एमाले लुम्बिनी अध्यक्ष लीला गिरीको आरोप बेतुक : प्रदेश प्रमुख

एमाले लुम्बिनी अध्यक्ष लीला गिरीको आरोप बेतुक : प्रदेश प्रमुख

नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष तथा प्रदेशका पूर्वमन्त्री लीला गिरीको अभिव्यक्तिलाई लिएर प्रदेश प्रमुख कार्यालयले असन्तुष्टि जनाएको छ । आज प्रदेश प्रमुखको सचिवालयका तर्फबाट नारायणप्रसाद आचार्यले प्रेस वक्तव्य जारी गर्दै प्रदेश प्रमुखलाई विवादमा तान्ने उद्देश्यले गिरीले दिएको अभिव्यक्तिको खण्डन गरेका हुन् ।

सरकार जोगाउन गरिएका अनेक प्रयासका बाबजुद् प्रतिपक्षमा पुगेपछि गिरीले प्रदेश प्रमुखले गैरसंवैधानिक काम गरेको आरोप लगाएका थिए । संविधानको प्रावधान र बहुदलीय व्यवस्थाको भावना विपरित आफ्ना सांसदलाई मन्त्रीको सपथ खुवाएको भन्दै गिरीले प्रदेश प्रमुखलाई आरोपित गरेका थिए ।मन्त्रीको सपथ लिएका अजय शाही र विमला वलीलाई आफ्नो संसद दाबी गर्दै गिरी उनीहरुलाई मन्त्री बनाएकोमा प्रदेश प्रमुखमाथि खनिएका थिए । प्रदेश प्रमुखको कार्यालयले भने गिरीको आरोपलाई पूर्वाग्रहको तुच्छ मनोवृति र अति निन्दनीय कार्य भनेको छ ।

‘प्रदेशसभा सदस्यद्वय अजय शाही स्वतन्त्र सांसद भएको र विमला वली सर्वोच्च अदालतको फागुन २३ को फैसलाबाट पार्टी रोज्न पाउने परमादेश भएपछि नेकपा (माओवादी केन्द्र) रोजी सोही संसदीय दलको सदस्य भएको स्पष्ट उल्लेख गरि लुम्बिनी प्रदेश सभाबाट सूचीकृत भएको नामावली प्रदेश प्रमुखको कार्यालयमा प्राप्त हुन आएको व्यहोरा अवगत गराउन चाहन्छु’, सचिवालयले भनेको छ, ‘प्रदेशसभा सदस्यहरुमध्ये कुन सदस्य कुन पार्टीका हुन् र कसले कुन–कुन पार्टीमा प्रवेश गरे वा गरेनन् भन्ने विषय प्रदेश प्रमुखसँग सम्बन्धित वा क्षेत्राधिकारभित्र नपर्ने कुरा लीला गिरीलाई थाहा हुनुपर्ने कुरा हो ।’

विज्ञप्तिमा यसअघि जसपा संसदीय दलको निर्णयविपरित उसका चार सांसदलाई मन्त्री दिएर एमालेले सरकार टिकाएको घटनालाई स्मरण गराइएको छ । एउटा पार्टीका सदस्यलाई अर्को पार्टीमा सामेल गर्ने र पार्टी परिवर्तन गर्ने गरिएका विगतका उदाहरणहरुप्रति पनि गिरीको ध्यान नपुगेको हो कि ? प्रश्न गर्दै पार्टी परिवर्तन गर्ने या नगर्ने विषय नितान्त राजनैतिक र व्यक्तिहरुको सरोकारको विषयसँग प्रदेश प्रमुखलाई आरोपित गर्नु पूर्वाग्रह र तुच्छ सोच हुने विज्ञप्तिमा उल्लेख छ ।

‘प्रदेश प्रमुख कुनै राजनीतिक दलको सदस्य रहेको हुँदैन । नितान्त संवैधानिक जिम्मेवारी रहेको हुन्छ र संविधानमा व्यवस्था भएबमोजिम सिफारिसको आधारमा निर्णय गर्ने संस्था हो भन्ने अनुरोध गर्दै यस प्रकारको तुच्छ आरोप नगर्न अनुरोध छ,’ विज्ञप्तिमा जनाइएको छ ।

टिप्पणीहरू