गाउँपालिका अध्यक्षबारे नानाथरी आशंका « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

गाउँपालिका अध्यक्षबारे नानाथरी आशंका

प्रकाशित मिति :  २९ श्रावण २०७८, शुक्रबार ०९:३०


-उपेन्द्र सन्जेल

आँखै अगाडि श्रीमानले परस्त्री लिएर बसेपछि कुन चाहिँ महिलालाई पीडा नहोला ! अझ आफ्नो श्रीमानसँग बिबाह गर्न परस्त्रीले डिभोर्सका लागि दबाब दिँदा पीडित नारीको मन कति रोला ? त्यस्तै पीडामा छिन्, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–बिलन्दुकी ६० वर्षीया सत्यरुपा गुरुङ ।

गाउँपालिका अध्यक्षसमेत रहेका उनका श्रीमान नवराज केसीले अर्कैलाई अघोषित श्रीमतीका रुपमा घर भित्र्याएपछि सत्यकला पीडामा मात्रै छैनन्,बुढेसकालमा उनको बिचल्ली भएको बताउन थालिएको छ ।

गाउँपालिकाका अध्यक्ष केसी र एक चर्चित महिला अधिकारवादीबीच अहिले ‘लिभिङ टुगेदर’को सम्बन्ध रहेको बताइन्छ । विवाहको तयारीमा रहेको भनिएको उक्त जोडीले आफूलाई धम्क्याएर डिभोर्स मागिरहेको सत्यकला बताउँछिन् । आफूले डिभोर्स दिन अस्वीकार गरेपछि दुबैले धम्क्याउन थालेको उनको गुनासो छ । ‘श्रीमानले दुई करोड पैसा र डिभोर्स मागिरहेका छन्, उनी ठूली नेत्री रे,नवराजसँग छुटाइस् भने लास गायब गर्दिन्छु भनेकी छन्’,डराउँदै सत्यकलाले भनिन् ।

केसी र उनकी लिभिङ टुगेदर पार्टनरले पटक–पटक धम्क्याउन थालेपछि घटना सार्वजनिक गर्न बाध्य भएको सत्यकलाको भनाइ छ । उनका अनुसार घरको कुरा घरमै मिलाउन पनि खोजेकी हुन् । तर,धम्की अति भएपछि असह्य भएर जाहेरी बोकी प्रहरीसम्म पुगिन् । ‘घरको कुरा घरमै मिल्ला नि त भनेर सही बसेँ । तर उनकी चौथीलाई ल्याउन भनेर डिभोर्स मागेको माग्यै गर्न थालेपछि जे पर्ला पर्ला भनेर उजुरी दिएकी हुँ’, उनले भनिन् ।

‘यो उमेरमा यस्तो होला भन्ने सोचेकै थिइनँ,श्रीमानले मुखै खोलेर तँ बूढी भइस्, मैले उनीजस्तो राम्री पाएको छु, अब मलाई डिभोर्स दे,म उसलाई बिहा गर्छु भनेपछि पो थाहा पाएँ त !’, उनले भनिन्, ‘चुनावमा त्यत्रो दुःख गरेर जिताइयो,जित्नेबित्तिक्कै त उनीहरु पो सँगै बस्न थालिहाले ।’

श्रीमानबाट जानाजान पीडामा पारिएकी महिलालाई प्रहरीले पनि के टेर्थ्यो,त्यसैले प्रहरीले जाहेरी नै दर्ता गरेन । एउटा गाउँपालिकाको अध्यक्ष,अर्को समाजसेवी, असहाय महिलाको पक्षमा उभिन ठूलै हिम्मत चाहिन्थ्यो,त्यो आँट प्रहरीले पनि नगरेको स्रोतको दाबी छ । उनी भन्छिन्, ‘पुलिसले प्रमाण पुगेन भनेर जाहेरी लिनै मानेन । त्यसपछि भौँतारिँदै धेरै ठाउँमा पुगेँ ।’

न्याय दिलाउने प्रहरी नै डराएपछि सत्यकला काँग्रेस गुहार्दै पार्टी कार्यालय पुगिन् । तर,काँग्रेस नेताहरुले पनि उनको कुरा सुनेनन् । उल्टै उनको क्रियाशील सदस्यता नै नवीकरण नगरेर थप पीडा दिइयो । ‘सबैलाई भनेको हो,तर कसैले मेरो कुरा सुनेनन् । उनीहरु पावरमा छन् भन्छन्,मेरो कुरा कसले सुन्छ र ? काँग्रेस पार्टी कार्यालय पनि गएँ । जिल्लाका रामहरि खतिवडालाई पनि भनेको हो । कसैले वास्ता गरेन’, उनले भनिन् ।

प्रहरीले प्रमाण पुगेन भने पनि सत्यकलासँग श्रीमान नवराज केसी र उनकी लिभिङ महिलाबीच भएका अन्तरंग कुराकानी र फोटोहरुको चाँङ नै छ । कतिपय फोटो त हेर्नसमेत अप्ठेरो लाग्ने खालका छन् । दुबैले एक अर्कालाई श्रीमान–श्रीमती भनेर सम्बोधन समेत गरेको पाइएको छ । तिनै फोटो र कुराकानीको स्क्रिनसट्लाई प्रमाण मानेर उनले हिजो मात्रै हुलाकमार्फत जाहेरी पठाएकी छन् ।

केही कानून व्यवसायीले उनीसँग भएका प्रमाणका आधारमा मुद्दा चलाउन मिल्ने भनेपछि एउटा संस्थाको सहयोगमा सत्यकला अघि बढेकी हुन् । ‘मार्दिन्छु,लास गायब पार्दिन्छु भनेकी छ । ठीकै छ म मरे पनि मरुँला भनेर उजुरी हालेकी हुँ बाबु’,उनले भनिन् ।

सत्यकला पनि केसीकी तेस्री श्रीमती हुन् । उनीहरुको छोरी छिन् । छोरीको भविष्यबारे चिन्ता गर्नुपर्ने बेलामा श्रीमान चौथी च्यापेर हिँडेपछि सत्यकला न्याय खोज्न बाध्य भएकी हुन् ।

केसी र उनकी लिभिङ्ग टुगेदर महिलाको सम्बन्ध गत स्थानीय तहको चुनावदेखि नै शुरु भएको हो । त्यतिबेलै गाईंगुईं हल्ला चले पनि सत्यकलाले पत्याएकी थिइनन् । पछि श्रीमानले मुखै खोलेर भनेपछि उनी झसङ्ग भएकी भएको बताउँछिन् । ‘यो उमेरमा यस्तो होला भन्ने सोचेकै थिइनँ,श्रीमानले मुखै खोलेर तँ बूढी भइस्, मैले उनीजस्तो राम्री पाएको छु, अब मलाई डिभोर्स दे, म उसलाई बिहा गर्छु भनेपछि पो थाहा पाएँ त !’, उनले भनिन्, ‘चुनावमा त्यत्रो दुःख गरेर जिताइयो,जित्ने बित्तिक्कै त उनीहरु पो सँगै बस्न थालिहाले ।’

पछिल्लो समय भने आफ्नो नाममा रहेको घर बेचेर दुई करोड माग्न थालेपछि सत्यकला झन् तनावमा छिन् । उनका अनुसार माइतीले दिएको पैसाले किनेको काठमाडौँ महाँकालको घर बेच्न दबाब आएपछि उनी मुद्दामा जाने निष्कर्षमा पुगेकी हुन् ।

यता, गाउँपालिकाका अध्यक्ष केसीमाथि भने आर्थिक अनियमितताको आरोप पनि लाग्ने गरेको छ । केसीले चुनाव जितेपछि अस्वाभाविक सम्पत्ति आर्जन गरेको बताउनेहरु पनि छन् । उनले काठमाडौँमा ५ करोड रुपैयाँको घर किनिदिएको र ठाउँ ठाउँमा घडेरी जोडेको समेत बताइन्छ । जानकारहरुका अनुसार गाउँपालिकाको सहयोगमा कुनै संस्थाले बनाउन लागेको विद्यालयको ठेक्का समेत केसीले उनैलाई दिएका छन् ।

केसीद्वारा आरोप अस्वीकार

समाचार सार्वजनिक भएपछि जनआस्थाको सम्पर्कमा आएका गाउँपालिकाका अध्यक्ष केसीले भने श्रीमती सत्यरुपाले लगाएका आरोप निराधार र कपोलकल्पित रहेको बताए । आफूले श्रीमतीप्रतिको दायित्व र जिम्मेवारी पूरा गर्दागर्दै पनि नियोजित रुपमा आक्षेप लगाइएको भन्दै उनले आरोप अस्वीकार गरेका हुन् ।

‘मैले उनलाई दिनुपर्ने सबै दिएको छु, मैले घर बेचेर पैसा मागेको भन्ने कुरा पनि गलत हो । भएका सबै सम्पत्ति विश्वास गरेर मैले उनैको नाममा गरिदिएको हो । अहिले ममाथि यस्ता आरोप कसैको उक्साहटमा लगाएको देखिन्छ,’ आज दिउँसो जनआस्थाको कार्यालयमा आएर उनले भने, ‘मैले सत्यरुपामाथि अन्याय गरेको एउटा मात्र प्रमाण ल्याए जस्तोसुकै सजायँ भोग्न तयार छु ।’


प्रतिक्रिया दिनुहोस !