अमेरिकी महिलाले ढिलो बच्चा जन्माउन थाले,उच्चशिक्षाले प्रजनन क्षमता घटाउने

अमेरिकी महिलाले ढिलो बच्चा जन्माउन थाले,उच्चशिक्षाले प्रजनन क्षमता घटाउने

अमेरिकाका उच्चशिक्षित महिलाहरुले ३० वर्षको उमेर नपुग्दा र आफ्नो करियर नबन्दासम्म बच्चा जन्माउन छाडेका छन् । पछिल्लो दशकमा,अधिक महिलाले शिक्षा र आफ्नो करियरलाई प्राथमिकता दिएको कारण बच्चा जन्माउन ढिलाई गरेको बताइन्छ । अमेरिकी महिलाहरुमा उक्त प्रवृत्ति लगभग सबैतिर एउटै पाइएको छ ।

अमेरिकामा सन् १९३० यता जनसंख्यामा सबैभन्दा ढिलो बृध्दिदर कायम हुँदा अमेरिकी मातृत्वमा एउटा गहकिलो खालको परिवर्तन देखापरेको छ । पछिल्ला वर्षदेखि त्यहाँ ३० वर्षमुनिका महिलाले सन्तान जन्माउने सम्भावना अत्यन्त न्यून हुँदै गएको छ ।

सन् २००७ पछि २० वर्ष उमेर समूहका महिलाहरुमा बालबालिका जन्माउने दर २८ प्रतिशतले घटेको छ । सबैभन्दा ठूलो गिरावट अविवाहित महिलाहरुमा बच्चा पैदा गर्ने विगतको प्रवृत्तिमा समेत आएको हो ।

पछिल्लो डेढ दशकमा ३० देखि ४० वर्षका महिलाको समूहमा बालबालिका जन्माउने दर ह्वात्तै बढेको थियो । तर त्यो समूहमा पनि तीन वर्षयता गिरावट देखिन थालेको हो ।

मिडलबरी कलेजकी अर्थशास्त्री प्रोफेसर क्याटलिन मायर्सको भौगोलिक विश्लेषणको डाटाअनुसार सबैभन्दा धेरै रोजगारी बृध्दि भएका ठाउँमा जन्मदर सबैभन्दा धेरै घटिरहेको देखिन्छ । किनभने त्यहाँ महिलाहरुलाई आत्मनिर्भरका लागि अधिक प्रोत्साहन मिल्ने गर्छ ।

महिलाहरुले बच्चा जन्माउन ढिला गर्नु र कहिले जन्माउने भनेर साइत कुरेर बस्नुको प्रमुख कारण चाहिँ गर्भनिरोधक औषधी र उपकरणहरुमा राम्रो पहुँच हुनुले पनि काम गरेको बताइएको छ ।

त्यस्तै अमेरिकी महिलाहरुमा स्नातक हुने दर अहिले पुरुषहरुभन्दा छिटो देखिएको छ । त्यसैले उच्चशिक्षा प्रजनन क्षमता गिरावटको एक कारण हो भन्नेमा शोधकर्ताहरु पक्का नभए पनि त्यहाँ केही न केही सम्बन्ध रहेको उनीहरु बताउँछन् ।

टिप्पणीहरू