नेपाल प्रहरीले राष्ट्र संघको लागि लिएको परीक्षा रद्ध

नेपाल प्रहरीले राष्ट्र संघको लागि लिएको परीक्षा रद्ध

नेपाल प्रहरीले राष्ट्र संघीय मिशनमा पठाउनुअघि हालै लिएको एउटा पूर्वपरीक्षा आज रद्ध गरेको छ । साउन १५ र १६ गते प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयहरुमा सञ्चालन भएको युन परीक्षाका प्रश्नहरु अगावै बाहिरिएपछि हंगामा भएको थियो ।

प्रश्नपत्र बाहिरिएपछि प्रहरीले सञ्चालन गर्ने परीक्षाको विश्वसनियतामाथि गम्भीर प्रश्न उठेका हो । प्रहरी प्रधान कार्यालयले आज आफू मातहतका कार्यालयलाई पठाएको एउटा जानकारीमा उक्त परीक्षा रद्द भएको व्यहोरा उल्लेख गरिएको छ ।

जानकारीमा भनिएको छ, ‘पुनः परीक्षा सञ्चालन सम्बन्धी मिति तय भए पश्चात जानकारी गराइने हुँदा उक्त परीक्षामा सहभागी हुने प्रहरी कर्मचारीहरुलाई तयारी हालतमा राख्नुहुन ।’

यसअघि प्रश्नपत्र चुहिएर अन्तर्राष्ट्रिय बेइज्जती भएपछि प्रहरीले छानबिन समिति गठन गरेको थियो । विदेशका कुनै पनि मिशनमा पठाउनुअघि प्रहरीमा आन्तरिक छनौटको निम्ति परीक्षा लिनुपर्ने प्रावधान छ । आन्तरिक छनौटमा उतीर्ण भएका उम्मेदवारलाई पछि राष्ट्रसंघका प्रतिनिधि नै उपस्थित भएर परीक्षा लिने गरिन्छ । साउन दोस्रो साता भएको उक्त परीक्षा प्रारम्भिक टेस्ट मात्रै हो । जहाँ प्रारम्भमै अनियमितताको प्रयास भएको थियो ।

राष्ट्र संघले पछिल्लो पटक नेपाललाई मिशनको निम्ति उपलब्ध गराएको २ सय ७० वटा कोटाको लागि उक्त परीक्षा लिइएको बताइन्छ । जसमा २ हजार ३ सय जना प्रहरी सहभागी भएका थिए । परीक्षा अगावै प्रश्नपत्र लिक भएपछि तहल्का मच्चिएको थियो । परीक्षामा सहभागीहरुले नै प्रश्नपत्र लिक भएको हल्ला गरेपछि प्रहरीको विश्वसनियतामाथि प्रश्न चिन्ह उठेको हो ।

त्यहि अनियमितता जाँचबुझ गर्न आईजीपी सचिवालयका डिआईजी बसन्तकुमार लामाको अध्यक्षतामा छानबिन समिति गठन भएको थियो । जसमा एसएसपी कृष्ण महत, साइबर ब्युरोका एक जना एसपी, अर्का एसपी केदार रजौरिया र कानुन विभागका प्रतिनिधि थिए ।

टिप्पणीहरू