अभिनेताका रूपमा आउन लागे ओली

सबैलाई उखानटुक्कामार्फत व्यंग्य प्रहार गर्न खप्पिस नेता हुन्, एमाले अध्यक्ष केपी शर्मा ओली । कडा विचार र स्पष्ट धारणाबाट विपक्षीलाई हायल–कायल गर्ने नेता ओली अब फरक काम र भूमिकामा देखिएका छन् । निर्देशक तिलक बस्नेतले म्युजिक भिडियो ‘म मर्न तयार छु’ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनय गराएका छन् । पाँच मिनेट ५४ सेकेन्ड लामो उक्त भिडियोमा पूर्वप्रधानमन्त्री ओलीसहित पूर्वमन्त्री लालबाबु पण्डित, रामशरण महत र टोपबहादुर रायमाझीको अभिनय देख्न सकिन्छ । 

‘आँखा लाउने बैरीको शिर चुँडाउन नपरोस् 
खिया ला’को खुकुरीलाई उध्याउन नपरोस्’ 

युट्युबमार्फत सार्वजनिक उक्त म्युजिक भिडियोमा तिलक बस्नेत र मनीषा राईको स्वर छ । राष्ट्रभक्तिको भाव भएको ‘म मर्न तयार छु’ बोलको गीतमा एमाले अध्यक्षसमेत रहेका ओलीले ‘शान्तिसँग बस्न चाहन्छन् बुद्धका सन्तान, शान्तिसँग बस्न देऊ’ भन्ने शब्दमा नेपाली झण्डा हल्लाएका हुन् । गीतमा स्वर, शब्द र संगीत दिएका तिलकले भिडियो पनि निर्देशन गरेका हुन् ।

ता, नेता ओलीले निर्माण हुन लागेको चलचित्र रातो सूर्यमा नायकको भूमिका निर्वाह गर्ने भएका छन् । रातो सूर्यको निर्देशन दीपेन्द्रप्रसाद दाहालले गर्दै छन् । दाहालका अनुसार चलचित्रमा ओलीको बाल्यकालदेखि ६५ वर्षको उमेरसम्मको कुरालाई समेटिनेछ । अर्थात् यो केपी ओलीकै बायोपिक हो । बायोपिकमा नायक बन्न लागेका ओलीले चलचित्रमा काम गरेको पारिश्रमिक पनि लिनेछन् । यो चलचित्रको सुटिङ १० दिनसम्म काठमाडौंमा हुने जनाइएको छ । ओलीले कति पारिश्रमिक लिन्छन् भन्ने विषयमा भने निर्माण पक्षले बताउन चाहेन । 

टिप्पणीहरू