शक्तिको पछि नलाग्दा सेवा–सुविधा सोत्तर

शक्तिको पछि नलाग्दा सेवा–सुविधा सोत्तर

कुनै आश्चर्यजनक घटनाका कारण एमालेको एकता भएछ नै भने पनि माधव नेपालहरूलाई सुखसँग बस्न नदिने केपी ओलीको भित्री चहनाबारे राजनीतिक बृत्तमा चर्चा चल्न थालेको छ ।

ओलीको रणनीति कस्तो भने, माधवलाई आफूले सरापिरहने र अर्काथरिलाई फकाउनका लागि पठाइरहने † यसप्रकार जसरी पनि माधवलाई एमालेमा फिर्ता ल्याउने र आइसकेपछि फेरि पेलपाल गरेर बाहिरै राख्ने ! जसरी ०५८ मा शेरबहादुर देउवाले नेपाली कांग्रेस फुटाउँदा ०६४ को निर्वाचनपूर्व गिरिजाप्रसाद कोइरालाले एकता गराउनुभयो, अहिले त्यही शैलीमा एमाले एक बनाउने मनशाय छ । त्यो भनेको, मुख्य नेतालाई वरिष्ठ नेता भनेर मानसम्मानका साथ राखेजस्तो गर्ने, बाँकीलाई ‘बसे बस, नबसे जेसुकै गर’ शैलीको व्यवहार गर्ने ।

कांग्रेसको एकतामा ६० प्रतिशत गिरिजा र ४० प्रतिशत देउवाको भाग तोकियो । तर, दिने बेलामा देउवाका मान्छेले गिरिजासँग ननिहुरिएसम्म केही पाएनन् । जस्तैः प्रकाशमान सिंह, मिनेन्द्र रिजालहरूले ‘देउवा छाड्यौँ’ नभनेसम्म गिरिजाले अगाडि पर्न पनि दिनुभएन । तर, देउवा समूहबाट टसमस नभएका पूर्णबहादुर खड्काहरू अहिलेसम्म सत्तामा पछाडि पारिएकै छन् ।

भनिन्छ, ओलीको चाहना अझै पनि आफू प्रधानमन्त्री बन्नेमै केन्द्रित हो । त्यसका लागि शुरुमा माधवहरूलाई जे–जसो भनेर भए पनि एमालेको व्यानरभित्र ल्याइहाल्ने । त्यसपछि देउवासँग प्रचण्ड र उपेन्द्र यादवहरूलाई अलग्याउने । त्यसका निम्ति अबको केही समयमा ओलीले देउवासँग कुराकानी गर्न थाल्नुभयो भने अचम्म नमान्नुपर्ने बताउँछन्, ओली कोटरीका एमालेहरू ।

तर, यसका लागि शुरुमा माधव नेपालहरूसँग कुरा मिलेको हुनुपर्छ । त्यसपछि देउवा सरकारलाई जोगाउन सहयोग गर्ने भन्दै आफ्ना मान्छेलाई मन्त्री बनाउने र क्रमशः देउवालाई विश्वासको मत नपुग्ने बनाएर आफू प्रधानमन्त्री बन्ने ।

पार्टी अलग गरेर जाने अवस्थामा माधव पक्षको रणनीतिचाहिँ फरक छ । अघिपछि अलग–अलग भए पनि प्रचण्ड, उपेन्द्र यादव, मोहन बैद्य, बाबुराम भट्टराई, विप्लव, जनमोर्चासहितको चुनावी मोर्चा बनाएर जाने । यदि त्यसो गरियो भने संसदमा यो गठबन्धन कांग्रेसपछिको दोस्रो हुन्छ । अनि, केपी ओली त्यो हारपछि आफैँ एकता गरौँ भन्नेमा पुग्नु हुन्छ ।

तर, माधवसँग प्रचण्ड र उपेन्द्र यादवका कतिपय कुरा मिल्दैनन् । जस्तो प्रचण्ड, उपेन्द्रहरू कार्यकारी राष्ट्रपति भन्नेमा छन् । नेपालको संघीय प्रणाली नेपाली जनतालाई भन्दा भारत र कांग्रेसलाई चाहिएको हो । सेरेमोनियल राष्ट्रपति बनाउने भनेर भारतीयहरूले रामराजाप्रसाद सिंहलाई बनाउन खोजेकै थिए । भारतीय दबाबका बाबजुद पनि संविधान जारी गर्न तत्कालिन राष्ट्रपति डा.रामवरण यादव बाध्य हुनु भएको हो ।

त्यसबाहेक संविधानसभाकालमा भारतका सबै कुरा चले । राष्ट्रपति यादवको इच्छा थिएन, तर अख्तियार प्रमुखमा नियुक्त लोकमानलाई साँझ नियुक्ति, बिहानै शपथ खुवाएर टंगाल पठाइयो । यो भारतीय चाहनाअनुसार भएको थियो । त्यसैले अहिले पनि भारतलाई संसदबाट चुनिने प्रधानमन्त्री चाहिएको हो, कम्युनिष्टहरूलाई होइन ।

माधवतिरको मत

सोमबार केपीले पार्टीलाई पूरै कब्जा गर्दै एकताका सबै प्रयासलाई एकमुष्ट अन्त्य गरिदिनु भएपछि माधवपक्षीय नेताहरू अब पार नलाग्ने निश्कर्षमा पुगेका छन् । एकजना नेताको भनाइ छ, ‘उहाँले ०७७ फागुन २८ मै आफ्नो गुटको मात्रै बैठक बसेर निर्णय गरेदेखि नै माधवपक्षलाई पन्छाउन खोजेको हो । अहिले जे गर्नुभयो, फागुन २८ कै कामलाई निर्णायक रुपमा निरन्तरता दिनुभयो ।’

यति हुँदा पनि कतिपय माधवपक्षीय नेतामा विभाजनको डर देखिन्छ । चुनावहरू नजिकै छन् । उनीहरू भन्छन्, ‘नयाँ पार्टी बनाएर त्यसलाई जनतासम्म पु¥याउन लाग्ने समय पुग्दैन । त्यसबीचमा पार्टी र चुनाव चिह्नको प्रचारका लागि खर्चिनुपर्ने समय पनि पुग्दैन । निष्ठाका नाममा कतिदिन जोगी भएर बस्ने ?’

हुन पनि ०३९ को माले विवादमा सीपी मैनालीलाई साथ दिँदा टंक कार्की र ठाकुरचन्द्र श्रेष्ठको राजनीति कहाँबाट कहाँ पुग्यो ? टंक मालेमा रहन सक्नुभएन । ०४८ मा एमाले बन्यो, त्यहाँ पनि अटाउनु भएन । राजनीतिका सम्पूर्ण अवसर र सम्भावनाहरू समाप्त भएपछि देवेन्द्रराज पाण्डेहरूले बनाएको सामाजिक प्रजातान्त्रिक पार्टीमा काम गर्नुप¥यो ।

०५२ मा एमालेमा फर्किएर काम गर्दागर्दै ०५४ मा पार्टी फेरि फुट्यो । फेरि वामदेव–सीपीतिर लाग्दा अर्को क्षति भयो । बल्ल–बल्ल माधव नेपाल प्रधानमन्त्री भएपछि चीनका लागि राजदूत बनेर ५० वर्षको राजनीतिक जीवनमा पहिलोचोटि कुनै लाभको पद हासिल भयो । ०३६ सालमा टंक अखिल (पाँचौँ) को अध्यक्ष हुँदाका महासचिव ठाकुरचन्द्र श्रेष्ठले सीपीसँगै लाग्नाले राजनीतिक जीवनबाट समाप्त हुनुप¥यो ।

जबकि, सधैँ बहुमतको पछि लागेका ईश्वर पोखरेलहरू निरन्तर पदासीन छन् । बहुमतमा लागेरै गौरी प्रधानहरू अखिलको अध्यक्ष भए । डा.अर्जुन कार्की, निरु पाल, कर्ण थापा, डा.युवराज खतिवडाहरूले बहुमतको फेरो समाएर अनेकन अवसरको चास्नीमा डुब्न पाए । अहिले माधव समूहमा लागेका र विभाजनसँग डराएका नेताहरूलाई यही मनोविज्ञानले त्रस्त बनाएको बताइन्छ ।

महासचिवको मन

अहिले भीम रावल र सुरेन्द्र पाण्डेहरू माधवका कदमको प्रतिकूल भूमिकामा हुनुका पछाडि बजारमा चलेका भन्दा फरक कारण रहेको चर्चा छ । माधवले सुरेन्द्रलाई महासचिवको भूमिका दिनुहुने पक्कापक्की भएपछि भाँजो हाल्ने काम भयो । नवौँ महाधिवेशनमा ६ भोटले हारेको महासचिवका लागि यत्रो कष्ट व्यहोर्नु परेपछि सुरेन्द्र माधवसँगै असन्तुष्ट हुनुभयो । सुरेन्द्रले लोभ गरेको भए उहिल्यै केपी ओलीको क्याबिनेटमा हुनुहुने थियो ।

टिप्पणीहरू