तात्न थाले शहर र गाउँ, भोट हाल्न जाऊँ

स्थानीय निर्वाचन हुने नहुने अलमलमा परेका राजनीतिक दलले आन्तरिक क्रियाशीलतालाई भने ह्वात्तै बढाएका छन् । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र सबैभन्दा धेरै अलमलमा परेको देखिन्छ । कांग्रेस झन् सुस्त छ । एमालेले गाउँ, नगर र टोल–टोलमा कार्यक्रम गरिरहेको छ ।'
 
एमालेभित्र उम्मेदवारको मापदण्ड तोक्दै बागीसम्मलाई ठेगान लगाउने तयारी गरिए पनि वर्ष दिनपछि सोमबार मात्रै काभ्रे जिल्ला कमिटीको बैठक बसेको छ । त्यो पनि केन्द्रीय कमिटीले १५ गते मंगलबारभित्र जसरी पनि बैठक बस्न र स्थानीय तहको जिम्मेवारी दिन पछि सर्कुलर जारी गरे । बैठकमा पहिलो र दोस्रो कुन भन्ने विषयमा केही समय गरामगरम भएको थियो । एमालेले पूर्वउपप्रमुख अशोक ब्याञ्जुलाई धुलिखेल नगरपालिकाको प्रमुखमा उठाउने निर्णय गरेको छ । धुलिखेलबाट विमला शर्मा, रमिला तामाङलगायत आकांक्षी छन् ।

त्यस्तै बनेपामा लक्ष्मीनरसिं बादे वा रघुवर चौ प्रधान, पनौतीमा भीम न्यौपाने, रमेश पौड्याल, राजाराम सैजु, कुमार थापालगायतबाट उठाउने तयारी छ । नमोबुद्ध नगरपालिकाबाट टिपी शर्मा तिमल्सिना, गोमा भुर्तेललगायत छन् । पाँचखाल नगरपालिकाका आकांक्षी कञ्चन अधिकारी, रुद्र बानियाँ, रवीन्द्र सिपखानलगायत छन् । 

त्यस्तै, मण्डन देउपुर नगरपालिकामा अध्यक्ष टोकबहादुर वाइवा, राधाकृष्ण बस्ताकोटी, अम्बिका हमाललगायत जुर्मुराएका छन् ।
एकीकरण गरेर ठूलो बनेको राप्रपासमेत गाउँ जान थाले पनि अझै प्रभावकारी योजना बनेको छैन । ०५४ सालको स्थानीय निकाय निर्वाचनमा ८७ गाउँपालिका र तीन नपामध्ये अधिकांशमा  एमालेको वर्चस्व थियो । ती निकाय अहिले १३ मा गाभिएका छन् । ७ मध्ये डाँडापारिका दुई गाउँपालिकामा माओवादीको प्रभाव रहेको र ०६४ सालको संविधानसभा निर्वाचनमा एमालेले आफ्नो मत सुरक्षित गरेको थियो । कोशीपारिका दुई, रोशी, तिमाल, बेथान्चोकलगायत गाउँपालिकामा समेत एमालेले नियमित भेला, कार्यकर्तासँग समन्वय र सम्पर्क गरिरहेको छ । नगरपालिकामा जनवर्गीय संगठन सबैलाई क्रियाशील बनाएको छ । पछिल्लो समय ज्येष्ठ सदस्यहरूको सम्मान र अन्य पार्टीबाट प्रवेश गर्न चाहनेहरूलाई स्वागत गर्दै एमाले गाउँ–गाउँ पुगेको छ । जिल्ला निर्वाचन कार्यालयले १ सय ८९ मतदान केन्द्र कायम गरेको छ । 

यसअघि संविधानसभा निर्वाचन २०७० मा १ सय ८५ केन्द्र थिए । मतदान केन्द्र थपिनेमा बनेपा नगरपालिकामा मात्रै तीनवटा छन् । हालको बनेपा–११ मा रहेको सरस्वती महिला सामुदायिक भवन, बनेपा–३ स्थित नन्दादेवी प्रावि र साविक नासिका साँगा गाविस भवन रहेको १३ नम्बर वडामा मतदात केन्द्र थपिएका हुन् । 

अघिल्लो पटक वैद्य माओवादीले फोटोसहितको मतदाता परिचयपत्र लुटेकाले नागरिकता वा अन्य परिचयपत्रको माध्यमबाट मतदान गर्न अवसर दिइएको थियो । यो पटक आयोगले फोटो सहितको मतदाता परिचयपत्रलाई अनिवार्य गरेको छ । 
२५ वटा दलले दल दर्ता गरे पनि निर्वाचन आयोगले छलफल गर्न संविधानसभामा प्रतिनिधित्व गरेका ११ दललाई मात्रै बोलाउने गरेको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भने ११३ दल दर्ता भएका छन् । 

– मोतीराम तिमल्सिना

टिप्पणीहरू