डुप्लिकेट नयाँ शक्ति

बजारमा साबुन, चप्पल, खैनी, डिटर्जेन्ट, टुथपेस्ट आदि आदि जस्तो वस्तु डुप्लिकेट आएको त हामीले देखेकै भयो । तर अहिले राजनीतिक पार्टीहरू पनि डुप्लिकेट आउन थालेछन् । हालै बजारमा नयाँ शक्ति पार्टीको डुप्लिकेट देखा परेको छ । चुनाव भनेको पार्टीहरूका लागि हाट बजार जस्तै हो । हाट बजारमा जे पनि बिक्छ । यस्तै हाट बजारको मौका छोपेर डुप्लिकेट नयाँ शक्ति बजारमा आएको हुनुपर्छ । (त्यसो त अहिले बजारमा जो ओरिजिनल पार्टीहरू छन् ती पनि कुनै डुप्लिकेट भन्दा कम छैनन् । त्यसैले बजारमा देखा परिरहेका उस्तै उस्तै खाले पार्टीहरूमा कुन डुप्लिकेट हो, कुन ओरिजिनल त्यो पत्ता लगाउनै गा¥हो छ ।)

हाल बजारमा जो दुइटा नयाँ पार्टी आएका छन्, ती पनि यति दुरुस्त छन् कि ओरिजिनल र डुप्लिकेट पत्ता लगाउनै गा¥हो । एउटाको अध्यक्ष डा. बाबुराम भट्टराई । अर्कोको अध्यक्ष निर्मल भट्टराई । डा. भट्टराईवाला नयाँ शक्तिको चुनाव चिन्ह दायाँ आँखा, सादा भट्टराईवाला नयाँ शक्तिको चुनाव चिन्ह बायाँ आँखा । आँखा दुइटा हुन्छ । अतः पार्टी पनि दुइटै । 

फलतः अहिले नेपाली राजनीतिमा दुइटा नयाँ शक्ति अस्तित्वमा आएको छ । एउटा पुरानो नयाँ शक्ति । अर्को ‘नयाँ’ नयाँ शक्ति । यसलाई दुर्भाग्य नै भन्नुपर्ला कि डा. बाबुरामको नयाँ शक्ति एउटा माघ नकाट्दै ‘पुरानो’ भइदियो । यी दुई नयाँ शक्तिको पहिचान गर्दा अब यसरी नै भन्नुपर्छ होला (एउटा पुरानो नयाँ शक्ति, अर्को नयाँ नयाँ शक्ति ! अब हेरौँ, आउँदो चुनावमा नयाँ नयाँ शक्ति र पुरानो नयाँ शक्ति बीच कस्तो भिडन्त हुन्छ होला ! 

टिप्पणीहरू