​आफ्नै मान्छे पराइ भएपछि… « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

​आफ्नै मान्छे पराइ भएपछि…

प्रकाशित मिति :  १८ चैत्र २०७३, शुक्रबार ११:३२


  • राजेन्द्र स्थापित

सुङ पिङवेन सन् १९२२ मा जर्मनीको बर्लिनस्थित गोटिङ्गन विश्वविद्यालयमा अध्ययनरत थिए । त्यहाँ जनवादी गणतन्त्र चीनको प्रधानमन्त्री बनेका चाओ एनलाई र चिनियाँ जनमुक्ति सेनाका ‘पिता’ चु तेह पनि पढ्दै थिए । सेप्टेम्बरको विद्यार्थी प्रदर्शनमा भाग लिएपछि तीनैजना निस्कासनमा परे । दुई महिनापछि चाओ र चुको आग्रहमा सुङ चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बने । सोभियत संघमा पढ्न गए । स्वदेश फर्केर पार्टी गतिविधिमा लागे । सन् १९२७ मा कम्युनिष्ट पार्टीसित सम्बन्ध बिग्रिएपछि कोमिन्ताङले कम्युनिष्टहरुमाथि ‘श्वेत आतंक’ मच्चायो । सोही क्रममा सुङ १२ वर्षको छोरा सुङ याङसहित पक्राउ परे । सुङ पिङवेनलाई लोङह्वामा मृत्युदण्ड दिइयो । पत्नी रेन रुइले दुई छोरा र दुई छोरी च्यापेर ज्यान बचाउँदै सिचुवाँ प्रान्त छाडिन् । भूमिगत तवरले पार्टी काममा लागिन् ।

सन् १९३५ मा जेठी छोरी सुन वेइसी १४ वर्षको भइन् । रुइले सांघाईमा सक्रिय वामपन्थी नाट्य समूहमा छोरीलाई लगाइन् । शत्रुको नजरबाट बच्न सुन सन् १९३९ सम्म लि लिनको नामले सक्रिय बनिन् । १६ वर्षको उमेरमा कम्युनिष्ट पार्टीको सदस्यता लिएकी उनी वुहान गइन् । कम्युनिष्टहरुको आधार इलाका बनेको येनान जान चाहन्थिन् तर त्यसबेलासम्ममा नेता चाओ एनलाइले छोरी बनाई पाल्न थालिसकेका कारण कम्युनिष्ट पार्टीले त्यता पठाउन चाहेन । तर चाओकै अग्रसरतामा सन् १९३८ मा येनान जान सफल भइन् । त्यहीं पहिलोपटक माओत्सेतुङ र चाओकी पत्नी देङ यिङचाओसित भेट भयो । लिन प्याओ पनि त्यहीं थिए । सँगै काम गर्दै जाने क्रममा लिनले सुनसित प्रेम गर्न थाले । सुन पनि लिनलाई मन पराउँथिन् तर आफूभन्दा १४ वर्ष जेठो भएकाले गहिरो प्रेम गरेकी थिइनन् । त्यहीं रहँदै एउटा ओपेरामा मुख्य भूमिका पाइन् जबकि चलचित्र, नाटक र ओपेराबाट नाउँ कमाइसकेकी चियाङ चिङले सानो भूमिकामा चित्त बुझाउनुप¥यो । सन् १९३३ मा पार्टी सदस्यता लिएकी चियाङ पनि सन् १९३७ मा येनान पुगेकी थिइन् र ड्रामा विभागमा ओपेरा सिकाउँथिन् । येनान पुगेलगत्तै चियाङ लु सुन कलेजका बरिष्ठ शिक्षक सु यिसिनलाई प्रेम गर्न थालिन् तर सु भने सुनलाई मन पराउँथे । एउटा कारण सुनको उमेर थियो अर्थात् उनी चियाङभन्दा सात वर्षले कान्छी । अत्यन्त सुन्दर पनि । ओपेरामा मुख्य भूमिका पाएको र सुलगायत अन्य पुरुषको मनपर्ने युवती बनेकै कारण चियाङले सुनलाई डाह गर्न थालिन् । चियाङले सन् १९३८ को नोभेम्बरमा येनानमै माओसित चौथो पत्नीको रुपमा बिहे गरिन् ।
 
सन् १९३९ मा चाओको हात भाँच्चियो । उपचारार्थ मस्कोतर्फ प्रस्थान गर्दा धर्मपुत्री सुनलाई पनि लगे । त्यहाँ रहँदा चाओको सहायिका बनी काम गरिन् र फुर्सदको समय रुसी भाषा सिक्न थालिन् । चाओ चीन फर्के पनि सुन त्यतै बसिन् । मस्कोस्थित ओरियन्टल विश्वविद्यालयमा नाट्य विषय पढ्न थालिन् । सन् १९४० मा लिन प्याओ उपचारार्थ मस्को पुगे । त्यसो त उनी सन् १९३७ मै घाइते भएका थिए तर पूर्ण स्वस्थ बनेका थिएनन् । सन् १९४२ सम्म मस्कोमै बसे । फर्कनुअघि सुनसित बिहेको प्रस्ताव राखे, विरक्त लागिसकेकी पत्नी झाङ मेइसित सम्बन्धबिच्छेद गर्ने आश्वासन दिए तर सुनले तत्कालै कुनै जवाफ दिइनन् । पढाइ सकेपछि विचार गर्नसक्ने बताइन् । लिनले सम्झे– सुन बिहे गर्न तयार छैनन् । त्यसैले स्वदेश फर्कनासाथ झाङसित सम्बन्ध बिच्छेद गरी २६ वर्षीया ये खुनसँग बिहे गरे । सुन पढाइ सकाएर सन् १९४६ मा स्वदेश फर्किइन् । सान्सी प्रान्तमा चलिरहेको भूमिसुधार अभियानमा सक्रिय बनिन् । लिनकी पत्नी येसितको सम्बन्ध घनिष्ठ बनाइन् । नाट्य समूहमा काम गरी सान्सी र हेपेइमा प्रदर्शन गरिन् ।

सन् १९४९ मा चीन नव जनवादी गणतन्त्र बनेलगत्तै अध्यक्ष माओले सोभियत संघको भ्रमण गरे । रुसी भाषामा दक्खल भएको कारण टोलीमा संलग्न दोभाषेहरुको नेतृत्व गरिन् । स्वदेश फर्केलगत्तै फेङ फेङमिङ, झाङ सिङफाङ, गुओ लान्यिङसँगै चीनका चार सुन्दरीको रुपमा लोकप्रियता कमाइन्, जसको कारण माओपत्नी चियाङले उनीमाथि आफ्नो पतिसँग मस्कोमा अन्तरंग सम्बन्ध राखेको आरोप लगाइन् । सन् १९५० को अप्रिलमा युथ आर्ट थिएटरका निर्देशक लियाओ छेङझीको आग्रहमा सुन सो थिएटरमा काम गर्न थालिन् । स्टेज शोलाई व्यावसायिक रुप प्रदान गरिन् । रुसी क्रान्तिकारी लेखक निकोलाइ ओस्त्रोभ्स्कीको उपन्यास ‘हाउ दि स्टिल वाज टेम्पर्ड’ मा आधारित नाटकको निर्देशन गरिन् । नाटकले ठूलो सफलता हासिल ग¥यो । सुनले सो नाटकमार्फत बोल्ने नाटकलाई आधुनिकता दिएको चर्चा सबैले गरे । नाटकको मुख्यपात्र पाभेलको भूमिकामा थिए– जिन सान । त्यसपछि सुनले रुसी लेखक निकोलाई गोगोलको नाटक ‘दि इन्स्पेक्टर जनरल’ निर्देशन गरिन् । बाल कला केन्द्र स्थापना गरी ‘सानो खरायो’ चलचित्र निर्माण गरिन् । एन्तोन चेखवको ‘अंकल भान्या’ बनाइन् । र, चाँडै नै चिनियाँ केन्द्रीय नाटक कलेजको मुख्य प्रशिक्षक बनिन् ।

‘हाउ दि स्टिल वाज टेम्पर्ड’ का मुख्य कलाकार जिन सान सन् १९३० कै दशकमा नाटक र चलचित्रबाट नाम कमाइसकेका अभिनेता थिए । सन् १९३७ मा प्रदर्शित चलचित्र ‘सङ अफ मिडनाइट’ ले उनलाई रातारात सुपरस्टार बनायो । जिन त्यो जमानाको सुप्रसिद्ध अभिनेत्री झाङ रुइफाङका लोग्ने थिए तर जब हाउ दि स्टिल वाज टेम्पर्डमा काम गरे, निर्देशक सुनसित नजिकिए । दुवै प्रणयसूत्रमा बाँधिएपछि कम्युनिष्टहरुबीच दुवै निकै आलोचित बने । आलोचनाबाट बच्न जिनले तत्कालै पत्नी झाङसित सम्बन्धबिच्छेद गरी सन् १९५० को अक्टोबर १४ मा सुनसँग बिहे गरे । स्मरणीय छ, ‘हाउ दि स्टिल वाज टेम्पर्ड’ मा जिन सानको नायिका तिनै झाङ थिइन् । सुनलाई जसरी नेता चाओ एनलाइले छोरी बनाएर पालेका थिए, त्यसरी नै जिनलाई पनि तु युइसेङले पालेका थिए । तुले सानैमा जिनलाई कम्युनिष्ट पार्टीमा लगाए । ३० को दशकमा कम्युनिष्ट पार्टीले साझेदारी गरेको आपराधिक समूह ‘ग्रिन ग्याङ’ को पनि सदस्य बनाए । त्यसबखत जिनले उक्त समूहको सबै गोप्य गतिविधिको सूचना चाओ एनलाइलाई दिन्थे । दोस्रो चीन–जापान युद्धको दौरान चीन जापानको अधीनमा गएपछि जापानविरोधी नाटकमा अभिनय गर्न थाले । 

सुनसित बिहे गरेलगत्तै जिनलाई कोरिया युद्धमा पठाइयो । त्यहाँ देशभक्तिपूर्ण नाटकमा काम गर्न थाले । कोरियाइ सर्वोच्च नेता किम इल सुङकी सहायिकासँग ‘अफेयर’ चलाए । रहस्य खुलेपछि ती सहायिका मारिइन् । कोरिया युद्धमा खटिएका चिनियाँ जनरल पेङ तेहुइको हस्तक्षेपपछि जिनलाई स्वदेश फर्काउन कोरिया सरकार तयार भयो । स्वदेश फर्केर उनी बन्दी बने । मृत्युदण्डको सजाय पाए तर प्रधानमन्त्री चाओ र सुनको दबाबमा बचे । पार्टी सदस्यता भने गुमाए । उता, सुनले भने एकपछि अर्को नाटक, ओपेरा निर्देशन गर्दै गइन् । नाटकमा नयाँ–नयाँ प्रयोग थालिन् । सन् १९५६ मा ‘सुख र दुःख’ बनाइन् । कम्युनिष्ट पार्टीका एकजना नेता र दुई युवतीबीचको त्रिकोणात्मक प्रेम कहानीमा आधारित । त्यसबेला त यो नाटकलाई सराहना गरियो तर साँस्कृतिक क्रान्तिकालमा ठूलो विरोध भयो । त्यसपछि सुनले ‘पिच फ्लावर फ्यान’, ‘पोट्रेट अफ वन हण्ड्रेड क्लन्स’, ‘दि हेटर्ड अफ ब्ल्याक स्लेभ्स’, ‘अंकल टम्स केबिन’ जस्ता दर्जनौं नाटक बनाइन् । तीमध्ये ‘पोर्टे«ट अफ वन हण्ड्रेड क्लन्स’ लाई दक्षिणपन्थीहरुको अभियानको रुपमा आलोचना गरियो । सुन र जिनले उत्तरपूर्वी क्षेत्रमा गएर तेल मजदुरहरुबीच पनि काम गरे । कृषिमा महिलाहरुले पु¥याएको योगदानलाई लिएर ‘दि राइजिङ सन’ बनाए । ताछिङ, बेइजिङ, सान्डोङका जनताले असाध्यै मन पराए । ताछिङका जनताले यस्ता अरु पनि नाटक निर्माण गर्न सुनलाई उत्प्रेरित गरे तर नयाँ नाटक निर्माणकै क्रममा साँस्कृतिक क्रान्ति शुरु भयो । 

सन् १९६६ मा साँस्कृतिक क्रान्ति शुरु भएपछि पार्टी र सरकारमा प्रधानमन्त्री चाओको भूमिका गौण हुँदै गयो । उनी शक्तिहीन बने । माओ पत्नी चियाङ चिङ बलियो । चियाङले सुनको हरेक गतिविधिमा बाधा डाल्न थालिन् । आलोचना गर्न शुरु गरिन् किनभने सुनको चार ठूला नेता माओ, चाओ, चु तेह र लिन प्याओसितको सुमधुर सम्बन्ध उनको निम्ति ‘अपच’ बनिसकेको थियो । चियाङले सुनलाई ‘सुन्दरी सर्प’, ‘फ्याउरी’ भनी गाली गर्थिन् । यसबीच सन् १९६७ मा सुनका दाजु सुङ याङ पक्राउ परे । चियाङ र छन पोताले उनीमाथि रुस, जापान र कोमिन्ताङका लागि जासुसी गरेको आरोप लगाए । रेड गार्डलाई सुम्पे, जहाँ सुङले ठूलो यातना पाए । अन्त्यमा विश्वविद्यालयको अण्डरग्राउण्ड तलामा लगेर उनको हत्या गरियो । जासुसीकै आरोपमा सुनका लोग्ने जिन पनि पक्राउ परे । उनको सम्पत्ति जफत गरियो र घरको तलासी लिने क्रममा सुनको डायरी प्रहरीले फेला पा¥यो । डायरीको कतिपय स्थानमा साँस्कृतिक क्रान्तिको विरोध गरिएको थियो । सोही आधारमा चियाङले प्रधानमन्त्री चाओसँग भनाभन गरिन् । आफूले नसकेपछि छोरीलाई क्रान्तिको विरोध गर्न लगाएको आरोप लगाइन् । शक्तिहीन बनिसकेका चाओ बोल्न सकेनन् । चाओ यसअघि पनि आफ्नै भाइ चाओ एनसोउको मामिलामा विवश बनिसकेका थिए । चियाङको दबाबमा चाओले भाइको गिरफ्तारी वारेन्ट पुर्जीमा हस्ताक्षर गरेका थिए ।

डायरी भेटिएपछि चियाङले चाओलाई प्रश्न गरिन्, ‘सुनलाई अब तपाईं के गर्नुहुन्छ ? हेरौं ।’ विवश चाओले चुपचाप गिरफ्तारी पुर्जीमा हस्ताक्षर गरे । यसपछि सन् १९६८, मार्च १ को राति सुन घरबाटै समातिइन् । पक्रन चियाङले लि प्याओप्रति बफादार हवाई सेनालाई आदेश दिएकी थिइन् । उनका सबै सामान र महŒवपूर्ण कागजात जलाउन लगाइन् । बिनामुद्दा र सुनवाई छिन्चेङ महिला जेलमा राखिन् । कोठा नं. १०० जहाँ पलङसमेत थिएन, त्यहाँ सुन चिसो भुइँमा सुत्थिन् । शौचालय पनि त्यहीं । कुकुरलाई ख्वाइने चामलको भात खान्थिन् । जेलकी एउटी गार्ड लु तिङ यीले पछि बताएअनुसार उनलाई पटक–पटक गार्डहरुलाई सुम्पन लगाइएको थियो, जहाँ सुन सामुहिक बलात्कारको शिकार बन्ने गर्थिन् । सात महिनासम्म अमानवीय यातना पाइन् । र, सन् १९६८ को अक्टोबर १५ मा जेलकै कोठामा उनको मृत शरीर फेला प¥यो । त्यसबेला पनि शरीरमा कुनै लुगा थिएन । हातखुट्टा सिक्रीले बाँधिएको थियो । हातको औंलामा पिन घोचिएको थियो । त्यतिबेला ४७ वर्षकी थिइन् । 

सुनको निधन भएको खबर सुनेपछि प्रधानमन्त्री चाओले पोष्टमार्टम गर्न आदेश दिए तर चियाङले हस्तक्षेप गरी लाश शीघ्र जलाउन लगाइन् । सुनका परिवार आउन नपाइकनै खरानी नदीमा बगाउन लगाइन् । सुनका पति जिन जेलमै थिए तर उनले सन् १९७५ मा मात्र पत्नीको मृत्यु भइसकेको खबर पाए । साँस्कृतिक क्रान्तिको अन्त्यतिर रिहा भए । चियाङ चिङहरु पक्राउ परेपछि ‘ग्याङ अफ फोर’ को भण्डाफोर गर्दै ‘दि राइजिङ सन’ पुनः देखाए । उनले पछि सुनकै बहिनी सुन सिन्सीसँग बिहे गरे । सन् १९८२ मा साँस्कृतिक क्रान्तिकालमा सताइएकाहरुको पुनस्र्थापना हुने सूचीमा सुन र जिन दुवै परे । जिनको मृत्यु सन् १९८५ मा भयो, त्यसबेला उनी केन्द्रीय सल्लाहकार सभाका सदस्य थिए ।


प्रतिक्रिया दिनुहोस !