डिआइजी मरेतुल्य, व्यापारीलाई सेवकको हुल

चाहिनेलाई भन्दा ‘फाइदा पाइने’ लाई खुशी पार्न हल्चोकस्थित सशस्त्र मुख्यालयमा अचम्मको व्यस्तता छ । शरीरका अंगहरू राम्रोसँग चल्न नसकेर भूपू डिआइजी गोपालमान श्रेष्ठ घरभित्रै थन्किएका छन् । राज्यको सुरक्षाकर्मीका रुपमा ३० वर्ष सेवा गरेर अवकास पाएका हाकिमलाई घरमा रेखदेख गर्न एकजना जवान पठाइदिए ठूलो राहत मिल्थ्यो ।
तर, हल्चोकको ध्यान यता छैन, दिनैपिच्छे आइजिपी शैलेन्द्र खनाललाई भेट्न पुग्ने व्यापारी, नरेश भट्टका घरमा चाहिँ तीनजना सिपाही बस्छन् । व्यापारीलाई त देखाउनका लागि मात्रै सिपाही चाहिएको हो । तर, शारीरिक रुपमा अशक्त पूर्वडिआइजीलाई बाँच्नका लागि सिपाही चाहिँदा कञ्जुस्याइँ गरिन्छ ।
पूर्ववर्ती ओली सरकारले राजा ज्ञानेन्द्रलगायत पूर्वपदाधिकारीको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्रको संख्या घटाउने निर्णय गरेको थियो । त्यस आधारमा हल्चोकले पनि केही ठाउँबाट सिपाही फिर्ता बोलायो । तर, भित्रभित्र ‘फाइदा पाइने’ भान्से, ड्राइभरदेखि गार्डसम्म पठाइँदैछ । त्यसरी सशस्त्रबाट सुविधामा सिपाही पाउने व्यापारी भट्ट नवलपरासीका हुन् । काठमाडौंको बूढानीलकण्ठमा बस्छन् । त्यहाँमात्रै हैन, उनले नवलपरासीस्थित २६ नम्बर गणबाट पनि आफ्नो रोजाईका तीन सिपाही राखेका छन् । त्यहाँ सिपाहीहरू रामु तेली, उग्र धोवी, जगदिश यादव तैनाथ छन्, जोमाथि गणपतिको होइन, व्यापारीको आदेशमात्रै लाग्छ ।
लु १ ज २३३४ नम्बरको गाडीमा ती सिपाहीले भारतबाट विभिन्न सामान निर्वाध रुपमा ल्याउने र नरेशलाई बुझाउने गरेको उजुरी पहिल्यै सशस्त्रमा परेको हो । तर, आइजी सचिवालयले ‘वाहियात उजुरी दर्ता गर्ने ?’ भन्दै च्यातचुत पारिदिएको छ । भट्टको घरमा अहिले राम्रा गण जान चाहने एसपीको ताँती देख्न सकिन्छ। अख्तियारले आइएमई वा बैंक खाता हेरे भट्ट कति मालामाल हुँदैछन् थाहा लाग्छ।
आइजी खनाल यही वर्षको चैतदेखि अनिवार्य अवकासमा घर जाँदै छन् । अवकासको दिन जति–जति नजिकिँदैछ, भाइहरू भुवन र आभूषणले रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका– ७, भलवारीमा हिडन प्यालेस नामक भव्य होटल तयार पारेका छन् । ०७० सालमा साढे तीन कठ्ठा जमिनभित्र सामान्य पार्टी प्यालेसका रुपमा सञ्चालनमा आएको हिडन प्यालेस ०७५ मा शैलेन्द्र आइजिपी बनेसँगै अचम्मसँगले होटलमा परिणत हुन थालेको हो । पछि १० कठ्ठा जमिन भाडामा लिएर होटल विस्तार गरियो । हालसम्म १७ करोड लगानी भइसकेको त्यहाँ अहिले स्वीमिङ पुल बनाउने काम धमाधम चल्दैछ ।
अहिले शैलेन्द्रबाट सिपाही चलाउने ‘सुविधा’ लिएका व्यापारी नरेशले पहिला भूपूआइजीहरू ध्रुवबहादुर प्रधान, प्रदीपसमशेर राणा, भूपूएआइजी अर्जुनजंग शाही, कृष्ण बस्नेत, भूपूडिआइजी केदार कोइरालालाई पनि सेवा पु¥याइसकेका थिए । सेवकले सिपाही पाए पनि बिरामी भूपूडिआइजी गोपालमानचाहिँ घरमै इन्तु न चिन्तु भएर बस्ने अवस्थामा छन् । गोपालमानकै नियति भोगिरहेका छन्, उनका भाइ तथा प्रहरीका भूपूडिआइजी राजेन्द्रमानले पनि ।
त्यसो त बिचौलिया पोस्ने सशस्त्रको धन्दा यो नयाँ होइन । दुर्जकुमार राई आइजी हुँदा सुवास राई नाम गरेका एक बिचौलिया हेडक्वार्टरतिर निकै झुल्किन्थे । उनले पनि सिपाहीको सुरक्षा पाएका थिए । कुनै बेला म्यानपावर मालिक्नी अम्बिका शर्मासम्मले घरमा सशस्त्रको सुरक्षाकर्मी पाएकी थिइन् ।
टिप्पणीहरू