सुनसरीमा २ सय ३८ जना फरार अभियुक्त पक्राउ, अझै ४२ सय फरार

सुनसरीमा २ सय ३८ जना फरार अभियुक्त पक्राउ, अझै ४२ सय फरार

पछिल्लो एक महिनामा जिल्ला प्रहरी सुनसरीले २ सय ३८ जना फरार अभियुक्त पक्राउ गरेको छ । सुनसरी जिल्ला अदालतबाट कैद र जरिवाना सजाय पाएका फरार अभियुक्तमध्ये सुनसरी प्रहरीले साउन १ गतेदेखि २५ गतेसम्म २ सय ३८ जना पक्राउ गरेको हो ।

एसपी संञ्जय थापाका अनुसार अत्यधिक अभियुक्त फरार रहेको पाइएपछि १ साउनदेखि सुनसरी प्रहरीले फरार अभियुक्त्त पक्राउ गर्ने अभियानलाई तीब्रता दिएको बताइन्छ ।

सोही अभियानअनुसार खोजी गर्ने क्रममा प्रायः अभियुक्तहरु खुल्लमखुल्ला घरगाउँमा रहेको अवस्थामा फेला परेका हुन् । जघन्य अपराधमा सजाय पाएका अभियुक्तहरु भने छिमेकी जिल्लामा बस्दै आएका थिए ।

२५ दिनको अवधिमा पक्राउ परेका फरार अभियुक्तहरु दुई जना डाका मुद्दा र एक जना नाबालक हत्या कसुरमा जन्मकैद सजाय पाएका अभियुक्त हुन । अन्य अभियुक्तहरु कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागूऔषध, ज्यानमार्ने उद्योग, भ्रष्टाचारमा सजाय पाएकाहरु छन् ।

पक्राउ परेका मुख्य अभियुक्तमा १६ बैशाख २०६६ मा आफ्नी ५ वर्षिया नातिनी सोशिलाकुमारी खत्वेलाई घाँटी बटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडेर फरार भएपछि अदालतबाट जन्मकैद सजाय पाएका बसन्त खत्वे पनि छन् ।

यसैगरि डाका मुद्दामा ६ वर्ष कैद सजाय र ७२ हजार जरिवाना पाएका अब्दुल, इसराइल तथा अपहरण र शरीर बन्धक मुद्दामा ११ वर्ष कैद र १ लाख जरिवाना सजाय पाएका हनिफ समेत छन् ।

पक्राउ परेका २ सय ३८ जना अभियुक्तहरुबाट अदालतले ४९ वर्ष कैद सजाय फछ्र्यौट गरेको छ भने ९ लाख ३५ हजार ३ सय ५९ रुपैया जरिवाना असुल गरेको छ ।

भारतसँग सिमाना जोडिएको अपराध बढी हुने जिल्लाका रुपमा परिचित सुनसरीमा विभिन्न अपराधमा सजाय पाएका अझै ४२ सय जना अभियुक्त फरार रहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू