​छट्टु ज्वाईं, ससुरा र राजदूत

  • वैकुण्ठ ढकाल

एकदिन छट्टु ज्वाइँ ससुराली गएछ । ससुराले मानमनितो गरे ।

दिउँसोतिर खाजासाजा खाइसकेर ससुराले भने– ‘ज्वाईं, अब एकछिन् यस्सो गफगाफ गरौं न ।’

छट्टुुले भने– ‘गफसफ त गर्नहुन्थ्यो, मलाईचाहिँ दिसा च्याप्यो । म त्यो काम सकेर आउँछु ।’

यति भनेर छट्टु शौचालय गयो ।

एकछिन् छट्टुु कराउँदै आएर भन्यो –‘क्या अचम्म भो ।’

ससुराले सोधे–‘के भयो, ज्वाईं ?’

छट्टुले भन्यो–‘गाडामा राखेको मुलाको एउटा पातले गाडा त लच्कि पो राख्याछ, गोरूले गाडा तान्नै सकेन । गाडावालले गोरूलाई कुट्याकुट्यै गरिराख्याछ ।’

ससुरा दौडेर हेर्न गए ।

त्यसपछि सासू आएर सोधिन्– ‘ससुरा किन दौडेका हुन्, ज्चाईं ?’

‘खै, एउटा तरुनी आई, मसक्कै मस्की, उसैको पछि दौडिए ।’ (छट्टुले जवाफ दियो)

‘पातकी बूढो, कतापट्टि मुन्टिए, हँ ज्वाईं ?’ (सासुको रिसको पारो निकै माथि पुग्यो ।)

छट्टुले भन्यो –‘पूर्वतिर ।’ बूढी उतैतिर दौडिइन् ।

एकछिनपछि बूढो आयो र भन्यो–‘मैले गाडा देखिनँ त, हैन तपाईंकी सासू खै त ज्वाईं ?’

छट्टुले भन्यो– ‘खै, एउटा मान्छे आएर आँखा सन्कायो, ऊसैको पछि लागेर गइन् ।’

‘त्यस राँडलाई नमारी छोड्दििन, कतातिर गई ?’ ससुराले रन्केर सोधे ।

‘पश्चिमतिर ।’ छट्टुले बतायो ।

बूढो उतैतिर कुदे ।

बेलुकातिर बूढाबूढी दुबै घर आइपुगे ।

बूढी च्याँठ्ठिए– ‘हेर, पातकी बूढो, मर्ने बेलामा तरुनीको पछि लागेको ।’

बूढो कुर्लिए– ‘तँलाई, बजिनी, गुण्डा खोज्दै हिँड्छेस, अझ मसित निहुँ खोज्छेस् ?’ बूढाबूढीको लुछालुछ चल्यो । छट्टु ज्वाईंचाहिँ मलाई सा¥है निन्द्रा लाग्यो भनेर सुत्न गयो । विहान उज्यालो हुँदा सासुसरुवा दुवै घाइते अवस्थामा भेटिए, मेजमानी नपाउने देखेपछि छट्टु बिहानै बाटो लाग्यो । 

अहिले फेरि यस्तै प्रकृतिका ज्वाँई आएका छन् दक्षिणबाट । नेपाली लोक कथाको ज्वाँई त छट्टु मात्रै थिए, अहिलेका दक्षिणी दूत त महाछट्टु भएको केही दिनको गतिबिधिले प्रष्ट पारिसकेको छ । छट्टु स्वभाव त्यहाँमाथि नेपाल भनेको भारतको प्रान्त नै हो भन्ने चश्मा लगाएर राजदूतहरु आएपछि के होला ! धेरै भनिरहनु पर्दैन, भर्खरै मात्र सेवानिवृत्त भएका राजदूत रणजित रायको व्यवहार हेरौं न ?

नेपालका लागि नयाँ भारतीय राजदूत मन्जिब सिंह पुरी आए । राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाएको भोलिपल्टदेखि नै दलहरुको दैलोमा दौडाहा तीव्र भएको छ । पुरीले आएको एक हप्तामै नेपाली राजनीतिलाई जेलेर ‘जेरी’ बनाइसकेका छन् । माथिको लोककथामा सासू ससुराको झगडा पारे जस्तै गर्न थालिसकेका छन् । 

बिदेशी कूटनीतिक नियोगका प्रमुख र अधिकारीहरुले सरकारका मन्त्रीहरु मात्रै हैन, दलका नेताहरुलाई भेट्नु पूर्वएजेन्डाका बिषयमा परराष्ट्रलाई जानकारी हुनु पर्ने नियम छ । त्यतिमात्रै हैन, परराष्ट्रको अनुमतिले मात्रै भेट्न पाउने नियम छ । तर नियम त बनाउनको लागि हो, पालना गर्नका लागि हैन । दलका नेता, सरकारका मन्त्रीहरु र प्रधानमन्त्रीलाई यस्तै लाग्छ । उनीहरु आफूलाई नियम कानुनभन्दा माथि राख्छन् । 
अचम्म छ, सरकारमा अहिले दुई उपप्रधानमन्त्री मर्यादाक्रमलाई लिएर, विमानस्थल पुगी ‘गाइजात्रा’ देखाउँछन् । उनीहरू नै आफ्नो मर्यादा बिर्सेर ‘दूत’हरुको पाउ मोल्न पछि पर्दैनन् । आउनेबित्तिकै राजदूतहरुलाई हाम्रो नियम यस्तो छ, कूटनीतिक च्यानलमार्फत आउनुहोस्, भन्न यिनीहरुलाई के ले रोक्दो रहेछ ! बुझिनसक्नु छ । 

काठमाडौं उत्रिएको केही दिनमै राजदूत पुरीले कांग्रेसका सभापति शेरबहादुर देउवासंगको पहिलो भेट नै रात्रिभोजसहितको गरे । सविधान संशोधन नभई निर्वाचनमा नजान सल्लाह दिए । शेरबहादुर देउवासँग पहिलेदेखि चिनजान भएका भनिएका पुरीले मनपेट पाइसकेकाले त धेरै कुरा गर्न सके । राजदूतले सत्तारुढ दलका नेता, पूर्वप्रधानमन्त्री भन्दा पनि साथी ठानेर व्यवहार गरे । त्यसको भोलिपल्ट केपी शर्मा ओलीलाई भेट्न गएका उनले स्थानीय निर्वाचन समयमै हुुनुपर्नेमा जोड दिए । इतिहासप्रति अलिधेरै नै चाख लिने ओलीले जोगी, पूरी सन्यासीको कुरा उठाए । दुवैले जुम्ल्याहा हात जोडेर सम्बन्ध गजब्ब छ भन्ने देखाउन फोटो सेसन पनि गराए । भारतप्रति निकै आक्रामक ओली राजदूतसामु दुई हात जोडेर किन झुके भन्ने किसिमका किस्साहरु बजारमा छरपस्ट भए । 

त्यसपछि मन्त्रीहरु, उपप्रधानमन्त्रीहरु र प्रधानमन्त्रीसँग भेटवार्ता भए । भेटघाटको रफ्तार हेर्दा, राजदूतले मन्त्री र नेताहरु भेटेका हुन कि नेता, मन्त्रीहरुले राजदूत भेटेका हुन्, छुट्याउनै नसकिने स्थिति भयो । राजदूतले भेटेका होलान त ? हो भने नेपालका नेताहरु यति सजिलै उपलब्ध हुने ‘प्राणी’ हुन् त ? त्यसो हुन सक्दै सक्दैन । नेपालका नेता, मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री भेट्न नसकेको गुनासो गर्नेहरुको पंक्ति निकै ठूलो छ । दलका कार्यकर्ता आफ्ना नेताहरुलाई बर्षौसम्म भेट्न नपाएको गुनासो गरिरहेका छन् । मन्त्री नभएका नेताहरुलाई त भेट्न नसकेको गुनासो गर्नेहरुको संख्या ठूलो छ भने झन मन्त्री र प्रधानमन्त्री नै भएकाहरुलाई भेट्न कति कठिन होला आफैं अनुमान गर्न सकिन्छ । मन्त्रालयको सचिवसमेत मन्त्री भेट्न नपाएको गुनासो गर्छ । पत्रकारहरु पनि त्यसै भन्छन् । त्यही भएर राजदूतले हैन, नेता–मन्त्रीहरुले राजदूत भेटेको प्रष्ट हुन्छ । एक राजदूतले नियुक्त भएको केही दिनमै सरकार र दलका प्रमुखहरुलाई भेट्न सम्भव हुन्छ र ? दुनियाँको कुन देशमा सम्भव हुन्छ, यी काम केही दिनमै ? सम्झँदा भाउन्न हुन्छ । 

ल ठीक छ, राजदूत परिचय गर्न नेता, मन्त्री कहाँ पुगे रे ? त्यसो भनेर पनि चित्त बुझाउने ठाउँ त भएन नि ? राजदूतले उप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री कमल थापासंग हिन्दू राज्य कायम गर्न जोडबल गरे । यातायात मन्त्री रमेश लेखकसंग काठमाण्डौं मधेस तराई दु्रतमार्ग भारतीय कम्पनीलाई दिन आग्रह गरे । परिचय आदनप्रदान गर्ने भेटमै कुनै देशका राजदूतले नेपालको आन्तरिक मामला र संवेदनशील बिषयमा सवाल जवाफ गर्न मिल्छ, सक्छन् ? 

स्मरण रहोस्, केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको सरकारले द्रुतमार्ग नेपाल सरकार आफैंले बनाउने निर्णय गरिसकेको छ । हुन त दाहाल सरकारको कामै पूर्ववर्ती सरकारले गरेका निर्णय उल्ट्याउनुभएको छ । दाहालले ओली सरकारले गरेका राष्ट्रिय पुन निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत र राजदूत नियुक्तिको निर्णय उल्ट्याए । प्राधिकरण प्रमुखको बारेमा कुनै टिप्पणी नगरौं । राजदूतमा सिफारिस भएकाहरुको नाम एक पटक हेरे पुगिहाल्छ । 

सवैभन्दा महत्वपूर्ण कुरो त संविधान कार्यान्वनको हो । अस्थिर सरकारकै कारण पूर्ववर्ती सरकारले बनाएको संविधान कार्यान्वन तालिका प्रभावित भइसकेको छ । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन आफूखुशी हेरफेर गरिसकेको छ । स्थापनाकालदेखि नै दाहाल सरकारलाई भारतको आशीर्वादको रुपमा हेरिएको छ । सरकार स्वयं नै स्वबिबेकभन्दा पनि अरुले अ¥हाई खटाएको गर्न गठन भएको भन्ने आरोपलाई पुष्टि गर्ने गरी लागिरहेको छ । भारत र मधेसी मोर्चाप्रति उदार हुनु नै वर्तमान सरकारको बिशेषता हो । 

हिन्दीभाषालाई सरकारी कामकाजी भाषा बनाउन मरिमेटर लाग्ने, पहाड र तराई अलग हुने गरी संविधान संशोधनको प्रस्ताव आउने, भारतबाट मात्रै इन्धन खरिद गर्ने गरी सम्झौता गर्ने, नेपालमा रहेका भारतीय एक हजार र पाँच सय रुपैंयाको नोट सटहीमा कुनै प्रगति गर्न नसक्ने, सीमामा आएर भारतीय सीमा सुरक्षा बलले नेपालीको हत्या गर्दासम्म मुखमा पट्टि टाँसेर बस्नुले सरकार कसको लागि हो भन्ने स्पष्ट भइसकेको छ । नेपाल सरकार नेपालको प्रधानमन्त्रीले चलाउँछ कि भारतको एउटा सहसचिव (राजदूत) ले भन्ने अन्योल सधैं रहिरहने भयो । खै के शक्ति छ भारतीय राजदूतमा चौबिसै घण्टा उसका लागि नेपालका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मका बेडरुमसम्मकै ढोकाहरु खुल्ला रहन्छ ।

कार्यालय र बैठक कक्ष त पहिलेदेखि नै यस्सै पनि खुल्ला थिए । लैनचौर र बालुुवाटार धेरै टाढा छैन । यो त सबैलाई लागेकै हो । त्यति मात्रै हैन, अहिलेका प्रधानमन्त्रीको निजी निवास त झन लैनचौर नजिकै छ । भारतीय राजदूतलाई टाढा लाग्यो भनेका दिन निजी निवास लाजिम्पाटै पुगेर प्रधानमन्त्रीले भेटिदिन्छन् । दलका नेताहरु पनि पहिलेदेखि नै अतिथि देवो भन्ने उक्तिले किचिएका छन् । उनीहरुका लागि आफैंले बनाएको नियम, कूटनीतिक मर्यादा त अतिथि देवो भन्दा फिका लाग्छन् । कार्यकाल शुरुदेखि अन्त्यसम्म एउटा सहसचिवलाई नेपालका सबैजसो नेताहरुले ‘ज्वाईं’को सत्कार दिइरहन्छन् । दिनेले भाऊ दिइरहेपछि राजदूतले आफू नै मोदी हुँ भन्न किन अप्ठ्यारो मान्नु ! 

टिप्पणीहरू