पाकिस्तानद्वारा नेपाललाई स्वास्थ्य उपकरण प्रदान

पाकिस्तानद्वारा नेपाललाई स्वास्थ्य उपकरण प्रदान

पाकिस्तान सरकारले नेपाललाई कोरोना संक्रमितको उपचारमा प्रयोग हुने उपकरणहरु प्रदान गरेको छ । नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत अदनान जावेद खानले हिजो ती उपकरण काठमाडौंमा हस्तान्तरण गर्नुभएको हो ।

उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई ३० वटा भेन्टिलेटर र ३० थान सीपीएपी अर्थात् स्वासप्रश्वास सहज गराउने कार्यमा प्रयोग हुने उपकरण हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ ।

झण्डै १ करोड ९० लाख रुपैयाँ मूल्यका ती चिकित्सा उपकरण पाकिस्तानको कोभिड १९ आपतकालीन सहायता कार्यक्रमको एक हिस्सा रहेको काठमाडौंस्थित पाकिस्तान दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । उसले भनेको छ, ‘यो सार्क सदस्य राष्ट्रहरुसँग मिलेर कोभिडविरुद्ध लड्ने एक प्रतिबद्धता समेत हो ।’

यसअघि पनि आपतकालीन सहायता कार्यक्रमअन्तर्गत पाकिस्तानले करिब ५ अर्ब नेपाली रुपैयाँ नगद सहयोग गरेको थियो ।

टिप्पणीहरू