मुख्य न्यायाधीश नभएको मौका छोपेर झटपट चोख्याउने दाउ « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

मुख्य न्यायाधीश नभएको मौका छोपेर झटपट चोख्याउने दाउ

प्रकाशित मिति :  २७ श्रावण २०७८, बुधबार १३:०५


भ्रष्टाचारसम्बन्धी मुद्दाहरु हेर्ने विशेष अदालतमा कुनै मुद्दालाई वर्षौंदेखि थन्काइएको छ भने कुनैलाई हतार हतारमा अघि बढाइएको छ । आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. राजकुमार रौनियारविरुद्धको भ्रष्टाचारको मुद्दालाई अस्वाभाविक ढंगले हतारमा पेशी चढाइएपछि सर्वत्र आशंका बढेको हो ।

प्रतिष्ठानको भवन निर्माण सम्बन्धमा ठेकेदारसँग आफ्नै कार्यकक्षमा आठ लाख रुपैयाँ घुस लिँदालिदै रंगेहात पक्राउ परेका रौनियारलाई बदलिँदो राजनीतिक परिवेशमा चोख्याउने सुरसारमा हप्तै पिक्च्छेको हिसाबले आज फेरि विशेष अदालतमा पेश चढाइएको छ ।अख्तियारको छानबिन र अनुसन्धानमा रौनियारसहितले प्रतिष्ठानमा १ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएको थियो । तर,विशेष अदालतका मुख्य न्यायाधीश प्रेमराज कार्की इलाम सरुवा भएको मौका छोपेर रौनियारको मुद्दालाई प्राथमिकता दिनुले सबैलाई झस्काइदिएको छ ।

नेपाली काँग्रेस नेतृत्वको सरकारमा काँग्रेस निकट रौनियारले अदालतमा समेत काँग्रेसको च्यानल प्रयोग गरेको बताइन्छ । आज उनीविरुद्ध अख्तियारले दायर गरेको मुद्दा न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा राखिएको छ । सामान्यतया तीन जना न्यायाधीशले हेर्ने यस्ता मुध्दा दुई जनाले हेर्न कस्सिनु र अध्यक्ष बनाइदिने आश्वासनले काम गर्नुमा राम्रै लेनदेनको गन्ध मिसिएको चर्चा बबरमहलतिर ब्यापक छ ।

उता मुख्यसचिव हुने पालोमा बसेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मामाथि लगाइएको भ्रष्टाचारको मुद्दा पाँच वर्षदेखि छिनोफानो गरिएको छैन । जबकि रौनियारको मुद्दालाई भने रातारात पेशी चढाइएको छ । जुन आज छिनोफानो गर्ने गरी अघि बढाइएको अदालत स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !