मुख्यमन्त्रीमा सोनामको दाबी, आजै सानो मन्त्रिमण्डल बन्ने

मुख्यमन्त्रीमा सोनामको दाबी, आजै सानो मन्त्रिमण्डल बन्ने

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी सोनामको दावेदारी परेको छ । प्रदेश प्रमुख आमिक शेरचनले मुख्यमन्त्रीमा दाबी गर्न दिएको अपरान्ह ३ बजेको समयसीमा घर्किनै लाग्दा ४२ सांसदको हस्ताक्षरसहित केसीले दाबी पेश गर्नुभएको हो ।

केसीको समर्थनमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र जनमोर्चामा प्रदेशसभाका ४२ सांसदले हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर केही बेरअघि प्रदेश प्रमुख शेरचनसमक्ष बुझाइएको हो । केसीको समर्थनमा माओवादी केन्द्रका १९, काँग्रेसका १८, जसपाका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन् ।

आफूविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा दाबी पेश गर्न आज दिउँसो ३ बजेसम्मको समय दिनुभएको थियो ।

बहुमत जुटेसँगै केसीको नेतृत्वमा नयाँ सरकार बन्ने निश्चित भएको छ। आजै सानो आधारको मन्त्रिमण्डल बनाउने उनीहरूको तयारी छ । बताइए अनुसार पहिलो चरणमा आज गठवन्धनमा सहभागी कांग्रेस, माओवादी र जसपाबाट एक-एक जनालाई समेटेर मन्त्रिमण्डल गठनको तयारी भैरहेको छ ।

टिप्पणीहरू