​देशको दुःख कसले देख्ने !

के नेपालमा चुनाव लागेकै हो ? यसको सही जवाफ दिन सक्ने अवस्थामा कोही छैनन्, शायद प्रधानमन्त्री पुष्पकमल दाहाल पनि । अब निर्वाचनको घोषित तिथि आइपुग्न धेरै छैन । तर इमान्दारितापूर्वक त्यसको तयारीमा सरकार नै लागेको देखिँदैन । त्यसबाहेक राजनीतिक दलहरुमा त झन कुनै हतारो या चटारो नै पाइन्न । निर्वाचन आयोग भने धमाधम मतपत्र छापेको छाप्यै छ ।

नबाट नपुग मतपेटिका खरिद गरिसकियो । लाग्छ, बेहुलाको कुनै अत्तोपत्तो छैन, जन्तिचाहिँ तयार भैसके । शेरबहादुर देउवाले चुनाव हुन नसक्ने कुनै कारण नै नदेख्दा कसै कसैले कसरी वैशाख ३१ मै स्थानीय तहको निर्वाचन सम्पन्न हुनबाट रोक्ने भन्ने उपायको खोजी गर्दैरहेको स्पष्ट बुझ्न सकिन्छ । चुनाव गराऊँ आफैं हार्ने चुनाव किन गराउनु ! नगराऊँ के भनेर आफूलाई नैतिक संकट नपारी वातावरण बिथोल्ने ! सबैले महसुस गरेका छन्, सरकारलाई धेरै सकस परेको छ । उता प्रमुख प्रतिपक्षी एमालेलाई पनि सबै कुरा छ्याङ्ग भइसकेको देखिँदैन । अरुभन्दा अलिक वस्तुपरक भएर तथ्यांकको विश्लेषण गर्ने र त्यही अनुरुप पाइला चाल्ने एमालेले बदलिएको राजनीतिक विभाजन (गाउँ, नगर, उपमहानगर) मा आफ्नो मत सर्वेक्षण पूरा गरिसके जस्तो लाग्दैन । त्यसमाथि पछिल्लो समय आफूलाई स्थापित गर्न अधिक प्रयोग गरिएको राष्ट्रवादको नाराले वास्तवमा कति लाभ पु¥याएको छ सो को सही आँकलनसमेत गर्न बाँकी नै छ । 

उता, असन्तुष्ट मधेशी दलहरुको आफ्नै समस्या छ । चुनावमा नजाऊँ यही एउटा अवसर हो आफ्नो असली हैसियत मापन गर्ने । चुनावलाई यही अवस्थामा स्वीकार गर्दा यत्तीका दिनसम्मको संघर्ष र मधेशी जनताको बलिदानबाट मधेशले के पायो भन्ने प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । त्यसबाहेक जनता सक्रिय भएर दुई दशकपछि प्राप्त मौकालाई सदुपयोग गरौं भन्नेतर्फ लागे भने गर्ने के ? मधेशी दलहरु वास्तवमै अप्ठ्यारोमा छन् । त्यसमाथि मोर्चाको समेत केन्द्रबिन्दुमा रहेका उपेन्द्र यादवको पछिल्ला गतिविधिलाई हेर्दा त्यहीं पनि एकले अर्कोलाई विश्वास गरेर यसै हुन्छ भनी ढुक्क हुनसक्ने अवस्था छैन । यस्तो राजनीतिक वातावरण, सबैका आ–आफ्ना स्वार्थ र दाउपेच ।

मुलुकभन्दा दल र व्यक्तिगत पद, प्रतिष्ठालाई माथि राखेर हेर्ने सोच, प्रवृत्ति, चिन्तनकाबीच ०७४ माघ ७ भित्र ३ प्रकारका चुनाव कसरी होला भन्ने चिन्ता आम सर्वसाधारणमा व्याप्त छ । यही काम समयमै फत्ते गर्छु भन्दै सरकाको नेतृत्वमा पुगेको दलले कसरी हुन्छ मधेशीको अत्तो थापिरहनु, अर्को ठूलो दलचाहिँ प्राविधिक रुपमा नै भए पनि स्थानीय तहको चुनाव सकियोस् र सरकारको नेतृत्व गर्ने पालो आफूमा सरोस् मात्र भन्ने ध्याउन्नमा रहनु । यसरी सबैले आफ्नो मात्र बारेमा सोच्ने, देशवासीको भावनातिर थोरै पनि ध्यान नदिने हो भने अब कसले लिने यो देशको चिन्ता ? हाम्रो देशमा कसको नेतृत्वमा सरकार बनाउने, कसलाई कति दिन सत्तामा टिकाउने भने कुराको निर्धारण गर्नुमा उनीहरुको सक्रियता मात्र दोषी छ या हामी नै वास्तवमै बुद्धु हौं, हरिभक्त कटुवालले भने झैं । कोही त देखियोस् यो देशको चिन्ता गर्ने ! नेपालीकै माया पाएर नेपालमा शासन गर्छु भन्ने ! नत्र कसरी हुन्छ चुनाव ? निर्वाचन केका लागि ? 

टिप्पणीहरू