एसपी सोमेन्द्रको व्यवहारले हेटौंडाका जनप्रतिनिधि क्षुब्ध « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

एसपी सोमेन्द्रको व्यवहारले हेटौंडाका जनप्रतिनिधि क्षुब्ध

प्रकाशित मिति :  २९ श्रावण २०७८, शुक्रबार १५:००


मकवानपुरमा कार्यरत एसपी सोमेन्द्रसिंह राठौर नेपाल प्रहरीमा अपराध अनुसन्धानमा अब्बल मानिन्छन् । तर सरुवा भएर मकवानपुर आएलगत्तै एकपछि अर्को विवादित कार्यमा मुछिएको कारण प्रहरीप्रतिको जनताको विश्वास समेत गुम्दै गएको बताउन थालिएको छ । एसपी सोमेन्द्र जोडिएका अनेकौं घटनाले हेटौंडा र समग्र मकवानपुरका सर्वसाधारण आजित भएको चर्चा हुन थालेको छ ।

राठौरले मकवानपुरमा निषेधाज्ञा कडा बनाउने नाममा ‘अलि बढी गरेको’ स्थानीयले आरोप लगाएका छन् । पछिल्ला दिनमा राठौरसँग जनप्रतिनिधिहरु समेत चिढिएका छन् । हेटौंडा उपमहानगरपालिका–५ का वडाध्यक्ष राजेश बानियाँले एसपी राठौरले बुधबार जिल्ला प्रहरी कार्यालयमा मुखमा आए जति छाडा शब्दले गाली गरेपछि राठौरको चर्को आलोचना भएको हो ।

बानियाँले आफूमाथि भएको दुव्र्यवहार सामाजिक सञ्जालमा समेत लेखेका छन् । प्रहरीले जनता र विशेषगरी व्यापारी र व्यवसायीलाई दुःख दिन थालेको गुनासो आएपछि वडाअध्यक्ष बानियाँ सहजीकरणका लागि प्रहरी कार्यालय जाँदा राठौरले दुव्र्यवहार गरेको आरोप छ ।

बुधबार साँझ केही व्यवसायीलाई निषेधाज्ञाको समयमा व्यवसाय खोलेको भन्दै प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा लगेको थियो । व्यवसायीलाई जबर्जस्ती र धरपकड गरी प्रहरीले नियन्त्रणमा लिएपछि डिएसपीसँग कुरा गरिरहेका बेला एसपी राठौरले आफूमाथि अभद्र व्यवहार गरेको बानियाँले बताएका छन् ।

‘म डिएसपी साहेबसँग कुराकानी गर्दै थिएँ, एक्कासी उहाँ आएर, भोटको राजनीति गर्ने ? मेरो सिधै प्रधानमन्त्रीसम्म पहुँच छ भन्दै अभद्र व्यवहार गर्नुभो । गृहमन्त्रीको कुरा निकालेर आफू सुशील कोइराला प्रधानमन्त्री हुँदा पिएसओ बसेको भन्दै पहुँचको दम्भ प्रस्तुत गर्नुभयो,’ बानियाँले भने ।

रठौरले गृहमन्त्रीले पनि आफूलाई केही गर्न र भन्न नसक्ने बताउँदै बानियाँप्रति एकोहोरो गाली गरेको बताइएको छ । बानियाँसँगै प्रहरी कार्यालय गएका एक जनाले त्यतिबेला एसपीको व्यवहार अनौठो देखिएको बताए । एकथरी व्यापारीसँगको उठबस र हिमचिमले अरुलाई समेत शंका गर्ने ठाउँ मिलेको उनीहरुको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !