मोदीको रोजाइले दिएको नेपालमन्त्र « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

मोदीको रोजाइले दिएको नेपालमन्त्र

प्रकाशित मिति :  १८ चैत्र २०७३, शुक्रबार ११:५४


भारत उत्तरप्रदेशको मुख्यमन्त्रीमा योगी आदित्यनाथले शपथ लिइरहेका बेला अघिल्लो आइतबार हिन्दुराष्ट्र कायम गर्न भन्दै राप्रपाले संविधान संशोधन विधेयक दर्ता गरेको छ । २२ करोड जनसंख्या भएको भारतको सबैभन्दा ठूलो उत्तरप्रदेश हामीसँग सीमा जोडिएको प्रमुख प्रदेश हो ।

आदित्यनाथ नेपालबारे धेरै जानकार पात्र हुन्, जसले गोरखपुरस्थित मन्दिरको महन्थ रहँदैदेखि कैयन नेपाली राजनीतिक र साँस्कृतिक पात्रसँग गहिरो सम्बन्ध राख्दै आएका छन् । यतातिर उनको कनेक्सन जति लामो छ, त्यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उत्तिकै गहिरो छ । रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र नवलपरासीका विभिन्न धार्मिक र साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिको रूपमा धेरैपटक आएका ४४ वर्षीय योगीकै विश्वासमा मोदीले आगामी नेपाल नीति तय गर्ने अड्कल काटिएको छ । यसपालिको विधानसभा चुनावमा ४ सय ३ मध्ये ३ सय २५ सीट भारतीय जनता पार्टीलाई जिताउन यिनै योगीले भूमिका खेलेका थिए । युवामाझ लोकप्रिय योगी काममा जति खट्न सक्छन्, उत्तिकै खरो स्वभावका छन् । अझ कट्टर हिन्दुवादी छविको कारण नेपालको सीमावर्ती क्षेत्रमा समेत उनको प्रभाव छ । जानकारका अनुसार नाकाबन्दीका कारण भारतप्रति टुटेको नेपाली जनताको विश्वासलाई जोड्ने कडीका रूपमा मोदीले यिनैलाई प्रयोग गर्ने निश्चित छ, जसका लागि हिन्दुराष्ट्र बनाउनुपर्ने अभियान चर्काइनेछ । यो डिजाइन योगीले लखनउस्थित मुख्यालयबाट गर्नेछन् ।

विगतमा गोरखपुरमा योगीलाई भेट्न खुमबहादुर खड्का, कुमार रेग्मी र कांग्रेस स्याङ्जाका नेता एवं पूर्वसांसद शंकर पाण्डे थुप्रैपल्ट पुगेका छन् । हिन्दु आन्दोलन चर्काउन पाण्डेले रूपन्देही, कपिलवस्तु र नवलपरासीमा सञ्जाल विस्तार गरिसकेका छन् । उनीसँगै पूर्वगृहराज्यमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल पनि योगीसँग नजिकको सम्बन्ध राख्छन्, जो हिन्दुराष्ट्र बनाउनुपर्ने अभियानको नेतृत्व गरिरहेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्कानिकट मानिन्छन् । त्यसैगरी, सधैं हिन्दु र मुस्लिम इगो गराएर चुनाव जित्दै आएका संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेकप्रताप शाहको पनि योगी आदित्यनाथसँग राम्रो कनेक्सन छ । कृष्णनगरलाई आधार बनाएर जतिबेला पनि हिन्दुराष्ट्र बनाऔं आन्दोलन चर्किन सक्ने सुरक्षा निकायले आकलन गरिसकेका छन् ।

हिन्दु युवा बाहिनी पश्चिमाञ्चल क्षेत्रीय समितिका संयोजक अशोक बर्मा हिन्दु आन्दोलनले अहिले पहाड र मधेसको दरार सकिने विश्लेषण गर्छन् । संघीय समाजवादी फोरम रूपन्देही—४ का अध्यक्ष बर्माले हिन्दुराष्ट्र बनाऔं आन्दोलनले अब मधेस आन्दोलनलाई मोड्ने टिप्पणी गरे ।


प्रतिक्रिया दिनुहोस !