को कुर्सीमा, को करिडोरमा ? « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

को कुर्सीमा, को करिडोरमा ?

प्रकाशित मिति :  २८ श्रावण २०७८, बिहीबार १३:०१


सिंहदरबारभित्रको लफडा कस्तो भने कतै सचिव थुपारिएको छ, बस्ने ठाउँ छैन । कतै सचिव छैनन्, कुर्सी रिक्त, काम ठप्प । अस्ति सोमबारसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिम्मेवारी र कार्यकक्षविहीन भई प्यासेजमा हिँड्ने ९ जना ‘कोरिडोर सचिव’ रहेकोमा चारै जना थपेर भीड जुटाइएको छ ।

बैकुण्ठ अर्याल, कृष्णहरि पुष्कर, डा. रामप्रसाद घिमिरे र किरणराज शर्माको सरुवा हुँदा त्यहाँ महेश्वर न्यौपानेदेखि भरत सुवेदीसम्मलाई तान्ने काम भएको छ । प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव शंकर वैरागीसहित सचिवहरू बैकुण्ठ अर्याल, धनराज ज्ञवाली र शिशिरकुमार ढुंगाना कामकाजी सचिव थिए । तीमध्ये बैकुण्ठ अर्याललाई सोमबारको क्याबिनेट बैठकले सञ्चारमा खटाएको छ ।

‘कोरिडोर सचिव’, अर्थात् जगेडामा राखिएकामध्ये तीन जनालाई तल खटाइए पनि हरि मैनाली र खगेन्द्रप्रसाद नेपालको हकमा अझै निर्णय भएको छैन । र, ‘कोरिडोर’ मा थपिएका छन्, अर्थका क्वाडेटर स्वास्थ्यबाट तानिएका लक्ष्मण अर्यालसहित गृहबाट सोमबार सरुवामा परेका महेश्वर न्यौपानेदेखि ५ नम्बर प्रदेशका भरत सुवेदीसम्म । अझै प्रम कार्यालयमा चार सचिव जगेडामा छन् ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नौ सचिव थुपारिँदा हाजिर गर्ने, फर्किने दैनिकी बनेको थियो । रिक्त रक्षा मन्त्रालयमा बेगेन्द्र शर्मा पौडेललाई खटाइएको छ । उनी घर जान ६ महिना मात्र बाँकी छ ।

२ नम्बर प्रदेशका प्रमुख सचिव गोकर्णमणि दुवाडीलाई वित्त आयोगमा तानिएसँगै सो प्रदेश प्रमुख सचिवबिहिन बनेको छ । यस्तै प्रदेश १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा नियन्त्रकको कार्यालयमा पठाइएको छ । त्यहाँ प्रम कार्यालयको जगेडामा राखिएका डा.रामप्रसाद घिमिरेलाई खटाइएको छ ।

सरुवाअघि ‘कोरिडोर’ मा बसेकामध्ये किरण शर्मा बागमतीको प्रमुख सचिव, डा. रामप्रसाद प्रदेश १ र कृष्णहरि पुष्कर लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा पठाइएका छन् । शंकर पोखरेलनिकट भरत सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

रामशरण पुडासैनी घर गएसँगै अर्थको राजश्व सचिव पद रिक्त छ । स्वास्थ्य तथा जनसंख्याबाट लक्ष्मण अर्याललाई तानिएसँगै त्यहाँ एक प्रशासनिक सचिव रिक्त छ ।

यसअघि रिक्त कृषि मन्त्रालयमा क्याबिनेटले डा. गोविन्द शर्मालाई बढुवा गरी पदस्थापन गरे पनि अझै १९ मन्त्रालय मन्त्रीविहीन, ३ मन्त्रालय सचिवविहीन अवस्थामा रहँदा प्रम कार्यालयमा थुप्रिएकाहरू हाजिर गर्दै घर फर्कंदै छन् ।


प्रतिक्रिया दिनुहोस !