​सुन्दरीले प्रहरी समातेपछि

पत्याउनुहुन्छ ? काठमाडौंमा मोडलिङको नाममा उच्चस्तरीय जीवनयापन गर्ने युवतीले एकचोटि दुबई छिर्नमात्र पाए काठमाडौं विमानस्थलका प्रहरीलाई हाताहाती ५० हजार नगद, स्टार होटलमा एक रातको खानपानसहित यौनसम्पर्कको व्यवस्था पनि गरिदिन्छन् । नपत्याए, महानगरीय प्रहरी परिसरको हिरासतमा पाता कसेर राखिएका प्रहरी हवल्दार महनीलाल बसेकलाई भेट्नुस् र सोध्नुस् । राणाकी छोरी बताउने एक युवतीले यस्तो प्रस्ताव मात्र राखिनन्, होटलमा बोलाइवरी पुलिसको जिम्मा लगाएर खोरमा पठाइन् । 

आइतबार दरबारमार्गस्थित होटल उडल्याण्डबाट पक्राउ परेका नवलपरासी स्थायी घर भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षा गार्ड दरबन्दीका बसेकले युवतीहरुसँग गरेको यस्तो कारोबार पहिलो थिएन । त्यहाँ सिपाही र हवल्दारमार्फत हाकिमसम्मलाई यस्तो रकम र मस्तीको व्यवस्थापन हुने कुरा हिरासतमा पुगेपछि उनैले खुलासा गरिसकेका छन् । तर, एक महिनादेखि दुबई जाने नाममा सम्पर्कमा आएकी सरु राणा (नाम परिवर्तन) ले आइतबार फसाइदिएको हाकिमहरुलाई सुनाएका छन् । हवल्दारले बताएअनुसार, काठमाडौंमा महँगो गाडी चढ्ने, महंगा होटल, क्याफे र पबहरुमा टहलाउने र त्यहीस्तरका ग्याजेट चलाउने युवतीको दुबई आवत–जावत बाक्लिएको छ ।

अन्तरदेशीय चेलिबेटी बेचबिखन क्रममा विमानस्थलको बाटो हुँदै नेपाली युवती खाडी मुलुक पु¥याइने र त्यहाँ पुगेर बिचल्ली हुने असंख्य उजुरीका कारण काठमाडौं विमानस्थलमा युवतीहरुलाई खाडी मुलुक प्रवेशमा कडाइ गरिँदै आएको छ । कामदार भिसामा महिलालाई खाडी प्रवेशमा रोक लगाइएको छ । तर, सम्बन्धित देशबाट पर्यटक भिसा जारी गरिएको अवस्थामा विदेशको सम्पर्क व्यक्ति वा कम्पनी, होटल बुकिङको सक्कली कागजात, होटलको सम्पर्क नम्बरहरु भेरिफाई गरेर प्रहरीले तिनलाई विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा छिर्न दिने गरेको छ । आजकल दुबई खाडीको बैंकक शहरका रुपमा चिनिने गरेको छ ।

खाडी मुलुक भए पनि त्यहाँ सबैखाले मनोरञ्जनका साधन उपलब्ध छन् । र, पछिल्लो समय थाइल्याण्डको यौन पर्यटनमा आएको गिरावटपछि दुबईमा विदेशीको आवत–जावत बढ्न थालेको प्रहरीले जनाएको छ । आइतबारको घटनाबारे युवतीले एक टेलिभिजन च्यानलको न्युज टिमलाई  पूर्व जानकारी दिएकी थिइन् । सादा पोशाकका प्रहरी पनि साथै थिए । होटलको एउटा छेउमा बसेर उनीहरुबीच रकमको बार्गेनिङ चलिरहेको थियो, जुन दृश्यलाई क्यामेराले कैद गरिरहेको थियो । कुराकानी हुँदाहुँदै प्रहरीले हवल्दारलाई रंगेहात समातेको हो ।

टिप्पणीहरू