व्यापारीसँग कोठामा साँझ–बिहान

कहिले भरत सुवेदी, कहिले रामकृष्ण सुवेदी र विश्वप्रकाश सुवेदी । राजश्वमा यिनै सुवेदीको आतंक छ । पछिल्लो आतंकचाहिँ ‘पूर्वसिडिओहरू’ रामकृष्ण र विश्वप्रकाशहरूको हो । एकजनाले काठमाडौं र अर्काले धादिङ जिल्ला सम्हालेका ।

त्यसमा राजश्व अनुसन्धान विभागका डिजी रामकृष्णले चाहिँ शिक्षातर्फ डिग्री गरेका हुन् । यस्ताले लेखा, ब्यालेन्ससिट कसरी हेर्छन् त्यो त जिम्मेवारी दिनेलाई नै थाहा होला । चुनावलाई ध्यानमा राखेर व्यापारी तर्साउने ठाउँमा बसेका यिनले दामवालालाई राम्रैसँग अत्याउन थालेका छन् । पहिले मोहनगोपाल खेतान, कनकमणि दीक्षितलाई राजश्वले नै सेकेको हो । अहिले अख्तियारका निमित्त प्रमुख दीप बस्नेत पनि त्यहींका हाकिम थिए । विष्णु न्यौपानेजस्ता व्यापारीलाई साँझ–बिहान बोलाएर भेट्ने काम त्यहींका हाकिमले गर्दै छन् ।

भैरहवा, कृष्णनगरतिरका एक ठूला तस्कर छन्, समशेर मियाँ, माओवादीनिकट । उनको ६०९६ नम्बरको गाडी केही दिनअगाडि समातियो । लुम्बिनीका एसएसपीले गृहमा पठाएको रिपोर्टअनुसार भ्याट बिल र अरू कागज मिलाएर उन्मुक्ति दिइएको छ । तर्साउनका लागि व्यापारीलाई नाका नाकामा लाइन लगाउने, ट्रक हप्तौं रोक्ने र छोरी कुटेर बुहारी तर्साउने भनेझैं अफिसमा बोलाएर खासखुस गरिँदै छ । भैरहवा, केरुङ, बिराटनगर नाकाबाट सामान ल्याउने कन्टेनरवालालाई समातेर कसिँदै छ । हेम चौलागाईं, केशव पौडेलहरूलाई भने छुट दिने काम भएकै छ । एउटालाई समात्यो भने अरू त आफैं लाइन लागेर भेट्न आउने भए । राजश्वले गत आर्थिक वर्ष २५० करोड उठाइदिएको अभिलेखमा देखिन्छ ।

राजश्व यस्तो ठाउँ हो जहाँबाट एउटा डण्डा चलाउँदा सबैतिर घण्टी बज्छ । तर भन्सारबाट एउटा सामानको प्रज्ञापनपत्र देखाएर दशथोक छिराउँदा भने मुलुक नराम्ररी ठगिन्छ । त्यस्तो ठाउँमा कच्चा मान्छे पठाउँदा राजश्व सचिव राजन खनालको टाउको दुखाइ भएको छ । उता, माओवादीले चाहिँ यसलाई आफ्नो खर्च जुटाउने माध्यम बनाएको बुझिएको छ । यसैबीच, अर्थको बजेट महाशाखाका हाकिम मधु मरासिनीलाई अमेरिकाको न्युयोर्कमा महावाणिज्यदूतको नयाँ दरबन्दी सिर्जना गरेर पठाइँदै छ । मुख्यसचिव डा. सोमलाल सुवेदीको नियुक्तिसम्बन्धी पत्र एडिबीमा आइतबार गएसँगै मधुलाई अमेरिका पठाउन लागिएको हो । उनीसँग कुनै बेला विश्वबैंकमा काम गर्ने सिलसिलामा चारवर्ष अमेरिका बसेको अनुभव पनि छ । परराष्ट्र स्रोतका अनुसार उनको नियुक्तिसम्बन्धी प्रक्रिया अघि बढाइसकिएको छ ।

टिप्पणीहरू