चुनावी चक्कर, नमिले ३६ हजार ठक्कर

चुनावी चक्कर, नमिले ३६ हजार ठक्कर

सरकार बनेको एक महिना हुँदा पनि विस्तार हुन नसकेको मन्त्रिपरिषद् एकातिर, अवधि सकिन लागेका स्थानीयदेखि राष्ट्रिय स्तरसम्मको निर्वाचन गराउनुपर्ने चिन्ता र चटारो अर्कातिर । तर, सरकारसँग निर्वाचन आयोगको कुरा सुन्ने फुर्सद छैन । उता, नेपाली कांग्रेसको महाधिवेशन भदौबाट सार्नुपर्ने बाध्यताका बीच अघिल्लो निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा (एमाले) क्षतविक्षत स्थितिमा छ । चुनाव आइसक्यो, पार्टी मिल्ने छेकछन्द छैन ।

गत स्थानीय तहको चुनाव सम्पन्न भएको झण्डै ५१ महिनापछि देशमा अर्को चुनावी चटारो शुरु हुँदैछ । निर्वाचन मिति तय गर्ने, त्यसका निम्ति आर्थिक स्रोत जुटाइदिन र सुरक्षा दायित्व सरकारको हुन्छ । मिति तोक्नलाई त एउटा मन्त्रिपरिषद् बैठक बसे पुग्ला । तर, निर्वाचनका लागि आवश्यक स्थिति मिलाउने, बजेट विनियोजन र कानुन निर्माणजस्ता काम गर्न त्यति सजिलो छैन ।

सरकारी रकमको शोधान्तरका माध्यमबाट चुनाव खर्च त निस्किएला । तर, यो सरकारका आर्थिक प्राथमिकता के हुन् अहिलेसम्म स्पष्ट छैन । प्रश्न उठ्न थालेको छ, के देउवा सरकारले विभिन्न तहका निर्वाचनहरू निर्धारित समयमै गराउन सक्ला ? निर्वाचन आयोगका पदाधिकारीहरूले यथास्थितिबारे सरकारलाई ब्रिफिङ गर्न चाहेको १५ दिन भइसक्दा पनि कुरा सुन्ने फुर्सदमा प्रधानमन्त्री स्वयं देखिनुभएको छैन ।

राष्ट्रियसभामा तीन, चार र ६ वर्षे कार्यकालमध्ये चार वर्षे कार्यकाल सिध्याएर १८ जना सांसदको पद फागुन २१ गते सकिँदैछ । ऐनअनुसार, पदहरू रिक्त हुनु ३५ दिनअघि चुनाव गराउनुपर्छ । चुनाव हुनु दुई महिनाअघि त्यसको सूचना जारी हुनुपर्छ । त्यसैले आउने मंसिरमा राष्ट्रियसभा निर्वाचनको सूचना जारी हुन्छ । र, एमाले त्यही महिना महाधिवेशनको तयारीमा छ ।

यसबीच माओवादी र एमालेकै पनि आन्तरिक विवादका कारण बागमती र लुम्बिनीको नतिजा संस्थापन पक्षको निम्ति प्रतिकूल आइसकेको स्थिति छ । यदि साँच्चै अब पनि कम्युनिष्ट पार्टीहरू मिल्न सकेनन् भने पुरानो विजयी लहर कायम रहला ?

यसरी राष्ट्रियसभा निर्वाचन सिध्याएलगत्तै स्थानीय निर्वाचनको रन्को शुरु हुँदैछ । त्यो कामचाहिँ फागुन अन्तिम सातादेखि चैतको पहिलो साताभित्र शुरु गरिसक्नुपर्ने चटारोमा निर्वाचन आयोग पुगेको छ । उसको अनुमानअनुसार ती निर्वाचन दुई चरणमा हुन्छन् ।

अघिल्लो चुनाव भएको मितिले जनप्रतिनिधिहरूको म्याद सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्छ । ०७४ वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनको म्याद फागुन ३१ गते दुई महिना बाँकी रहन्छ । यो भनेको देशका विभिन्न प्रदेशबाट ३६ हजार स्थानीय जनप्रतिनिधि चुनिने चरण हो ।

त्यस्तै, केही उपनिर्वाचनको तयारीमा पनि निर्वाचन आयोग लागेको छ । अहिले संघीय संसदमा ४, प्रदेशसभामा एमालेसहित १२ सांसद पद रिक्त छन् । बागमती प्रदेशमा सरकारले बजेट ल्याएपछि त्यसलाई असफल बनाउन माधवपक्षीय सांसद लाग्ने सम्भावना छ । र, उनीहरूले पार्टीको ह्वीप उल्लंघन गर्नासाथ ती पदहरू पनि रिक्त हुने खतरा छ । यसो भयो भने रिक्त भई उपचुनाव गराउनुपर्ने क्षेत्रहरू थपिनेछ । त्यसो त स्थानीय तहमा पनि थुप्रै पद रिक्त छन् । तर, अर्को निर्वाचन हुनुभन्दा एक वर्षअगाडि उपनिर्वाचन गर्ने व्यवस्था छैन ।

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकाल २०७९ सालको वैशाख ३१ मा पूरा हुन लागेको हो । यसबीच निर्वाचन केन्द्रित गतिविधि अघि बढाएको आयोगले स्थानीय तहका सामाजिक तथा शिक्षा शाखाअन्तर्गत एक÷एक जनालाई निर्वाचन सम्पर्क व्यक्ति तोकेर तालिम दिन थालेको छ । दुई दिनअघि ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, सम्पर्क व्यक्ति र जिल्ला समन्वय प्रमुखसंग आयोगका पदाधिकारीहरूले भर्चुअल अभिमुखीकरण कार्यक्रम गरेका थिए ।

स्थानीय तह मात्र होइन, संघ र प्रदेशमा हुने उपचुनाव पनि एकैसाथ गर्न आयोगको सुझाव छ । संघमा चार वटा निर्वाचन क्षेत्र रिक्त छन् । माओवादी केन्द्रबाट निर्वाचित भएर एमालेमा प्रवेश गरी कारवाहीमा परेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रमा उपचुनाव गर्न आयोगले यसअघि पनि तयारी गरेको थियो ।

त्यस्तै, प्रदेशमा पनि १२ वटा निर्वाचन क्षेत्र खाली छ । लुम्बिनीका ५, कर्णालीका ४ र २ नम्बर प्रदेशका ३ वटा निर्वाचन क्षेत्रमा उपचुनाव गर्नुपर्ने छ । पार्टीहरूले कारवाही गर्ने र अदालतमा मुद्धा पर्ने सिलसिला जारी रहेकाले प्रदेशको उपचुनावमा अन्योलता पैदा भएको आयोगको भनाइ छ । आयोगले कुनै पनि बेला उपचुनाव गराउन तम्तयार भएकाले सरकारको निर्णय कुरेर बसेको बताएको छ ।

एकातिर निर्वाचन गर्ने प्रतिवद्धता र व्यवस्थापनमा समस्या आइरहेको छ भने अर्कातिर राजनीतिक दलका झैझगडाहरू साम्य हुन सकेका छैनन् । वैधानिक रुपमा देशको सबभन्दा ठूलो दल एमालेको विवादलाई निर्वाचन आयोगले नै समयमा निरुपण गर्न सकेको छैन । यदि यही स्थितिमा निर्वाचन हुने हो भने एमालेले के गर्छ ? माधव समूह कुनखाले रणनीतिका साथ अगाडि जान्छ ? थुप्रै प्रश्न अनुत्तरित छन् ।

टिप्पणीहरू