काठमाडौंमा निषेधाज्ञा थपियो, निषेध भनिएका कतिपय क्षेत्र निर्धक्कसँग सुचारु

काठमाडौंमा निषेधाज्ञा थपियो, निषेध भनिएका कतिपय क्षेत्र निर्धक्कसँग सुचारु

गत बैसाख १६ गतेदेखि जारी निषेधाज्ञालाई बीचमा खुकुलो बनाए पनि बिस्तारै कडाइका साथ लम्ब्याउन थालिएको छ । कोरोना महामारी कम हुँदै गर्दा खुकुलो बनाइएको निषेधाज्ञा पुनः कडाइका साथ अवलम्बन गर्न थालिएको बताइएको छ ।

संक्रमणदर र मृत्युदर अचानक बढ्न थालेपछि आज काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गर्नुभएको निषेधाज्ञामा उक्त विवरण उल्लेख छ ।

आज डीसीसीएमसीको बैठक बसेर अनुगमनलाई प्रभावकारी बनाउने, अनुगमनको क्रममा कमजोरी भेटिएमा कानुनी कारबाही गर्ने, पिसिआर तथा एन्टिजेन परीक्षणको दायरा बढाउँदै जिल्लाभर बिस्तार गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञामा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याउँदै पार्टीप्यालेस, होटल रेष्टुरेन्टलगायतका भीडभाड हुने स्थान सञ्चालन गर्न नपाइने, शिक्षणसंस्था, मनोरञ्जनका क्षेत्र अझै बन्द गर्ने, ढुवानीका सवारी साधन बिहान ९ देखि ११ तथा अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

त्यसैगरी राती ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने उल्लेख छ । व्यवसायको हकमा भने स्वास्थ्य सामाग्रीका पसल जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइने तर अन्य व्यवसायको हकमा साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने बताइएको छ ।

होटल तथा रेष्टुरेन्टलगायतका व्यवसाय टेक अवेको निम्ति मात्र सञ्चालन गर्ने बताइए पनि डेढ महिनादेखि सर्वसाधारणले होटेल रेष्टुरेन्टमा आनन्दले बसेर खानपिन गर्दै आए पनि प्रशासन भने मौन देखिएको हो ।

सवारी साधन प्रयोग गर्ने जोसुकैले पनि मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था यसअघि पनि गरिएको थियो । तर, कार्यान्वयन पक्ष फितलो हुँदै आएको छ ।

आज जारी गरिएको निषेधाज्ञा पर्सि बिहीबारदेखि भदौ ८ गतेसम्म लागू हुने बताइएको छ ।

टिप्पणीहरू