संविधान र काँग्रेसको विधान च्यापेर बुढानीलकण्ठमा नाराबाजी

संविधान र काँग्रेसको विधान च्यापेर बुढानीलकण्ठमा नाराबाजी

नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता तोकिएको समयमा पार्टी महाधिवेशन गर्नुपर्ने माग गर्दै आज पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठ पुगेर नाराबाजी गरेका छन् । महाधिवेशन समयमै गरेर पार्टीको वैधानिकता बचाउनको निम्ति दवाब दिने उद्देश्यले उनीहरुले आज बुढानीलकण्ठ पुगेर नारा लगाएका हुन् ।

जुलुसमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ का महासमिति सदस्य देवचन्द्र मिश्रको नेतृत्वमा पूर्वमन्त्री ब्रजकिशोर सिंहलगायत झण्डै ५० जनाको समूहले पार्टीको वैधानिकता कायम राख्न तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गर्न आग्रह गरेको छ ।

उनीहरुले क्रियाशील सदस्यता वितरणमा उब्जिएको विवाद मिलाउन पनि माग गरेका छन् । साथै बुढानीलकण्ठ पुगेको टोलीले केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाउने तथा धर्ना दिने कार्यक्रम समेत थाल्ने बताएको छ ।उनीहरुले केहीबेर क्रियाशी सदस्यता फाराम कहाँ छ सभापति यहाँ छ, छानबिन समिति कहाँ छ प्रमाणसहितको उजुरी यहाँ छ, विधि र विधानको पालन गरौं अनशनकारीको माग पूरा गरौं, समयभित्रै महाधिवेशन गर्ने सुनिश्चितता गर, समायोजनमा भएको धाँधली खारेज गर भन्ने नारा लगाएका थिए ।

पार्टीको चौधौँ महाधिवेशनको तोकिएको समय आइसक्दा समेत महाधिवेशनको सुनिश्चितता नभएको र अझै क्रियाशील सदस्यता वितरणको विवाद कायम रहेकाले समयमै महाधिवेशन गर्न उहाँको निवासमा नेपालको संविधान र पार्टीको विधान बुझाउन पुगेको बताइएको छ ।

टिप्पणीहरू