कर्णाली सरकारले आफ्नो निर्देशनलाई नटेरेको सामाजिक विकास समितिको ठहर

कर्णाली सरकारले आफ्नो निर्देशनलाई नटेरेको सामाजिक विकास समितिको ठहर

कर्णाली सरकारले प्रदेशसभाको सामाजिक विकास समितिले दिएको ३० प्रतिशत निर्देशन कार्यान्वयन नै नगरेको पाइएको छ । ‘मिनी पार्लियामेण्ट’ को रुपमा लिइने प्रदेशसभाको सामाजिक विकास समितिले प्रदेश सरकारलाई दिएको निर्देशनको ७० प्रतिशत हाराहारीमा मात्रै कार्यान्वयन भएको पाइएको हो ।

बाँकी ३० प्रतिशततर्फ सरकारको ध्यान पुग्नै नसकेको समितिले जनाएको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारको परिणाममुखीभन्दा बजेट खर्च गर्ने प्रवृत्ति हावी हुदाँ समस्या आएको उसले जनाएको छ ।

समिति अध्यक्ष देवी वलीले परिमाण निकाल्ने गरेर बजेट विनियोजन नहुँदा आफूहरुले दिएको सुझाव कार्यान्वयन भएको जिकिर गर्नुभयो । उहाँले सीमान्तकृत वर्ग, दलित, जनजाती, उत्पिडित समुदायको उत्थानका लागि सरकारलाई पाँच वर्षे कार्ययोजना तयार गरी लागु गर्न समेत निर्देशन दिइएको बताउनुभएको छ ।

समितिका अध्यक्ष वलीले कोरोना महामारीको समयमा दिइएका अधिकांश निर्देशन सरकारले कार्यान्वयन गरेको तर अन्यक्षेत्रमा भने सोचेअनुसारको काम हुन नसकेको उहाँको निश्कर्ष छ । समितिले अहिलेसम्म ९१ वटा बैठक बसेर सरकारलाई विभिन्न सुझाव दिँदै आएको समेत जनाएको छ ।

भौगोलिक विकटता, स्रोत साधनको अभाव भए पनि आफूहरुले सकेसम्म योजनाको अनुगमन गरेको समितिको ठहर छ । समितिले गत आर्थिक वर्षमा तयार पारेको वार्षिक प्रगति प्रतिवेदन भने प्रस्तुत गर्न नपाएको जानकारी दिइएको छ ।

समितिले खाद्य अधिकार, सहकारी र स्वास्थ्य विधेयकका बारेमा आमनागरिकबाट सुझाव लिएर कानुन निर्माण गरेको उहाँले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सरकारले ल्याएको आमसञ्चार सम्बन्धी विधेयकमा सरकार नै हाबी हुने व्यवस्था राखिएको छ, त्यसलाई समितिले सुधार गर्न आवश्यक पहल गर्नेछ ।’

टिप्पणीहरू