादन, प्रशारण लाइन निर्माण, चोरी नियन्त्रणमै झन् बढी लागे प्रभावकारी हुने थियो । भन्सारमा मात्रै ८० करोड जति छुट लिने गरी बल्ब व्यापार गर्दा उनको ध्यान आवश्यक क्षेत्रमै पुग्दैन कि भन्ने सर्वसाधारणको चिन्ता हो ।

टिप्पणीहरू