सम्बन्ध राख्दै हिँड्नेहरु सावधान

पतिको अनुपस्थितिमा परपुरुषसँग निकट हुनेहरुले ध्यान दिने बेला भएको छ, सानो कारणले ठूलो समस्यामा पर्न सकिन्छ ! महाराजगञ्जस्थित प्रहरी बृत्तको हिरासतमा रहेकी ३४ वर्षीया कमला (नाम परिवर्तन) सुनारले शनिबार होटलको खाटमा सल छोडेर शौचालय छिरेबापतको सजायँ भोग्दैछिन् ।

कमलाभन्दा एक वर्षले कान्छा थिए, सप्तरीका ३३ वर्षीय अभयराम यादव । म्यानपावर कम्पनीहरुसँग सम्पर्कमा रहेर विदेशी टिकट एजेन्टको रुपमा काम गर्थे, अभय । कमला थिइन्, पति विदेशिएपछि अभयको साथी बनेकी । बुटवलकी हुन् । अभयको काम धुम्बाराही, महाराजगञ्ज, बसुन्धरा, सामाखुशी र गोंगबुतिरका म्यानपावरमा हुने ! त्यसैले साँझ परेपछि थकाई मार्न उनीहरु प्रायः धुम्बाराहीस्थित डाँफे होटल पुग्थे । त्यही क्रममा शनिबार पुगे, कोठा नं. ५ मा । साँझ ९ बजे कमलाले खानपिन गरिसकेपछि कोठाभन्दा एक तला मुनीको शौचालय गइन्, खैनी खानलाई । स्वाभाविक हो, शौचालय छिरेपछि सल, व्यागलगायतका सामान कोठामै छोडिन्छ । तर, कोठा फर्किंदा खाटमा छोडेको सल घाँटीमा बेरेर अभय लमतन्न झुण्डिएका थिए, सिलिङ फ्यानको हुकको सहारामा ।

यस्तो भएपछि कमला चिच्याइन् । होटलका स्टाफ र वरिपरि कोठामा बसेका मान्छेहरु भेला भए । प्राण गइसकेको छैन भन्ठानेर हत्तपत्त पासो काटिदिए । तर, अभयले अघि नै प्राण त्यागिसकेका रहेछन् । यसपछि होटलले प्रहरीलाई खबर ग¥यो । प्रहरी पुग्दा कमला मृतकसँगै थिइन् । प्रहरीले सोध्यो, ‘तपाईं किन यहाँ ?’ उनले भनिन्, ‘हामीसँगै होटलमा आएका हौँ । मेरै सलको पासो लगाएर उसले यस्तो गरेको हो ।’ वरिपरिका मान्छेले जीवित रहेको र अस्पताल लगेर उपचार गर्ने मनशायले सल काटिदिएको बताएपछि प्रहरीले मुचुल्का गरेर अभयको शव परीक्षणका लागि शिक्षण अस्पताल पठायो । र, सँगै रहेकी कमला पुगिन् हिरासतमा ।
कमलाले बताएअनुसार, म्यानपावर एजेन्टको काम गर्ने क्रममा अभय चिनजान भएका हुन् । पति विदेशमा, १९ दिनअघि मात्र फर्किएका छन् । अहिले बुटवलमा छन् । काम विशेषले आफू काठमाडौं आएको र भाडा जोगाउनका लागि पति उतै बसेका हुन् । अभय अविवाहित थिए । उनीहरु बीच सहमतिमा सम्पर्क हुने गरेको उनले स्वीकारिन् । त्यसदिन अभयले आत्महत्या गर्ने कुनै संकेत नदिएको सुनाएकी छन् । अरु दिनजस्तै खानपिन र सहवासपछि सामान्य अवस्थामै त्यस्तो घटना भएको भनिन् ।

केटाले केटीको सलको पासो लगाएर आत्महत्या गरेको र आत्महत्या गरेको समय ती महिला साथमै रहेको कारण अभयको परिवारले कमलाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी महलमा मुद्दा दर्ताका लागि जाहेरी तयार पारेको छ । तर, प्रहरीले दर्ता लिएको छैन । कर्तव्य ज्यानमा मुद्दा चल्नका निम्ति ज्यान मार्ने कसुर गरेको प्रमाण नपुगेको कारण मुद्दा दर्ता नभएको हो । प्रकृति मुचुल्कामा घाँटीमा पासो लगाएको देखिन्छ ।

मृतकको शरिरमा कुनै घाउ–चोट छैन । तर, मृतकको परिवारका अनुसार पाखुरामा कसैले टोकेको डाम छ । कमलाले यौनसम्पर्कमा इमोशनमा आएर त्यसो गरेको भनेकी छन् । प्रहरीले अहिलेसम्म कमलालाई सार्वजनिक मुद्दामा म्याद थपेर हिरासतमै राखेको छ । इन्स्पेक्टर गम्भीरजंग थापाका अनुसार, पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । त्यसपछिमात्र प्रहरीले यकिनका साथ अभयको स्वाभाविक आत्महत्या वा नियोजित हत्या भन्ने ठहर गर्न सक्छ । प्रारम्भिक अनुसन्धानमा कर्तव्य नदेखिने उनले बताए ।
 

टिप्पणीहरू