सांसद अभिषेक साहका चालक लागूपदार्थसहित पक्राउ, कपिलवस्तुमा एकै दिन ८१ जना फरार अपराधी च्याप्पै

सांसद अभिषेक साहका चालक लागूपदार्थसहित पक्राउ, कपिलवस्तुमा एकै दिन ८१ जना फरार अपराधी च्याप्पै

भारतीय प्रहरीले लागूऔषध मर्फिन बोकेर हिँडेको आरोपमा एक नेपाली युवालाई पक्रेको छ । भारतीय प्रहरीको संयुक्त टोलीले भैरहवाको सीमाना नजिकै ३५ ग्राम चरेससहित कपिलवस्तुका शशिकान्त कश्यपलाई पक्रेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कृष्णनगर नगरपालिकाका कश्यपलाई भारतीय सिद्धार्थनगर जिल्लाको बढनी चौकीले पक्रेर अदालतमा पेश गरेको छ । उनलाई लागूपदार्थ ओसारपसार गरेको आरोपमा आवश्यक कारबाहीको लागि कानुनी प्रक्रिया सुरु गरेको समेत बताएको छ ।

को हुन कश्यप ?

२०७७ फागुनमा स्थानीय युवा श्याम मिश्रालाई कुटपिट गरि ज्यान मार्न खोजेको भनेर कपिलवस्तु क्षेत्र नं. ३ का सांसद अभिषेक साह र उनका चालक शशिकान्त कश्यपलाई पक्राउ पुर्जी जारी गरिएको थियो । चालक कश्यप पक्राउ परे भने साह सोही क्रममा कोभिडको फाइदा उठाउदै भारतमै बसे । करिब एक महिनापछि सिधै अदालत हाजिर भएर दुबै ५ लाख रुपैयाँ धरौटीमा छुटे । उनीहरुको मुद्दा अझै चलिरहेको छ । शाहका दुई वटा चालकमध्ये शशिकान्तले साहको भारतीय नम्बरप्लेटको सफारी गाडी चलाउँछन् भने अर्का महेश पासवानले नेपाली नम्बर प्लेटको गाडी चलाउँदै आएका छन् ।

शाहका प्रिय चालक अहिले फेरी लागूऔषध सहित पक्राउ परेपछि जिल्लामा पुनः सांसद साह आलोचित तथा विवादित बनेका छन् । उनका चालक कश्यप मर्फिनसहित भारतमा पक्राउ परेका छन् । नेपालबाट भारततर्फ जाँदै गर्दा कृष्णनगर नगरपालिका १ बस्ने कश्यपलाई ३० ग्राम मार्फिनसहित शनिबार राती भारतीय प्रहरीले पक्राउ गरेका थिए । नेपालबाट भारत जादै गर्दा राती ११ बजे सीमा प्रहरी पोष्ट बढ्नीमा उनको खानतलासी गर्दा उनीबाट लागूपदार्थ भेटिएको बताइन्छ

अफिम प्रशोधन गरेपछि १२ प्रतिशत मार्फिन निस्कने र त्यसलाई पुनः प्रशोधन गरेपछि ब्राउन सुगर (खैरो हेरोइन) बनाइने गरेको प्रहरी स्रोतको भनाई छ । स्रोतका अनुसार कश्यपले मार्फिनलाई भारतको बाराबंकी पुरयाउने र त्यहाँबाट ब्राउनसुगर बनाएर पुनः नेपाल ल्याइ बेच्ने गरेको गिरोहमा संलग्न भएको बताइएको छ ।

नेपालको सशस्त्र प्रहरीको पोष्ट, इलाका प्रहरी र सीमा प्रहरी चौकी (लिंक गेट) बाट जाँदा जाँच नगरेकै कारण उनी भारतमा पक्राउ परेका हुन् । पक्राउ कश्यपलाई लागूऔषध कारोबार ऐनअनुसार मुद्दा चलाइने भारतीय प्रहरी उपनिरीक्षक विक्रम अजित रायले बताएका छन् । लागूऔषध अन्तर्गतको चरेस नेपालबाट जाने र ब्राउन सुगर भारतबाट नेपाल भित्रने मुख्य ट्रान्जिटको रुपमा कृष्णनगर नाका रहे पनि सुरक्षा संयत्रले खासै उपलब्धी हात पार्न भने सकेको छैन ।

यता कपिलवस्तु प्रहरीले विभिन्न अपराधमा संलग्न भई फरार रहेका ८१ जना फरार अपराधीहरुलाई आज एक दिनमै पक्राउ गरेको छ ।

कपिलवस्तु जिल्लामा विगतमा विभिन्न मितिमा लागूऔषध, लुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएका ८१ जनालाई पछिल्लो २४ घण्टामा प्रहरीले पक्रेको हो ।

कपिलवस्तु जिल्ला प्रहरी प्रमुखको रुपमा आएदेखि फ्युजिटिभ एरेस्ट प्रोग्राम (एफएपी) कार्यक्रमलाई प्राथमिकता दिई सूचना संकलन एवम् प्रहरी कार्यमा सक्रियता दिएसँगै एकैदिनमा ठूलो सफलता हासिल हुन सकेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभएको छ । कपिलवस्तुका प्रहरीलाई विभिन्न कार्यक्रममार्फत सक्रिय बनाएसँगै कपिलवस्तु प्रहरीले फरारहरुलाई पक्रन सफल भएको उहाँले बताउनुभयो ।

‘अपराध गरेर समाजलाई दुषित पार्दै विभिन्न आवरणमा त्यही समाजमा लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन ? बरु अपराध गर्नेहरू एक दिन अवश्य कानुनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिन उक्त कार्यक्रमलाई तीब्रता दिएका हौं’ एसपी कार्कीले भन्नुभयो ।

आज एकैदिनमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुसँगै जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालय क्रमशः कृष्णनगर, गणेशपुर, चन्द्रौटा, पिपरा, गोरुसिङगे, पकडीले सबैभन्दा धेरै फरार अपराधी पक्राउ गरेका छन् । यसरी पक्राउ गरिएका फरार प्रतिवादीहरुलाई फैसलाबमोजिमको सजाय भुक्तानको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको डीएसपी धर्मराज भण्डारीले जानकारी दिुनभयो ।

कसुर गर्ने तर दण्ड भुक्तान नगरी समाजमा लुकेर बस्ने सुबिधा कसैलाई नभएको बताइन्छ । कानुन सबैलाई लाग्छ तर कानुन छलेर बसौँला भनेर सोच्ने दिन गएको समेत पक्राउ टोलीमा खटिएका एक प्रहरी अधिकृतले बताएका छन् । यसरी खटिएर काम गरी सफलता हात पर्दा सज्जन नागरिकको मनोबल बढ्ने र अपराधीको मनोबल घट्ने प्रहरी निरीक्षक सुकदेव पौडेलले जानकारी दिनुभयो ।

विशेषगरी सवारी ज्यान, लागूऔषध, जालसाजी, जुवा, चेक अनादर, अंगभंग, वनपैदावार, लुटपिट, कुटपिट लगायत १२ वटा विभिन्न कसुरमा संलग्न भई अदालतको फैसला पश्चात् फरार रहेका ८१ जना अपराधीहरुलाई विशेष सूचनाको संयन्त्रबाट एकैदिनमा पक्रन सफल भएको प्रहरी निरीक्षक प्रेम रेग्मीले बताउनुभयो ।

आगामी दिनमा फरार अपराधीलाई पक्राउ गर्ने अभियानलाई थप तीब्रता दिइने समेत रेग्मीले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू