भारतीय दूतावासको सुरक्षा हेरफेर

भारतीय दूतावासको सुरक्षा हेरफेर

नेपालको राजनीतिक उतार–चढावसँग विशेष अर्थ राख्ने भारतीय कूटनीतिज्ञहरूको आवतजावत बाक्लिएको छ ।

भर्खरै सार्कसँग सम्बन्धित दुई अधिकारी दिल्ली पुगेका छन् । सन् २०२० मार्चदेखि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को महासचिव रहँदै आएका श्रीलंकाका इसाला रुवान विराकुन र भारतका तर्फबाट नेपालको लागि सार्क निर्देशक तोकिएका चञ्चलचन्द सरकार सोमबार अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् । उनीहरू गौचरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर इण्डियाको उडान नं. २१६ मा अपराह्न ४ः२५ बजे दिल्लीका लागि उडेका हुन् ।

त्यही उडानबाट लैनचौरस्थित भारतीय दूतावासमा सहचारी रहेका बेदप्रकाश पनि दिल्ली गएका छन् । त्यस्तै, भारतीय दूतावासको सुरक्षाका लागि खटिने सेन्ट्रल इण्डष्ट्रियल सेक्युरिटी फोर्सका इन्स्पेक्टर सञ्जयकुमारको नेतृत्वमा १२ जनाको टोलीले पनि त्यही उडानबाट काठमाडौं छाडेको छ ।

त्यसअघि साउन ८ गते सञ्जयकुमारको टोलीलाई बदली गर्न इन्स्पेक्टर एम. दासको टोली काठमाडौं उत्रिएको थियो । अपराह्न २ः४० मा काठमाडौंमा अवतरण भएको १२ सदस्यीय उक्त टोलीले १६ दिन लगाएर सञ्जयकुमारको टोलीसँग बरबुझारथ गरेको थियो । स्मरणीय छ, नेपालमा अमेरिका, चीन, भारतलगायतका कूटनीतिक नियोगले आ–आफ्नै देशका सुरक्षाकर्मीलाई विभिन्न नाममा भित्र्याउने गरेका छन् ।

सार्क महासचिव इसाला कुन प्रयोजनका लागि दिल्ली उडेका हुन् भन्ने खुल्न सकेको छैन । उनी केही समय श्रीलंकाको पर्यटन विकास र विदेश मन्त्रालयको स्थायी सचिव भइसकेका व्यक्ति हुन् । उनले श्रीलंकाको तर्फबाट भारतका लागि उच्चायुक्त र नर्वेका लागि राजदूतको जिम्मेवारी सम्हालिसकेका छन् ।

यस्तै, नेपालका लागि ब्राजिलकी राजदूत मारिया टेरेसा पेसोआ पनि आफ्नो कार्यकाल सिध्याएर केही दिनमा स्वदेश फर्किने भएकी छन् । फ्रान्सका राजदूत फ्रान्कोइज जेभियर लेगर र इजिप्टका राजदूत पनि कार्यकाल सिध्याएर स्वदेश फर्किने तयारीमा छन् । इजरायलका राजदूत भने स्वदेश गएका छन् ।

उता, हालै परराष्ट्र सेवाअन्तर्गत सहसचिवमा बढुवा पाएका पाँचमध्ये तीनको प्रक्रिया अगाडि बढेको छ । बेल्जियमको डिसिएमबाट फर्किएका सुधीर भट्टराई, निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका निजी सचिव तेजबहादुर क्षेत्री र दक्षिण अफ्रिकाको डिसिएमबाट फर्किएका घनश्याम लम्सालले लोकसेवाबाट चिठी ल्याएका छन् ।

उनीहरूको पदस्थापन प्रक्रियापूर्व सामान्य प्रशासनको सहमति चाहिने कारण अहिले उक्त पत्र सामान्यमा पुगेर अस्ति मन्त्रिपरिषद्को निर्णयबाट बढुवा कन्फर्म भएको छ । त्यही लटमा बढुवा भएका बाँकी दुई जनाको हकमा भने उजुरी परेका कारण हाल प्रक्रिया रोकिएको छ ।

रोकिनेमा एक वर्षअघि बंगलादेशको डिसिएमबाट फर्किएका धनबहादुर ओली र टोकियोबाट फर्किएका कृष्णचन्द्र अर्याल हुन् । तीमध्ये कृष्णचन्द्रको सट्टा वरियताका हिसाबले आफू बढुवा हुनुपर्ने दावी गर्दै साउदीबाट फ्रान्स गएका खड्ग दाहालले लोकसेवामा उजुर हालेका थिए ।

सहसचिवमा बढुवा भएर विभिन्न मिशनबाट फर्किएका हाकिमहरू अझै महाशाखाविहीन छन् । बेइजिङबाट आएका सहसचिव सुशील लम्सालहरूले महाशाखा पाएका छैनन् । युएईबाट बीचैमा फर्किएकी रिता धितालको पनि जिम्मेवारी तोकिएको छैन ।

टिप्पणीहरू