​दूधबाट पैसा दनादन

जम्मा ५० पैसाको कुराले राजधानीका बासिन्दा गुणस्तरहीन र बासी दूध पिउन बाध्य छन् । कमिशन विवादका कारण दुग्ध विकास संस्थान (डिडिसी) लाई दूध संकलकहरुले दूध दिने क्रम घटाएका छन् । फलतः दूधको कलेक्सन कम भएको छ । किसानबाट दूध नआएर संस्थानले निजी डेरीसँग किन्नुपरेको छ । संस्थानसँग पाउडर दूध पनि छैन । दूधमा फ्याट मिलाउने बटर आयल सकिएको छ । यो कारण घ्यूको उत्पादन प्रभावित भएको छ । दूधको क्वालिटी हप्ताको तीन दिन निम्नस्तरको हुन्छ । महाप्रबन्धक र आयोजना प्रमुखले आ–आफ्ना अनुकूलका मान्छे ल्याबमा राख्ने गरेका छन् । ती मान्छेको काम हो, गुणस्तर घटाएर घोटाला गर्ने । 

उता, संस्थानसँग दूध किनेर बजार लैजाने वितरकले ५० पैसा मागेपछि उत्पन्न समस्याका कारण उनीहरुले संस्थानको दूध कम बिक्री गर्न थालेका छन् । विवादको कारण हो, कमिशन । पहिला प्रतिप्याकेट पाँच पैसा थियो, अहिले वितरकले ५० पैसा प्रतिप्याकेट मागेका छन् । निजी उत्पादकले ७५ पैसा प्रतिप्याकेटका दरले दूध दिने गरेका छन् । यसरी एकैचोटि २५ पैसा बढाउन नसकिने अडान काठमाडौं दूग्ध वितरण आयोजना बालाजुका प्रमुख ईश्वरी न्यौपानेले लिएका हुन् । उनी अख्तियारबाट अकूत सम्पत्तिमा मुद्दा चलेर अर्कातिर सेकिएका छन् । बालाजुमा हाजिर भइकन आफ्ना लागि बेग्लै र छोराका लागि पनि अर्को सुविधासम्पन्न कार किनिदिएका छन् । गोंगबुमा चार तला र पोखरामा पनि त्यत्रै घर छ । जमीन अथाहा जोडेका छन् । 

दूधको कमी भएर कमिशन खानलाई बटर आयल र पाउडर दूध निजी डेरीबाट चलनचल्तीको दरभन्दा बढीमा किनिएको छ । त्यसैले हिजोआज राजधानीवासी गुणस्तरहीन बटर आयल र पाउडरको दूध खान बाध्य भएका हुन् ।

उता, १८ डेरी सहायक तहमा एक वर्षअगाडि विज्ञापन निकालिएको थियो । त्यसमा २८ सयले भाग लिए । अन्तर्वार्तामा १५ देखि १८ सयलाई बोलाइयो । तीन महिना लगाएर १५ सयको अन्तर्वार्ता लिइयो । पदपूर्ति समितिमा बसेकाले दिनको दुई हजारका दरले भत्ता खाएको हिसाब पेश भएको छ । पदपूर्तिमा महाप्रबन्धक गंगा तिमल्सिना, प्रशासकीय अधिकारी पोष्टबहादुर थापा, लोकसेवा आयोगका उपसचिव (हालः सहसचिव) सन्तोष दाहाललगायतका छन् । रमाइलो के छ भने, अर्कालाई देखाएर आफूले पैसा दोबार्ने धन्दामा पोष्टबहादुर लागेका छन् ।

जस्तो कि, बढुवा भएपछि चैत २ गतेदेखि सन्तोष त्यहाँ जान छाडे । तर, पदपूर्तिको एउटा बैठकको भत्ता दुई हजार लिन नेपाल सरकारको कुनै पनि ऐन–नियमले दिँदैन । सन्तोषले सुनाएअनुसार, नियमानुसार हात पर्ने भत्ताबाहेक उनले एक रुपैयाँ पनि बढी पैसा लिएका छैनन् । तर, उनकै समेत नाममा घोटाला चलेको छ । ‘हामीलाई त चाहिएन, तर, लोकसेवाका मान्छे मिलाउनुपर्छ हजुर’ भन्दै पोष्टबहादुर डेरी सहायक पदमा दुईदेखि तीन लाख उठाउन व्यस्त छन् । यसरी आठ जनाले कम्तिमा दुई लाखका दरले बुझाएका छन् । अन्य सहायकस्तरका पदको लोकसेवाले परीक्षा लिएको छ । अहिले महाप्रबन्धक नभएका कारण बैठक बसेको छैन ।

नागार्जुनको एक रिसोर्टमा बसेर उपसचिव पोष्टबहादुरकै सेटिङमा अधिकृतका लागि आठ र सहायकका लागि सात लाख रेट तोकिएको छ, लोकसेवालाई देखाउँदै । यसअघिको विज्ञापनमा पोष्टले आफ्नो छोरालाई डेरी सहायकमा स्थायी गराएका थिए । अर्का छोरा दीपक थापा, बुहारीहरु सुस्मिता र रुबीलाई पनि स्थायी गराउने र त्यसबापत अरु प्रतिस्पर्धीसँग पैसा उठाउने जिम्मा पोष्टले पाएका हुन् ।

टिप्पणीहरू