​म मेयर, मदन भण्डारीकी छोरी उपमेयर « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

​म मेयर, मदन भण्डारीकी छोरी उपमेयर

प्रकाशित मिति :  २५ चैत्र २०७३, शुक्रबार ११:२९


  • केशव स्थापित, एमाले नेता

स्थानीय निर्वाचनको लहर छाइसकेको छ । सबभन्दा आकर्षण मानिने काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवारहरु स्वघोषित रुपमा प्रकट भइरहेका छन् । यही लहरका हुन्, केशव स्थापित । उनलाई एमालेको कुनै पनि पंक्तिले अहिलेसम्म उम्मेदवार घोषणा गरेको छैन । तर, उनले आफ्नो आकांक्षा व्यक्त गर्न थालिसकेका छन् । ०५४ मा अत्यधिक मतका साथ जितेका उनले बीचमा केही समय पार्टी निर्देशन तोडेर शाहीशासनमा मनोनित मेयरको काम गरे । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा अर्कै पार्टीबाट उम्मेदवार बन्दा काठमाडौंमा एमालेले क्षति व्यहोर्नुप¥यो । उनी यस्ता कुरा बिर्सनुपर्छ र नयाँ ढंगले जानुपर्छ भन्ने मान्यता राख्छन् । तर, एमालेपंक्तिमा उनले त्यही भूमिकाबापत पाउनुपर्ने सजायँ नपुगेको धारणा छ ।

० मेयरको उम्मेदवारी दिने कुरा कत्तिको भरपर्दो हो ? 

– तर्क, प्रमाणसहित उम्मेदवार हुन्छु, एमालेबाटै । 

० कस्तो तर्क ? कस्तो प्रमाण ?

– पार्टीले तोकेको मापदण्डभित्र पर्छु । त्यहाँ निरन्तरताको कुरा छ, त्यसमा मेरो अलिकति कमजोरी छ । कसैले अपराधै गरेर जेल भुक्तान गरिसकेपछि पुरानो कुरा उप्काउन पाइँदैन, मानहानी लाग्छ । मैले जीवनकालभरि अनवरत पार्टी र संगठनमै काम गरेँ । गोरखापत्र संस्थानमा आगो लगाउँदा मेरै घर पनि जल्थ्यो । तर, मैले नै त्यहाँ आगो लगाएँ, अनि ताली बजाएँ । हिजो युवा संघको नाम, झण्डा बनाइयो । माले, माक्र्सवादी भर्खर मिलेको थियो । पार्टी अध्यक्ष मनमोहन अधिकारीले विराटनगरमा ‘हाम्रो २८ सीट पक्का छ’ भन्नुभएको थियो । तर, हामीले मेची–महाकाली दौडिएर ६९ सीट ल्याउनेमा पु¥यायौँ । राष्ट्रिय खेलकुद परिषद्को जम्मा सात महिना सदस्य सचिव भएँ । तर, त्यतिबेला गरेको कामका कारण अहिले पनि राखेपमा हाम्रो बर्चस्व स्थापित छ । हिजो महानगर भन्ने कुरा मान्छेले बुझेकै थिएनन् । काम गरेर त्यसको चार्म बढाउने मैँ हुँ † त्यसैले आज मलाई सेलिब्रिटी भन्छन् । अरुको जित्ने सम्भावना होला, तर मैले जित्ने कुरा निश्चित छ भनिसकेपछि मैले दावी प्रस्तुत गर्नु स्वाभाविक हो । 

० तपाईंकै उम्मेदवारी किन ?

– नगर पञ्चायतको चुनावमा पार्टीले सीताराम मास्के र मेरो जोडी बनायो । कांग्रेसले प्रधानपञ्चमा ब्राह्मण समुदायको हरिबोल भट्टराई र नेवार समुदायको तीर्थराम डंगोललाई उठाएर जित्यो । मैले थोरै भोटले हारेँ । ०४८ मा राजेन्द्र श्रेष्ठ र मेरो जोडी बन्यो । राजेन्द्रजी अघिल्लो दिनमात्र नेपाल राष्ट्र बैंकको जागिरबाट राजीनामा दिएर आउनुभएको । हामी दुईटै नेवार † कांग्रेसले नेवार पिएल सिंह र क्षेत्री नवीन्द्रराज जोशीको जोडी बनायो, मैले केही सय मतले हारेँ । ०५४ मा मलाई मेयर र बाहुन विदुर मैनालीलाई उपमेयर उठाइयो । कांग्रेसबाट ‘प्रखर वक्ता’, ‘हेभी वेट’ भनिने मनमोहन भट्टराईलाई उठाइयो । तर, हिजो युवासंघको क्रियाशीलता, खेलकुदमा गरेको कामको आधारमा मैले मनमोहन भट्टराईभन्दा धेरै प्रतिशत मत ल्याएर चुनाव जितेँ । खसेको मतमध्ये ८२ प्रतिशत पाएँ । मेरो लोकप्रियताले विदुरजीलाई पनि जितायो । उम्मेदवारीमा सन्तुलन पनि हुनुपर्छ । नेवार–नेवार, क्षेत्री–क्षेत्री, बाहुन–बाहुन उठाएर हुँदैन । हिजो कृष्णप्रसाद भट्टराईसँग मदन भण्डारीलाई उठाउनुपर्छ भन्ने हामी हौँ । अब हामीले मदनको लिगेसीलाई ख्याल गर्नुपर्छ ।

० कसरी ?

– सम्माननीय राष्ट्रपतिज्यूकी जेठी छोरी उषाकिरण भण्डारी, जोसँग मदन भण्डारीको लिगेसी छ । उहाँ र म एउटै क्लबमा फिटनेश गर्छौं । मेरो तीन–चारचोटि कुरा पनि भइसक्यो । त्यसैले अबको मेयर म, उपमेयर उषाकिरण † सन्तुलन पनि कसरी मिल्ने भयो भने, म पुरुष, उहाँ महिला । म बुद्धिज्ममा विश्वास राख्ने, उहाँ हिन्दू समुदायको । एउटा काठमाडौंको रैथाने, अर्को बाहिरबाट आएर बसोबास गरेको समुदायको । हेर्नुस् त, कस्तो मिलेको । उम्मेदवारी घोषणा हुनासाथ एमालेले त जित्यो–जित्यो ! यो कुराले काठमाडौं त जितियो, सँगसँगै वरिपरिको नगरपालिका पनि जितिन्छ ।
 
० कसरी ?

– काठमाडौं महानगरपालिकाले बर्षेनी २० औँ अर्ब रकम परिचालन गर्छ । त्यत्तिका बजेट भएको महानगरपालिकाले वरिपरिका नगरपालिकाहरुलाई सहयोग गर्ने कुरा पनि हुन्छ । काठमाडौंमा हाम्रो उम्मेदवारी घोषणापछि म भोट माग्न जाने त ललितपुर, कीर्तिपुर, बूढानिलकण्ठतिर हो । ‘तपाईंहरुले एमालेको उम्मेदवार जिताउनुभयो भने काठमाडौं महानगरपालिकाबाट २० अर्बको प्रोजेक्ट बूढानिलकण्ठलाई….’ भनेपछि कति ताली बज्छ होला, सम्झनुस् त † जित्ने नै यसरी हो † काठमाडौंमा एमाले जित्ने भयो भन्ने लहर आयो भने त्यो लहरले देशैभरि प्रभाव पार्छ । सबैतिर एमाले नै एमाले हुन्छ । संसदको चुनावमा पनि एमालेले नै हो, जित्ने ।

० पार्टीले उम्मेदवार नतोक्दै अहिले नै भन्दै हिँड्नु ठीक हो त ?

– पार्टीमा गुट बनाउन पाइन्छ । तर, मैले गुट बनाएको छैन । मैले त देशभरि एमाले कसरी जिताउने भनेर पो कुरा ल्याएको । दावीहरु प्रस्तुत नगरे पार्टीलाई कसरी थाहा हुन्छ ?

० हतार भयो कि ? 

– भोलि म ओलम्पिकमा जाँदैछु भने आजै पो यहाँ यहाँबाट जान्छु भन्ने तय हुन्छ । मुखैमा पुगेर म पनि जाने हो भन िकहाँ हुन्छ ? यदि गलत भयो भने आलोचना सहुँला । विचारसहित आउनुप¥यो । म उम्मेदवार बनेपछि मेची–महाकालीसम्म पार्टी प्रवेशको यस्तो लहर आउँछ कि, अचम्मै पर्नुहुन्छ । मलाई सप्तरीबाट फोन आइसक्यो । ‘केपी ओलीलाई हामी मान्छौँ । उम्मेदवार भएपछि तपाईं नै आउनुस्,  हामी मधेसी मोर्चा छोडेर एमालेमा प्रवेश गर्छौं’ भनेका छन् । केही सामन्तले त्यहाँका जनतामा भ्रम फैलाएका छन् । त्रास देखाएका छन् । उनीहरु त्यसबाट मुक्त हुन चाहन्छन् । मधेसमा जो अगुवा भनेर देखिएका छन्, ती अगुवा नै होइनन् ।

मुलुकको सबभन्दा प्रभावकारी पार्टी एमाले नै हो भनेर लहर ल्याउने कुरा मैले गरेको छु । म उम्मेदवार बन्दा उभार आउँछ भने मलाई किन अवसर नदिनु ? चुनाव हुने, तर उम्मेदवारबारे कोठा–कोठामा बसेर गुटको छलफल गर्ने । म उम्मेदवार हो कि होइन, पार्टीले छलफल गरेर टुंगो लगाओस् । पार्टीले गर्ने निर्णय मानेर तोकेको काममा लागौँला । मैले भिजन राख्न त पाउनुपर्छ नि † मेरो कुरा हो, काठमाडौंको चुनाव हार्नुहुँदैन । एकचोटि हा¥यो भने हारेको हा¥यै हुन्छ । त्रिचन्द्र क्याम्पसमा अच्युत गौतमलाई सभापति उठाएको बेला झण्डै–झण्डै जितिसकेको । तर, थोरै भोटले हा¥याँै । त्यसपछि आजसम्म त्यहाँ जित्न सकिएको छैन । भोलि अर्बौं–खर्बौं खर्च गर्ने काठमाडौं महानगरपालिकामा पनि त्यस्तो नहोस् ।

० तपाईंको निरन्तरताको समस्याचाहिँ ?

– न्युरोडमा आफ्नो घर जलाएर पार्टीले भनेको काम गर्ने म, पार्टीको काममा हिँडेर जन्मिएको वर्षौंसम्म आफ्नो बाउ नचिन्ने मेरो छोरो † काठमाडौंमा बस्ने एमालेका कमरेडहरु कतिजना कर्णाली पुगेका छन् ? जुम्ला बसेर कर्णालीमा एमाले जिताएको त केशव स्थापितले हो नि † सुनसरीमा जगदिश कुसियत जिताउनका लागि कांग्रेसको आससभामा गएर ‘सबलाई ठोकिदिनु’ भन्ने को हो ? हिजो एउटा परिवेशले मलाई कतै पु¥यायो । पार्टी अध्यक्षले बोलाएर ‘तपाईं युवा संघमा मपछिको अध्यक्ष हो । तपाईं र मेरो आन्द्रा गाँसिएको छ । तपाईंका त्यत्रा योजना लागु गर्नुपर्छ । उपयुक्त ठाउँमा उपयुक्त जिम्मेवारी दिउँला’ भन्नुभएको हो । ‘हीराजस्तो मान्छेलाई अलिक पर पु¥याइयो’ भनेर फेरि पार्टीमा भिœयाइएको हो । केही मान्छेको काम छैन, केशव स्थापित यस्तो–उस्तो भनेर समय खर्चिंदा महान भएको ठान्छन् । 

० तपाईं ६ नंं. क्षेत्रमा उठ्नचाहिँ किन जानुभयो ?

– चुनाव आएपछि वामदेव कमरेडले काठमाडौंमा कसरी जित्ने भनेर सोध्नुभयो । काठमाडौंको कुन क्षेत्रमा को मान्छे भनेर नामसहित भनेँ । ‘तपाईंचाहिँ कति नम्बरमा ?’ भनेर सोध्नुभयो । मैले भनें, ‘यो मेरो बाटै होइन ।’ उहाँले ‘काठमाडौंको नेवार उठेपछि लहर आउँछ, तपाईं पनि उठ्ने’ भन्नुभयो । पछि योगेशजीको दावी आयो । त्यसपछि म अर्को क्षेत्रमा भनियो । सबै नेताले ‘तपाईं चाहिने मान्छे, उठ्नुपर्छ’ भन्ने, तर क्षेत्र नदिने ! मलाई फुटबल जस्तो बनाइयो । फुटबल स्थिर हुँदैन । त्यसैले त्यो फुटबल कता गुड्यो कता † विद्यासुन्दर शाक्यले एउटा अन्तर्वार्तामा ‘केशव स्थापितले टिकट पाएको भए जित्ने’ भन्नुभएको छ । मेरो आवश्यकता त रहेछ नि † मेरो आवश्यकता हुँदाहुँदै मलाई फुटबलजसरी कहिले यता, कहिले उता गर्दै पर नपु¥याएको भए हुन्थ्यो । ‘चाहिएन, चाहिएन’ भन्दा पनि ‘लहर ल्याउनुपर्छ’ भन्दै उकास्ने काम भयो । त्यसपछि मबाट पनि भूलचुक भयो । मलाई नेतृत्वले बेलैमा बाँध्ने काम किन गरेन ? टिकट नदिएर चुनाव परिचालनमा राखिदिएको भए भैहाल्थ्यो नि † महासचिव ईश्वर पोखरेललाई चुनाव हराएर सपना भंग गराइदियो भनियो । महासचिवले यो मान्छे आवश्यक छ भनेको भए के हुन्थ्यो ? उहाँकै चुनाव परिचालन गरेर हिँड्थें, मेरो महासचिव भन्दै ! जिन्दगीमा गरेका त्यत्रा योगदानका अगाडि एउटा चुक भयो भनेर सधैँ त्यही कुरामा कति स्पष्टिकरण दिइरहनु ? म उठिदिएर तीन–चार ठाउँमा पार्टी हा¥यो रे † म उठेर आफूले हार्दा पार्टी पनि सँगै हार्ने भनेपछि मेरो महŒव त रहेछ नि !

० उषाकिरणको प्रस्ताव कहाँ कहाँ राख्नुभयो ?

– सम्बन्धित ठाउँमा भनिसकेको छु । उम्मेदवारी घोषणा गरेको भोलिपल्टदेखि व्यापारीहरुले शुभकामना छपाउन थाल्छन्, ‘अग्रीम बधाइ’ भनेर । त्यसरी काठमाडौं महानगरपालिकामा चुनाव जितियो भने स्वास्थ्यमा केही खराबी हुनुभएका अध्यक्ष केपी कमरेडको एक वर्ष आयु थपिन्छ । काठमाडौं जितेपछि अर्को पनि जितिन्छ, फेरि अर्को एक वर्ष आयु थपियो । यसरी केपी ओलीको २० वर्षको आयु थप्ने काम हो यो । 

० भोट माग्दा के योजना सुनाउनुहुन्छ ? 

– गर्दा हुन्छ भन्ने कुरा त माइतीघरबाट हेर्नुस् न ! २२ वटा घर थियो । सबैको चित्त बुझाएर एक दिनमा भत्काउने, १४ दिनमा मण्डला बनाउने, पानी ल्याउनेसम्मको काम भयो । हिजो स्थानीय निकायका रुपमा मन्त्रालय धाउनुपथ्र्यो । अब स्थानीय सरकार हुन्छ । स्रोत परिचालन, राजस्व संकलन सहज हुने भयो । निर्माण परियोजनालाई सुधार गर्नुपर्छ । महानगरपालिकाको काम ठेकेदार खोज्दै हिँड्नेजस्तो भएको छ । महानगरपालिकाअन्तर्गत आफ्नै निर्माण कम्पनी बनाएर काम गरिन्छ । ठेकेदार खोजेर एक वर्षमा हुने काम आफैँले गर्दा एकदिनमा हुन्छ । काठमाडौंमा धुलो उडिरहेको छ नि, यसमा एउटा केमिकल हाल्यो भने त्यहाँ एकछिन हलुवाजस्तो हुन्छ र विस्तारै ढुंगाजस्तो भएर आउँछ । धुलो उड्दैन । बागबजारमा पाँच सय चानचुन घर छन् । त्यो भत्काएर दुईवटा टावरमा त्यहाँका बासिन्दालाई राखिदिने । अहिलेजस्तो अँध्यारो गल्ली, पानी छैन, बिजुली छैन, आगो लाग्यो भने दमकल छिर्ने ठाउँ छैन– यस्तो अवस्था हुन दिइँदैन । टावरमा बसेर पूरै काठमाडौं हेर्न पाइने भयो भनेर त्यहाँका जनता खुशी हुन्छन् ।


प्रतिक्रिया दिनुहोस !