आज राजधानीमा कुन कुन दल र समूहले गर्दैछन् कार्यक्रम ?

आज राजधानीमा कुन कुन दल र समूहले गर्दैछन् कार्यक्रम ?

राजधानीमा आज शनिबार पनि विभिन्न राजनीतिक दलहरुले कार्यक्रम गर्ने भएका छन् । जसमा सत्तारुढ नेपाली काँग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । उसले दिउँसो २ बजे प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बोलाएको हो ।

उता नेपाल कम्युनिष्ट पार्टी (एमाले) वागमती प्रदेश सम्पर्क संगठन कमिटीले पनि दिउँसो कार्यक्रम राखेको छ । मध्यान्ह १२ बजे नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यमा सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम राखेको हो । कार्यक्रम ए वान क्याफे एण्ड ब्याङ्क्वेट शंखमुलमा हुने जनाइएको छ ।

नेपाली काँग्रेस (वीपी) ले पनि आज युवाहरुलाई पार्टीमा प्रवेश गराउने भएको छ । दिउँसो साढे १२ बजे कुलेश्वरमा उक्त पार्टीले पार्टी प्रवेश कार्यक्रम राखेको हो ।

आज एमसीसीको बिरोधमा शाही युवा शक्ति नेपालले प्रदर्शन गर्ने भएको छ । दिउँसो २ बजे उक्त समूहको जिल्ला कार्य समितिले गोंगबुमा प्रदर्शन गर्ने जनाएको छ ।

त्यसैगरी अनेरास्ववियु केन्द्रीय कमिटीले नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा पुस्तक विमोचना कार्यक्रम गर्ने भएको छ । सुनिता बरालको समृद्धिप्रतिको संकल्प पुस्तक पोखरेलले दिउँसो १ बजे हार्दिक होटल, बागबजारमा विमोचन गर्ने बताइएको छ ।

राष्ट्रिय युवा संघ नेपाल, भक्तपुर जिल्ला कमिटीले पनि भक्तपुरमा कार्यक्रम राखेको छ । उसले राष्ट्रिय युवा संघ इञ्चार्ज तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा संघको जिल्ला, क्षेत्र, नगर तथा वडा कमिटीको घोषणा र तिनका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम राखेको हो । कार्यक्रम यो यो ब्याङ्क्वेट, सूर्यविनायकमा दिउँसो साढे ३ बजे राखिएको हो ।

रौतहटमा गत वर्ष मारिएका पूजारीको हत्यामा संलग्न मुख्य व्यक्तिको धरौटीमा रिहाविरुद्ध प्रदर्शन हुने भएको छ । जय महांकाल युवा समूहल पूजारीको हत्यारालाई फाँसीको माग गर्दै सरकारलाई ध्यानाकर्षण गराउन प्रदर्शन गर्ने जनाएको छ । उसले दिउँसो ४ बजे माइतीघर मण्डलामा कार्यक्रम गर्ने भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोट काठमाण्डौ सम्पर्क मञ्चले बृहत भेला बोलाएको छ । स्काई पार्टी प्यालेस, सामाखुशीमा दिउँसो हुने कार्यक्रममा नेताहरु राजेन्द्र पाण्डे र विरोध खतिवडा उपस्थित हुने जनाइएको छ ।

टिप्पणीहरू