यस्तै हुनुपर्ने हो र कम्युनिष्टको शैली ?

यस्तै हुनुपर्ने हो र कम्युनिष्टको शैली ?

साधारण कुरा गरौं । यस्ता सामान्य मान्छे धेरै छन् जसले माक्र्सवादी सिद्धान्त भनेको के हो बुझेको छैन किनभने तिनले माक्र्सवादको अध्ययन गरेका छैनन् तर आफूलाई कम्युनिष्ट समर्थक भन्छन् र कम्युनिष्ट पार्टीलाई सहयोग गर्छन् । यस्तो किन भने कम्युनिष्ट शासन व्यवस्था भनेको सबै बराबर हुने, जातपात र छुवाछूत नहुने, धनी र गरिबको भेद नहुने व्यवस्था हो भनेर उनीहरूले बुझेका छन् । के के र कस्ता कस्ता काम गरेमा यी मानिसले यो वा त्यो पार्टी कम्युनिष्ट पार्टी हो भनेर बुझ्ने छन् र तिनले लगातार समर्थन र सहयोग गरिरहने छन् त?

म आफूले कक्षा आठमा अध्ययन गर्दैगर्दा अनेरास्ववियुको सदस्यता लिएको हो । त्यो लिने बेला के भनियो भने यो संगठन कम्युनिष्ट बिचार मान्ने बिद्यार्थीहरूको संगठन हो र यसको माउ भनेको नेकपा (माले) हो । यो पार्टीले शोषित, उत्पीडित जनसमुदायको मुक्तिको निम्ति संघर्ष गर्छ । यसको लक्ष्य नौलो जनवादी क्रान्ति गरी देशमा कम्युनिष्ट व्यवस्था स्थापनामार्फत साम्यवाद ल्याउने हो । साम्यवाद आएपछि मान्छेले होइन मेसिनले काम गर्नेछ, सबै मान्छे समान हुनेछन्, जाति, धर्म र लिंगको आधारमा कोही सानो वा ठूलो हुने छैन ।

अन्तर्राष्ट्रिय सीमा रहने छैनन् र विश्व एक हुनेछ । मान्छेको जाति नै अन्तर्राष्ट्रिय हुनेछ । यही सुनेर अखिलको सदस्य र कम्युनिष्ट समर्थक भएको हो । मजस्ता धेरै होलान् यसरी बनेका । यही कुरा बा–आमालाई सुनाएँ, ठ्याक्कै यस्तै हुन्छ भनेर । ‘क’ नपढेकी आमा मेरो कुरामा सहमत भएर समर्थक बन्नुभयो । यो करिब करिब ०३७ सालतिरको कुरा हो । लगत्तै हेमचुरी र गहतराज थरका साथीहरूलाई घरमा लगेँ । हामीले एउटै भान्सामा सँगै बसेर खायौं र माथिल्लो तलामा सुत्यौं । आमाले केही प्रतिक्रिया जनाउनु भएन । यो कुरा ती साथीहरूले आ–आफ्नो घरमा गएर सुनाएछन् । पछि उनीहरूको घरमा म गएको बखत साथीका बाले धेरै ठूलो प्रशंसा गरे । यसरी कम्युनिष्ट भनेको यस्तो हो भनेर सुनेको भरमा लाखौंलाख होलान् मेरी आमाजस्तै कम्युनिष्ट समर्थक र सहयोगी बनेका !

कम्युनिष्ट पार्टी सरकारमा जान थालेको पहिलो मध्यावधि चुनावपछि हो । त्यसपछि लगातार कम्युनिष्ट पार्टी कुनै न कुनै तरिकाले सरकारमा सहभागी रहँदै आएको छ । तर के ती सरकारहरूले हामीले हाम्रा बा–आमालाई मैले सुनाएजस्तै गरी शासन सत्ता चलाए त ? साम्यवादमा जान गैर बराबरी अन्त्य गर्ने, अन्याय र अत्याचार रोक्ने, सबै जनतालाई गाँस, बास र कपासको व्यवस्था गर्ने, स्वास्थ्य र शिक्षा सजिलोसँग पाउन सक्ने वातावरण निर्माण वा प्रयत्न गरे त ? यसको छोटो जवाफ हुन्छ, गरेनन् । गाउँमा उपचार नपाएर मर्ने धेरै छन् । स्कुल छाड्न बाध्य हुने बालबालिका अनगिन्ती छन् । नदी किनार र जंगलभित्र झुपडी बनाएर बस्न बाध्य भएकाहरू धेरै छन् । खान नपाएर आत्महत्या गर्नेहरू पनि थुप्रै छन् । रोजगारी नपाएर अरबको गर्मी खान जानेहरूको संख्या अत्यधिक छ । यसरी हेर्दा मान्छे दुःखी हुनु एकदम जायज छ । अब हामीले कम्युनिष्ट शासन भनेको यो हो भनेर के बताउने जनतालाई ?

पार्टीका नेताले जेसुकै भने पनि अब यो कथित गाँस, बास र कपासको व्यवस्था कम्युनिष्ट शासन व्यवस्थाले गर्छ भन्ने कुरा धेरैले पत्याउने अवस्था छैन । किनभने देशमा बहुदलीय शासन व्यवस्था लागू भएको तीन दशक बढी भयो । यस बीच शासन सत्तामा पुगेका, सत्ताको नजिक रहेका मानिसको सम्पत्तिमा अचाक्ली वृद्धि भइरहेको छ तर आम मानिसको भने आम्दानी नै लगातार घट्दो छ भनेपछि सम्पत्तिमा वृद्धि हुने त कुरै भएन । सत्तामा पुगेका तथा राजकीय सुविधा उपभोग गरिरहेका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको चल–अचल सम्पत्तिमा वृद्धि हुनु भनेको कम्युनिष्ट हुनु होइन । खासमा हुनुपर्ने त के थियो भने गरिब मजदुर तथा किसानको आम्दानी बढ्नुपर्ने थियोे । तिनको जीवनस्तरमा परिवर्तन आउनुपर्ने थियो । तर, दुःखका साथ भन्नुपर्छ त्यस्तो भएन । खाने–लाउने समस्यामा अल्झेरै जनताको जिन्दगी जाने भयो!

कम्युनिष्ट पार्टीका मान्छेहरू र आम जनताबीचको सम्बन्ध भनेको पानी र माछाको जस्तो हो भन्छन् । संघर्षका दौरान यस्तो हो कि जस्तो भान हुन्थ्यो । किनभने रातबिरात नेताहरू आउँथे, घरमा जे छ त्यो पकाउन लगाउँथे र खान्थे । गोठमा, बुइँगलमा सुत्थे । मुस्किलले जुटाएर पचास रूपैयाँ हातमा हाल्दिँदा खुशी भएर अँगालै मार्थे ।

मेरो त छँदै छ, जनताको बुझाइमा पनि नेपालका कम्युनिष्ट पार्टी नाम गरेका पार्टीहरू कम्युनिष्ट पार्टी नै होइनन् । सबै खुँखार, दलाल तथा बुर्जुवा पार्टी हुन्, नामले बाहेक । यिनको नजरमा जनताको स्वास्थ्य, जनताका छोराछोरीको शिक्षा, युवाहरूको निम्ति रोजगार सृजना गर्ने कुरा, जनजीविका मुख्य विषय नै होइनन् सम्बोधन गर्नुपर्ने । नयाँ नयाँ अस्पताल बनाउने, अध्ययन, अनुसन्धान प्रतिष्ठान बनाउने, स्कुल कलेज खोल्ने, नहर बनाउने, समयमा किसानलाई मल, बीउ उपलब्ध गराउने कुरा पनि प्राथमिकतामा पर्दैन । यिनले भ्यु टावर बनाउँछन्, धरहरा बनाउँछन्, मूर्तिमा सुनको लेप लगाउँछन्, निर्जीव मूर्तिमा प्राण भर्छन्, धार्मिक तीर्थस्थल बनाउन जग्गा अधिकरण गर्छन् ।

प्रधानमन्त्री, मन्त्री भएर द्वार प्रवेश गर्दा कालो बोको काट्छन्, चरुहोम हाल्छन् । कोरोना कालमा इन्धनको मूल्य वृद्धि गराएर महँगी बढाउँछन् । जनतालाई दिनुपर्ने दबाइमा भ्रष्टाचार गर्छन् । मजदुरबाट चर्को भाडा असुल्छन् । यस्तो चरित्र त पुँजीवादी दलका सरकारको पनि हुन्न । मैले र मेरा साथीहरूले उतिबेला आमाहरूलाई बुझाएको जस्तो कम्युनिष्ट पार्टी र कम्युनिष्ट शासन व्यवस्था तथा आजको कम्युनिष्ट पार्टीका मान्छेहरूले चलाएको शासन व्यवस्था र पार्टीमा आकाश र जमिनको अन्तर छ, छेउ र टुप्पो कहीँ – कतै मिल्दैन । हामीले जनताले खोजेको, हेर्न र भोग्न चाहेको पार्टी र सरकार भनेको त कम्युनिष्ट जस्तो हुन्छ, हो त्यस्तै खालको हो । यदि, तत्कालका लागि त्यस्तै बनाउन सकिन्न भने पनि कम्तीमा अलिकति गुण भएको त होस् भन्ने हो । कम्युनिष्टको सरकार भन्ने, किताबमा कर लगाउने तर चकलेटमा छुट दिने, घरको मालपोत तिर्न ऋण काढ्नुपर्ने, चर्को, स्कुलले मासिक शुल्क जतिलिए पनि हुने, अस्पतालले, डाक्टरले शुल्क जति लिए पनि हुने, वकिलले शुल्क जति लिए पनि हुने ! यस्तो पनि हुन्छ र कम्युनिष्टले चलाएको शासनको ताल ?

एमालेमा ठूलो विवाद छ । तर, यो विवादको चुरो आपसी असमझदारीमा अलिकति तलमाथि र अलिकति एकलौटी चल्न खोज्ने प्रवृत्ति हो । त्यहाँभित्रको विवादले जनजीविकाको कुरा गर्दैन, सबैले सर्वसुलभ र समान शिक्षा पाउने, जनताले सस्तोमा वा निःशुल्क स्वास्थ्योपचार गर्न पाउने कुरा गर्दैन, रोजगारीको कुरा त्यहाँ छैन । सिञ्चाइ, मल कसरी उपलब्ध गराउने किसानलाई भन्ने कुरा पनि छैन । र, सारमा समाजवादमा कसरी जाने भन्ने कुरा नै छैन ।

त्यसैले एमालेको झगडा एउटा पहेलीजस्तो बनिरहेको छ । विवादका कारण जसले जसरी बुझ्न चाह्यो उसले त्यसरी नै बुझ्न सक्छ । अतः राजनीतिक कुरा यो यो हो, सांगठानिक कुरा यो यो हो र अरु आर्थिक, सामाजिक रूपान्तरणका कुरा यी यी हुन् भनेर प्रष्ट नपारी अघि बढ्ने हो भने मच्चियो मच्चियो थच्चियो हुनेछ । जनताका दुुुुःख, कष्ट त कसैले हर्न सक्ने कुरा नै भएन । गरिबका निम्ति केवल ईश्वरको आराधना गर्ने र उस जन्मको कर्मको फल भन्दै स्वयंलाई धिक्कार्दै काल पर्खिनेबाहेक विकल्प छैन । कम्युनिष्ट शासन व्यवस्था तिनका निम्ति मिर्गमरिचिका नै हो ।

टिप्पणीहरू