सिंहदरबारभित्र औतारी संसार

एकातिर निर्वाचन आयोगले मन्त्री तथा सांसदलाई विदेश सयरमा बन्देज लगाएको छ । अर्काेतिर तिनको अमेरिकातिर लस्करमाथि लस्कर लागेकै छ । एकसिटे पार्टीका कुमार खड्काले काक्ताली परेर मन्त्री बनेलगत्तै एनजिओ–आइएनजिओलाई लगाम लगाउँछु भनी खोक्दै आएका थिए । तर, उनै एनजिओको प्रभावमा परी ३० गते एक डफ्फा बोकेर सचिव विष्णुप्रसाद लम्साललाई समेत बोकी अमेरिकातिर लागेका हुन् । 
नियमानुसार मन्त्री र सचिव एकैपटक विदेश जान मिल्दैन । एक हप्ता बसी मन्त्री अघिल्लो मंगलबार साँझ फर्किएका छन् भने सचिवचाहिँ ११ गतेसम्म उतै घुमेका छन् । 

यसरी महिलाको कार्यक्रममा भाग लिने नाममा अमेरिका जानेमा पुरुष सांसदसमेत छन् । सभामुख ओनसरी घर्तीलाई जानकारी नै नदिई अमेरिका पुग्ने सांसदमा अतहर कमाल मुसलमानसमेत हुन् । त्यस्तै मिलन राजवंशी, अनिता परियार, सरिता प्रसार्इं, रञ्जु झालगायत सांसदको डप्फा अमेरिका पुगेको छ । दूतावासको आयोजनामा ४० वर्षभन्दा कम उमेरका अर्काे सांसदको समूह अमेरिका उडेको छ । रुक्मिणी चौधरी नेतृत्वको यो समूहमा सुजाता परियारहरू छन् । 

गृहमा गड्बडी
भिआइपीहरूका लागि गृह मन्त्रालयबाट मासिक डेढ सय लिटर तेल प्रदान हुँदै आएकोमा अहिले घटेर सय लिटर भएको छ । गृह स्रोतका अनुसार कुनै महिना पाँच लिटर मात्र तेल कम दिएको खण्डमा समेत पूर्व सरकार प्रमुख खिलराज रेग्मीले आफ्ना मान्छे पठाएर नियम सम्झाउने गरेका छन् । उता, सांसद अमरेशकुमार सिंहले सुरक्षा थ्रेटका नाममा वर्षौंअगाडि लगेको सरकारी गाडी फिर्ता गरेका छैनन् । गृहका अधिकारीले ताकेता गरिरहेका छन् । अमरेशले एक असईसहित गाडी सुविधा लिइरहेका छन् । अर्काे तमाशा छ, बद्री न्यौपानेको । पूर्वमन्त्रीको हैसियतले गाडी र पिएसओ सुविधा लिइरहेका छन् । तर, खतरा भयो भन्दै लिएको प्रहरीलाई आफू चढ्ने गाडीको चालक बनाएर जोतिरहेका छन् । 

सचिवलाई फनफनी 
सचिव लोकदर्शन रेग्मी माइनस हुने गरी देउवाको प्रतिनिधित्व गर्दै परमानन्द भट्टले गृहमा समानान्तर सचिवालय चलाएका छन् । कर्मचारीको सरुवा–बढुवा, विदेश भ्रमणमा समेत भट्टको तजबिज चल्न थालेको छ । ४२ दिने बिदामा समेत सचिवले सही धस्काउने गरेका छन् । केही दिनअगाडि मात्र मुख्यसचिव सोमलाल सुवेदीसँग अमेरिका र क्यानडाबाट फर्किएका रेग्मीले सहसचिव कृष्ण राउतलाई ४२ दिने विदेश भ्रमण स्वीकृत दिएका हुन् ।

टिप्पणीहरू