गोला तान्ने, कति झन्झट मान्ने

गोला तान्ने, कति झन्झट मान्ने

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित अध्ययन समितिले ल्याएको न्यायालय सुधारसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा आउँदा अदालत झन् भद्रगोलमा फस्ने चर्चा हुन थालेको छ । प्रतिवेदनको महत्वपूर्ण अंगका रूपमा लिइएको गोला प्रथाबाट मुद्धाको पेशी तोक्ने व्यवस्था जस्ताको त्यस्तै कार्यान्वयनमा आए अदालत कल्पनै नगरेको गञ्जागोलमा फस्ने सम्बद्ध स्रोतको दाबी छ ।

प्रधानन्यायाधीशको एकल तजबिजमा पेशी तोक्ने अहिलेको अभ्यासलाई रोक्न गोला प्रथा उपयुक्त विधि मानिए पनि त्यसको व्यावहारिक पाटो भने जटिल देखिएको छ । जानकार स्रोतले बताएअनुसार गोला तान्न मात्रै दुईदेखि तीन घण्टा लाग्छ, जसका कारण मुद्धाको सुनुवाई प्रक्रियामा प्रत्यक्ष असर पर्न जान्छ ।

अदालत बिहान १० बजेदेखि शुरु हुन्छ । सबै न्यायाधीश भेला भैसक्दा साढे १० बज्छ । गोला तानिसक्दा साढे १२ हुन्छ । कज लिष्ट बनाउन र मिसिल छुट्याउन कम्तीमा ३० मीनेट लाग्ने हुँदा इजलास नबस्दै साढे २ बजिसक्छ । अदालतको कार्य समय चार बजेसम्म मात्रै हो । दुई बजे इजलास बसेर चार बजेसम्म सुनुवाइ सक्न समय पर्याप्त हुँदैन । त्यसमा पनि ४५ मीनेट खाजा समय छुट्याउने हो भने डेढ घण्टा मात्र सुनुवाइको समय बाँकी रहन्छ ।

यस्तो व्यावहारिक कठिनाइ बुझ्दाबुझ्दै कार्की नेतृत्वको समितिले किन यस्तो सुझावसहितको प्रतिवेदन बुझायो होला ? यस्तो प्रतिवेदन आउनुमा सर्वोच्चभित्रको गुटवन्दी मुख्य कारक रहेको बताइन्छ । बताइएअनुसार सर्वोच्चमा अहिले प्रधानन्यायाधीशइतर ९ जना न्यायाधीशको छुट्टै समूह छ । प्रधानन्यायाधीश बन्ने लाइनबाटै बाहिरिएका र प्रधानन्यायाधीश राणासँग बिच्किएकाहरूको समूह प्रभावी हुँदा यस्तो प्रतिवेदन आएको दावी गरिएको छ ।

राणाले साउन १४ गते उक्त प्रतिवेदन बुझिसक्नु भएको छ । चित्त नबुझे पनि प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी छ । ’म आफैँ सधैँ प्रधानन्यायाधीश हुने होइन, सबैलाई चित्त बुझेको छ भने मेरो पनि सहमति छ’ राणाको भनाइ उधृत गर्दै सर्वोच्च स्रोतले भन्यो । राणाले प्रतिवेदनको स्वामित्व ग्रहण गरिसकेकाले मंसिर १ देखि देशभरका अदालतमा गोला प्रथाबाट पेशी तोकिने निश्चित भएको बताइन्छ । यसबीच, न्यायाधीशबीचको असमझदारीकै कारण न्यायाधीश सरुवा, बढुवाका काम प्रभावित भएका छन् ।

त्यसो त, प्रतिवेदनमा राम्रा पक्ष पनि समेटिएका छन् । खासगरी न्यायालयमा हुने विकृति, विसंगति, अनियमितता र भ्रष्टाचार रोक्न समितिले महत्वपूर्ण उपायहरू पनि सुझाएको छ । अदालतमा हुने बेथिति तथा बिचौलियाबाट हुनसक्ने क्रियाकलाप रोक्न कानुनी र संरचनागत सुधारका उपाय समितिले सुझाएको छ । पेशी तोक्दादेखि नै बिचौलिया हावी हुने निश्कर्षसहित गोलाप्रथाको पद्धति अघि सारिए पनि व्यावहारिक दृष्टिले भने उक्त विधि कामकाजी नदेखिएको हो ।

टिप्पणीहरू