​भुइँ न भाँडामा, कुकुरलाई टाँडामा « Jana Aastha News Online
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022

​भुइँ न भाँडामा, कुकुरलाई टाँडामा

प्रकाशित मिति :  २५ चैत्र २०७३, शुक्रबार ११:३२


  • ददि सापकोटा र जेनेभा

जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष गंगा भुसालसित देखभेट थिएन । सामाजिक सञ्जालमा बाँधिएका थियौं हामी, लामै समयदेखि । मञ्चको स्विजरल्याण्ड शाखा अधिवेशनमा आएका रहेछन् । स्पेनवाटै खबर गरे, ‘ददिजी, मिल्छ भने भेटौं । म आउँदै छु । केही विषयमा भलाकुसारी गर्न, प्रत्यक्ष भेट्न मन छ ।’

उपराष्ट्रपति नन्दकिशोर पुनपुत्र दिपेश पनि बर्नबाट जेनेभा आएका छन् बिहानै भन्ने खबर उनै भुसालले दिए । त्यो सुन्नासाथ जेनेभाका पत्रकार विजय शर्मा दर्पण हौसिए ‘लौ भेटम न त उसोभए एकपल्ट । एउटा फोटो भए पनि खिचम् न !’

मैले भनें, ‘के गर्ने त्यो फोटो ?’

‘फेसबुकमा राखेर देखाउने’ गंगाजी हाँसे ।

हामी तीनै जना निस्कियौं । गंगा भुसालसित बाटोमा युरोपका नेपाली संघ संगठन, पार्टीका भातृ संस्था, तिनको औचित्य र उपयोगिताबारे छलफल गर्दै गयौं, जेनेभा तालतिर जाँदा । बाटोमा भुसालले सुनाए, ‘दिपेश पुन पनि त्यतै जेनेभा तालतिरै छन् रे । जाम न त भेटम् ।’ हामी तालतिर लाग्यौं । गंगाजी तालवरिपरिका केही दृश्यको तस्बिर लिन लागे । तालकिनार पुग्नासाथ गंगाजीले भने, ‘ए दिपेश पनि यहिँ रहेछ त । ऊ फोटो सेसन गर्दै रैछ, सेल्फी हान्दै रैछ ।’ त्यो बीचमा उनको संगठनका केही सदस्यसित फोन सम्पर्क भएको थियो । तिनैले पुन तालतिरै घुम्दै गरेको सुनाएछन् ।

विजयको इच्छा एउटा तस्बिर भए पनि उपराष्ट्रपति पुत्रसित लिने । उनको इच्छा पूरा गराइदिऊँ न त भन्ने चाहना हाम्रो । पुन मोबाइलमा आफ्नै भिडियो खिच्दै एक्लै भाषण गर्दै थिए, ‘हामीले पनि नेपाललाई स्विजरल्याण्डको जेनेभाजस्तै बनाउन सकिन्छ । यो स्विजरल्याण्डको पानी विश्वमा प्रसिद्द छ । हामीसित पनि अथाह स्रोत छ, पानीको । हामीले हाम्रो देशको पानी यसैगरी सदुपयोग गरेर नेपाललाई जेनेभा जस्तै बनाउन सकिन्छ । हामीले पनि यस्तै पर्यटकीय विकास गरेर आर्थिक रुपमा देशलाई महान बनाउन सकिन्छ ।’

उनी भाषण गर्दै गए, ‘हामीसित के छैन नेपालमा ? अँ नेपालमा हामीले गर्न सक्ने सम्भावना रहेको अर्को जडीबुटी हो । जडीबुटीको उपयोग गरेर देशलाई आर्थिक रुपमा समुन्नत बनाउन, पर्यटक आकर्षण गरेर सम्पन्न बनाउन सकिन्छ ।’

गंगा भुसाल माओवादी केन्द्रकै भातृ संगठनको स्पेनमा नेतृत्व लिएका ब्यक्ति । मीठो बोली, सुमधुर सम्बन्ध राख्न सिपालु र सहनशील बानीका उनीसित पार्टीगत हिसाबले पनि दिपेश पुन निकट होलान् भन्ने हाम्रो बुझाइ । पुन निकैबेर भिडियो रेकर्डिङमा फत्फताइरहे । हामीलाई पुलुक्क हेरे । तर वास्ता गरेनन् । केहीबेर अलि वरै पर्खियौं । उनको भिडियो सेल्फी रोकिने छाँटकाँट देखिएन ।

त्यसपछि गंगा भुसाल आफैंले पुनसित भेट्न, म र विजय शर्मासित परिचित गराउन खोजे । तर उनले त आफ्नो मपाइँत्व, अहंकार र राजसी ठाँट देखाइहाले, ‘म व्यस्त छु, तपाईंहरु जानुस् । म यतै बस्छु ।’ उनको मपाइँत्व देखेर गंगा भुसाल आफैं जिल परेहोलान् । हामीसित खासै केही भन्न सकेनन् ।

गंगाजीलाई पनि यो मान्छेले अनादर गरेकै हो भन्ने लागेरै होला भने, ‘हामी उस्तै परे प्रधानमन्त्री, राष्ट्रपतिलाई त भाउ दिँदैनौं । तिनका छोराछोरी त को नै हुन् र अनावश्यक भाउ दिने ? उता तिनको जे होला, यता हाम्रो आफ्नै परिचय, स्थान, भूमिका, इज्जत र प्रतिष्ठा छ । आफ्नै दुखजिलो गरेर बाँचेका छौं । हामीलाई नै अनादर गर्छन् भने हामीले पनि तिनलाई किन धुरीमा चढाउने ?’

उपराष्ट्रपतिपुत्रको भाषण तालका किनारमा सुनेर हामी तीनै जनालाई हाँसो लाग्यो । नेपाललाई स्विजरल्याण्डसित तुलना गर्दै आफैले भाषण गरेको निकैबेर भिडियो खिचेका थिए । उनको स्वभाव, नेपालीले नेपालीलाई नै उपेक्षा गर्ने अहं देखेपछि विजयले भने, ‘भो अब यो मान्छेसित फोटो पनि नखिचम । यस्तो चढेको मान्छेसित के फोटो खिच्नु ?’

मार्च २६ का दिन माओवादी भातृ संगठनको बर्न शहरमा आयोजित अधिवेशनमा उनी प्रमुख अतिथि बनेर आएका रहेछन् । प्रवासको ठाउँमा, देशको जिम्मेवार पदमा पुगेको व्यक्तिको छोरो अतिथि बनेर आएको छ । ऊसित प्रवासी नेपालीका अनेक गुनासा, इच्छा र व्यक्त गर्न मन लागेका विषय हुन्छन् नै । ती गुनासा सुनिदिए के हुन्छ ? उच्च ओहदामा पुगेको व्यक्तिको छोरोलाई नै किन नहोस्, आफ्ना कठिनाइ सुनाउन पाए उपराष्ट्रपतिसम्म पुग्ला । नीति निर्माण तहमा पुगेका व्यक्तिले ती सुनेर नीति नै बनाउन पनि सक्लान् । के यति पनि प्रवासका नेपालीले आशा गर्न पाइन्न ? त्यसो होइन भने नेपालीसित भेट्नै नरुचाउने यस्ता हेपाहाहरु किन नेपालीकै कार्यक्रममा अतिथि बनेर आउनु ? प्रवासमा भेटिएका नेपालीलाई मान गर्न नसक्ने, परिचय गर्नसम्म पनि आवश्यक नठान्ने यतिबिघ्न टुप्पिएको व्यक्तिले अधिवेशनमा कस्तो भूमिका खेल्यो होला ?

उनी कुनै कार्यक्रममा पनि त थिएनन् । तालको किनारमा सेल्फि खिच्दै न थिए । दुई मीनेट हामीसित यिनले परिचय मात्रै गरेको भए के बिग्रिन्थ्यो ? सामान्य परिचय गरेर हामीबाट छुट्टिन पनि त सक्थे !

हजारौं नेपालीहरुको रगत र पसिनाको खोलोबाट उत्रिएर दिपेश पुनका पिता उपराष्ट्रपति बनेका हुन् । उनको पिताको पदमा लाखौं नेपालीको आँसु सिंचिएको छ । हजारौं बिधवाको सिन्दुर पुछिएको छ । हजारौ, लाखौंका सपना खोसेर उनका पिता उपराष्ट्रपतिको कुर्सीमा उक्लिन पाएका हुन् । उपराष्ट्रपतिको पुत्र बन्ने उनको अवसर लाखौं सपनाहरुमा डोजर पेलेर निस्किएको हो । उनका पिता र उनको पिताले हाँकेको पार्टीले हजारौं सपना बाँडे जुन कहिल्यै पूरा भएनन् । तैपनि पिता उपराष्ट्रपति हुँदैमा यो ठिटोलाई कति मात चढेको ? आफैं महत्वपूर्ण पदमा कुनै दिन पुग्यो भने कति नेपालीलाई अनादार गर्ला ? खुल्दुली लागिरह्यो । सोचें बूढापाकाहरुले ’भुइँ न भाँडामा, कुकुरलाई टाँडोमा’ भन्ने उखान त्यसै त बनाएका होइन रहेछन् ।


प्रतिक्रिया दिनुहोस !