कामु सेनापतिलाई चालकको सोधाई : गरिबको छोरो हुनु पाप हो ?

कामु सेनापतिलाई चालकको सोधाई : गरिबको छोरो हुनु पाप हो ?

नेपाली सेनाले हालै जारी गरेको परिपत्रले आफूहरुको अवसरमा धक्का पुर्याउने तल्लो तहका कर्मचारीले आशंका गरेका छन् । साउन २१ गते जारी हेभी सवारी चालक अनुमति पत्र प्राप्त गरेका पदिक तथा अन्य दर्जाहरुको विवरण पठाउनेसम्बन्धी परिपत्रमार्फत शान्तिसेना छनौट कार्यविधि २०७५ बमोजिम बाहिनी अड्डा तथा अन्तर्गत कार्यरत रही एपीसी (आर्मर्ड पर्सनल क्यारियर) वा एमपीभी (माइन प्रोटेक्टिभ भेहिकल) तालिमको प्रमाणपत्र प्राप्त नगरेका तर हेभी सवारी चालक अनुमति पत्रधारी पदिक तथा अन्यदर्जाहरुको विवरण संकलन गर्न लागिएको भनिएको छ ।

उक्त परिपत्रको उद्देश्य एपीसी वा एमपीभी तालिमको प्रमाणपत्र प्राप्त नगरेका अरु सवारी चालकलाई पनि मिसनमा पठाउने दाउ रहेको आशंका चलेपछि सेनाभित्रका एपीसी वा एमपीभी तालिम लिएका चालकहरु सशंकित भएक हुन् । त्यहि सन्दर्भमा नेपाली सेनाका एक जना चालकले जनआस्थालाई पठाएको पत्रमा भनिएको छ :

श्रीमान्,मैले नेपाली सेनाको फलामे ढोका प्रवेश गरेको आज १७ औँ वसन्त पूरा भई १८ औँ वसन्तमा प्रवेश गरेको अवसरमा सैन्य जीवनको अनुभव र केही जिज्ञासाहरु जनआस्थामार्फत् पुर्याउन चाहन्छु ।

त्यो खरबौंको डल्लोलाई हेरेर हाम्रो ताउलोमा आगो र मुखमा जाउलो लाग्दो रहेनछ ।

सेनामा हामीजस्ता तल्लो दर्जाका कर्मचारीको सुनुवाई लगभग हुँदैन,यो मेरो डेढ दशकको अनुभव हो । १८ औँ वसन्तको जागिरको सिलसिलामा नेपाली सेनामा प्रवेश गरेपछि आफूलाई आवश्यक सम्पूर्ण तालिमहरुमा उच्चस्तरको नतिजा देखाएको छु । विश्वास छ,सेनाभित्रको कुनै पनि तालिममा मैले अहिलेसम्म दोस्रो स्थानमा झर्नुपरेको छैन । म जस्ता अरु धेरै विभिन्न तहमा पनि छन् ।

तर पनि आज म ज्यादै निराश छु किनभने आफ्नो वयस्क जीवन सबै पल्टनमै बिताइयो । अब घर जाने बेला खाडीको कुन चाहिँ देश वा मलेसिया जानुपर्ने हो भनी छटपटी हुन थालेको छ । आर्थिक अवस्थाको सोचाईले रात छर्लङ्ग उज्यालो हुने गरेको छ ।

मुलुकको सबैभन्दा पवित्र र सबैभन्दा धनी संस्थामा कार्यरत मजस्ता हजारौँ इमान्दार कर्मचारीलाई पनि सायद यस्तै भएको होला । शान्ति सेनाको हाम्रो रगत पसिनाको कमाइलाई बर्षेनी बढाएर खरबौं पुर्याइएको छ । त्यो खरबौंको डल्लोलाई हेरेर हाम्रो ताउलोमा आगो र मुखमा जाउलो लाग्दो रहेनछ । ठूलाबडाको कुरो हामीलाई थाहा हुने भएन ।

चिफ साहेबका चालकले एपीसी र एपीभी कुनै पनि कोर्ष नगरेको कारण उनलाई अनुकुल बनाइएको भन्ने छाप परेको छ ।

जसले शान्ति सेनामा रगत र पसिना बेचेर त्यो रकम जम्मा गर्यो आज उनै जवानहरु खाडीको तातो घाममा पानीबाट निकालिएको माछा जस्तै छटपटाई रहेका छन् । त्यसो किन होला चिफ साहेब ? हजुरले कुनै दिन सोच्नु भएको छ ?

सेनाको मुख्यव्यक्तिको कुर्सीमा बस्दै गर्दा तपाईंसँग ठूलो आडभरोसाका साथ सोध्न चाहन्छु, ‘कल्याणकारीको हाम्रो करोडौंको कमाइलाई गरिब जवानको जीवनस्तर उकास्ने काममा प्रयोग गर्न सकिँदैन र ?’ डाँडापाखा र गरिबी नै हामीजस्ताको निम्ति अभिशाप हो कि भन्ने भान धेरै जनामा पर्दै जान थालेको छ ।

हामीले पढ्न सकेनौँ र तल्लो दर्जामा जागिर खायौँ । आज आफूसँग भएको एउटा बच्चा पढाउन समेत तलबले पुग्दैन । जिल्लामा सैनिक स्कुल भए केही सहज हुन्थ्यो होला । त्यो कल्पना पनि गर्न सकिने अवस्था छैन । प्रदेशमा समेत त्यस्तो विद्यालय नहुँदा हाम्रा बालबच्चा आर्मी स्कुलमा पढ्ने कुरा विपनामा धेरै टाढा सपनामा पनि सोच्न सकिँदैन ।

भर्खर जन्मेको बच्चालाई पहिला खाना, अनि ठूलो भएपछि लिटो खुवाउने हो र चिफ साहेब ?

एउटा सरकारी अथवा निजी क्षेत्रका बैंक तथा बहुराष्ट्रिय कम्पनीमा काम गर्ने कर्मचारीले घर बनाउन र अन्य कामको लागि अति सस्तो ब्याजदरमा सजिलै ऋण पाउँछन् । त्यही कारण उनीहरुको जीवनस्तरमा धेरै नै परिवर्तन भएको हामीले पाएका छौँ । ती कर्मचारीले त्यसरी पाएको सुविधा जनताको पैसा परिचालन गरेर प्राप्त मुनाफाबाट हो ।

तर विडम्बना,हामी आफैँ विश्वका द्वन्द्वग्रस्त मुलुकमा गई रगत पसिना बगाएर जम्मा गरेको रकम अरब र खरब मात्र बनाउँदै जाने हो कि ? निम्न आय भएका भूतपूर्व तथा वर्तमान सैनिक तथा कर्मचारीको स्तरवृद्धिमा सुधार गर्ने हो चिफसाहेब ?

आज दुःख लागेको कुरा पनि तपाईं कायममुकायम हुनै लाग्दा साउन २१ गते गरिएको परिपत्रमा उल्लेख गरिएको व्यवस्थाले बढी भएको छ । उक्त परिपत्रमा अबदेखि सेनामा कार्यरत सबै हेभी चालकहरुले एमपीभी र एसीपीको ट्रायलमा सरिक हुन पाउने भनिएको छ । यो कस्तो नियम हो चिफ साहेब ? एउटा सिभिलियनलाई सेनाको सेवाभित्र प्रवेश गरेपछि निश्चित समयसम्म तालिम पूरा नहुन्जेल उसलाई कुनै दर्जाको नियुक्ती दिईंदैन । सेनामा होओस् वा अन्य कुनै पनि संस्थामा तालिम पूरा गरेपछि तालिमको प्रमाणपत्र र त्यसैको आधारमा शान्तिसेना वा प्रमोशनको लागि प्रक्रिया अगाडि बढाइने पद्धति छ ।

शान्तिसेनामा जानका लागि ट्रायलको निम्ति एमपीभी र एपिसी तालिममा सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेर बसेका हजारौं चालकमध्ये म पनि एक हो । म आजभन्दा एक दशकअघि शान्तिसेनाबाट फर्किएपछि दोस्रो पटक भाग लिन यस्तै आफूअनुकूल नियमहरु परिवर्तन भइरहेको कारण सरिक हुन सकिन ।

मेरा धेरै सहकर्मीहरु बिनापेन्सन जागिर छाडी खाडी मुलुक पुगेका छन् । तर मलगायत कतिपय त्यहि ट्रायलको आशाले बसिरहेको बेला एकाएक एमपीभी र एपीसी तालिमका चालकलाई शान्तिसेनामा सरिक हुन पाउने परिपत्र गरियो । यसबाट तालिमप्राप्त चालकहरुमा नैराश्यता मात्र बढेको छैन,उनीहरुको मन नै छिया छिया भएको छ !

एउटा एमपीभी कोर्स पूरा गर्न गणमा अनुशासित र उत्कृष्ट चालक छनौट हुनुपर्छ, त्यसको लागि हजारौंबीच प्रतिस्पर्धा गर्नुपर्छ । त्यसपछि पनि तालिममा कठोर तालिम पूरा गर्नैपर्छ । त्यसरी सबै प्रक्रिया पूरा गरेको प्रमाण पत्र लिई बसेका हामीहरुको पनि आधा दशकभन्दा बढी भइसक्यो ।

जंगी अड्डाबाट विनाकरण नियमहरु परिवर्तन भइहन्छन् । कहिले हेभीबाट मिशन जानेलाई एमपीभी ट्रायलमा सरिक हुन नपाउने भनिन्छ भने कहिले जागिर अवधि तलमाथि हुने गरिन्छ । के यस्ता हचुवाको भरमा गरिने परिवर्तनले गरिबका छोराछोरीको रोजीरोटीको लागि बनाइएका नियमहरु फेरिरहनुपर्छ ?

पल्टनका चालकहरुलाई पछिल्लो नियम परिवर्तन कायम मुकायम चिफ साहेबका चालकले एपीसी र एपीभी कुनै पनि कोर्ष नगरेको कारण उनलाई अनुकुल बनाइएको भन्ने छाप परेको छ । आफ्ना चालक अनुकूलको लागि नियमहरु परिमार्जित गरिनु त्यो हाम्रोलागि मात्रै होइन सारा संगठनको निम्ति दुःखद् विषय हो । अहिले सबै चालकको मस्तिष्कमा त्यहि घुसेको छ ।

साँच्चै भन्ने हो भने एक जना चालकको लागि किन सबै सिस्टम भत्काउनपर्यो ? हजुरले चाहेमा दुई चार जनालाई त विशेष त्यत्तिकै पठाउँदा भैगो नि ! शान्तिसेनामा जान पाइन्छ कि भन्दै म जस्ता विचरा हजारौँ चालकहरुले कठोर तालिमपछि प्राप्त प्रमाणपत्र बाकसमा राखेका छन् । हाम्रा अनुभव र प्रमाणपत्र हुँदा पनि एमपीभीमा ट्रायल दिनलाई कहिले हेभीमा गएकोलाई हुन्न भनिन्छ भने कहिले एमपीभीमा शान्तिसेना गएकालाई मात्र समावेश गराउने भनेर अन्योलमा पारिँदै आएको छ ।

एमपीभीमा अर्को मिशन जान पहिले नै एमपीभीमा गएको हुनुपर्ने बनाउनु यो कस्तो नियम हो ? पहिला लाइट अनि हेभी हुँदै एमपीभी र एपीसीमा सरिक हुनुपर्ने होइन र ? के भर्खर जन्मेको बच्चालाई पहिला खाना, अनि ठूलो भएपछि लिटो खुवाउने हो र चिफ साहेब ?

साउन २१ गतेको परिपत्र सायद जसको नेतृत्वमा निर्णय भएको भए पनि त्यसमा उल्लेख गरिएका अव्यवहारिक र व्यक्ति अनुकूल बनाइएको दोष वा गुण अब कायममुकाय सेनापति श्री प्रभुराम शर्मालाई नै जान्छ । किनकि उहाँको चालकले आफूले नगरेको तालिमबाट शान्तिसेनामा जाने बाटो खोज्नु भनेको हजारौँ तालिमप्राप्त चालकको प्रमाणपत्रलाई अवज्ञा र अस्वीकार गर्न लगाइनु हो ।

शान्तिसेनाको ट्रायलमा पनि फरक फरक अवधि तोकिनु मुनासिब छैन । हेभीमा शान्ति सेना जानेलाई दुई वर्ष,एमपीभीमा जानेलाई गएर आएको तीन वर्ष,अनि हेभीमा तेस्रो पटक ट्रायल दिने उमेर १८ वर्ष पुग्नुपर्ने र एमपीभीमा ट्रायल दिन उमेर १६ वर्ष पुगे पनि हुने गरिएको छ । यस्तो फरक फरक नियम किन ? के सबै चालकलाई तेस्रो पटक ट्रायल दिने उमेरलाई एउटै १८ वर्ष पूरा भएको बनाउँदा हुँदैन र ?

यदि मिशनको लागि एपीसी र एमपीभीको रिफ्रेशर गराउन खोजेको हो भने सम्बन्धित कोर्स गरेको चालकहरुलाई रिफ्रेशर गराउँदा भइहाल्थ्यो । एमपीभी कोर्स गरेर आधा दशकसम्म अनेकौँ सूत्रले गर्दा ट्रायलमा सरिक हुनबाट वञ्चित भएको अवस्थामा विनाकोर्सका र विनाप्रमाणपत्रका चालकलाई रिफ्रेशरमा पठाउनुभन्दा बरु निश्चित व्यक्तिलाई तालिममा नै सरिक गराए हुँदैन र ?

आज एक जना चालकको भलाईको लागि भइराखेको नियम चलाउँदा हजारौँ चालकको संस्थाप्रति थप नैराश्यता र वितृष्णा नजागोस् । आजसम्म सेनामा नेतृत्व गर्ने सबै चिफसाहेबले जवान सबैको भलो, संस्थाको हित र राष्ट्रहितमा काम गर्नुभएको भनिन्छ । त्यसमा अझ पूर्णचन्द्र चिफ साहेबको त जति नै प्रशंसा गर्दा पनि कम हुने ठानेका छौं ।

हामीलाई आशा छ हाम्रा अभिभावक कायममुकायम चिफ साहेब श्री प्रभुराम शर्माज्यूले पनि एक दुई जना आफू नजिककालाई मात्र अनुकूल नबनेर सबैलाई यथोचित हुनेगरी संस्थाको आन्तरिक नियमकानुनको तर्जुमा र परिमार्जन गर्नुहुनेछ भन्ने आशा लिएका छौँ ।

बारम्बार फेरिएको नियमले पछाडि पारिएका सेनाका पीडित चालकहरु

टिप्पणीहरू