पूर्व प्रधानमन्त्री ओलीको भाइका पीडा

पूर्व प्रधानमन्त्री ओलीको भाइका पीडा

नेपाली समाजमा ‘सौतेलो साइनो’ लाई हेलाँ–होचो गर्ने चलन त पुरानै हो । यस्तो चलनबाट दुई–दुईचोटि देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) भइसक्नुभएका केपी ओली पनि मुक्त हुन सक्नुभएको रहेनछ ।

उहाँ जन्मिएको तीन वर्षपछि आमा बित्नुभयो । त्यसपछि बुबा मोहनप्रसादले अर्को विवाह गर्नुभयो । तर, ती ‘सौतेनी’ आमासँग समाजले देखिने गरी केपीले मायालु व्यवहार गर्नुहुन्न । हरेक दशैंमा बुबाको हातबाट टीका थापेको फोटो सार्वजनिक गरिन्छ । तर, आमासँग फोटो खिच्ने गरी त के समाजले देख्ने गरी कुनै भेट वा गफसम्म गर्नुहुन्न ।

दशैंमा आमाको हातबाट टीका लगाउनुहुन्छ । तर, रातको ११ बजेपछि, रातो प्लेटको गाडीमा अरुले नदेख्ने गरी गएर ! अनि, ती फोटा सार्वजनिक हुँदैनन् । कान्छी आमा अहिले भक्तपुर, दुवाकोटस्थित केपीका भाइ ताराप्रसाद ओलीको घरमा बस्ने गर्नुहुन्छ ।

४ आनामा बनेको त्यो घरचाहिँ केपीले आफूलाई ताराकी पत्नी अञ्जना घिमिरेले २०६४ सालमा पहिलोचोटि मिर्गौला दिएबापत सशस्त्रको क्याम्प नजिकै भर्खरै किनिदिनुभएको हो । ताराका दाइ, अर्थात् केपीका माइला भाइको २ महिनाअघि दोस्रो भेरियन्टको कोभिडका कारण शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भयो ।

बुहारीले मिर्गौला दिएबापत उहाँले शीतल निवासमा टेलिफोन अपरेटरको जागिर र भर्खरै एउटा घर त किनिदिनुभयो । तर, बुहारी अञ्जनाका बुबा ध्रुव अर्थात् भाइका ससुरा चितवनमा क्यान्सर रोगको उपचार गराउँदै हुनुहुन्छ । त्यसमा उहाँको कुनै योगदान छैन ।

अञ्जनासँग भाइ ताराको विवाह भने पार्टीकै मान्छेहरूको सम्पर्कबाट भएको हो । जननेता मदन भण्डारीका कान्छा भाइ तथा वरिष्ठ अर्थो सर्जन डा.कैलाश, राष्ट्रपति विद्या भण्डारीका भाइ तेजेन्द्र पाण्डे र तारा कुनै बेला काठमाडौंको एउटै कोठामा बस्थे । त्यही हेलमेलका क्रममा अञ्जनासँग विवाह गर्ने तारतम्य मिलेको हो ।

तारा केपी ०५१ मा गृहमन्त्री बनेदेखि लगातार काठमाडौं बस्छन् । उनले अञ्जनासँग पनि ०५१ पछि नै विवाह गरेका हुन् । अञ्जना ११ महिनाको सुत्केरी हुँदा केपीका लागि मिर्गौला दिएकी थिइन् । कहिले कराँते खेल्ने, कहिले व्यापार गर्ने भन्दै भौंतारिएका तारा कुनै पनि क्षेत्रमा दिगो थिएनन् । दुवाकोटमा केपीले घर किनिदिनुअघि गुह्येश्वरी किनाराको नयाँ बस्ती (बागमती नगर) मा डेरा बस्थे ।

दाइ दक्षिण बालकोट बस्ने, भाइ उत्तर दुवाकोट । वारिपारि छरछिमेकले ‘केपी ओलीका भाइको घर’ भनेर उक्त घरलाई चिन्छन् । गत साता पल्लो घरमा चोरी भयो । ‘पूर्वप्रधानमन्त्रीको भाइको घर’ भनेर छिमेकीहरू गुहार्न गए । तर, ‘पूर्वप्रधानमन्त्री’ लाई त्यो घरको के वास्ता होस् !

टिप्पणीहरू